सन्तोष यादव
लहान, १८ वैशाख । सिरहाको लहान नगरपालिकाका मेयर मुनी साहका लागि ६० लाख रुपैयाँ पर्ने गाडी खरिद गरिने भएको छ । लहान नगरपालिका–१६ स्थित पर्यटकीय स्थल स्वर्गे डाँडामा बसेको नगर कार्यपालिकाको बैठकले गाडी खरिद गर्ने निर्णय गरेको हो ।
वडा नम्बर ७ का अध्यक्ष राकेश गुप्ता 'रोशन का अनुसार गाडी खरिद गर्न ६० लाख बजेट छुट्याइएको छ । नगरपालिकाका कार्यकारी अधिकृत तीर्थराज भट्टराईले मेयरका लागि गाडी खरिद गर्ने निर्णय भए पनि बजेटको सीमा नतोकिएको दाबी गरे । भने, 'फुल अप्सनको स्कर्पियो खरिद गर्ने कुरा भएको छ । त्यो गाडी ५०–६० लाख रुपैयाँ पर्न सक्छ ।
साहले मेयरमा निर्वा्चित भएदेखि छोरा विशालका नाममा रहेको स्कर्पियो चढ्दै आएका छन् । छोराकै गाडी भाडामा चढेपछि संघीय फोरम र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै आएका थिए । एक जनप्रतिनिधिका अनुसार छोराको नाममा रहेको गाडी प्रतिदिन ४ हजार रुपैयाँ तिरेर मेयरले भाडामा लिएका हुन् ।
प्राविधिक चढ्नका लागि एउटा जिप पनि खरिद गर्ने निर्णय भएको छ । त्यसका लागि बजेट भने छुट्याइएको छैन् । यो गाडी करिब ३५ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । अहिले नगरपालिकासँग एउटा मात्र पिकअपछ, त्यही गाडीमा मेयर साह, उपमेयर सरियार चौधरी र कार्यकारी अधिकृत पालै पालो चढ्छन् ।
'गाडी एउटा मात्र भएर एकदमै समस्या भइरहेको छ , अधिकृत भट्टराईले भने, 'विकास निर्माणका कामसमेत प्रभावित बनेका छन् । विकास निर्माणका लागि स्काभेटर, लेबरल, ग्रेडरलगायत उपकरण खरिद गर्ने निर्णय पनि भएको उनले सुनाए । स्वर्गे डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्ने निर्णय पनि भएको छ । नगरसभाबाट विभिन्न शीर्षकमा बजेट विनियोजन भइसकेकाले यसका लागि थप बजेट नछुट्याएको उनले बताए । भने, 'स्वर्गे डाँडा पुग्दा साँच्चै स्वर्ग आएजस्तै अनुभव भयो । यसलाई पर्यटकीय स्थलका रूपमा विकास गर्दा पर्यटकको ओइरो लाग्छ ।
लहान बजारबाट स्वर्गे डाँडा करिब २१ किलोमिटर उत्तरमा पर्छ । यो क्षेत्रलाई सलहेस डाँडा पनि भनिन्छ । उदयपुरको सीमासँग जोडिएको रमणीय स्वर्गे डाँडालाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष गडुलबहादुर जर्घा मगरले जानकारी दिए । भने, 'ठूलो सम्भावना बोकेको यो क्षेत्र अहिलेसम्म ओझेलमा परेको छ तर बोर्ड बैठकमा सबैले विकास गर्ने प्रतिबद्धता जनाएपछि आशा पलाएको छ ।
घर सिरहामा, कर उदयपुरमा लहान नगरपालिका–१६ स्थित स्वर्गे डाँडा आसपासका बासिन्दा उदयपुरमा कर बुझाउन बाध्य छन् । '२०२८ सालको नापीका क्रममा सिरहाको भूमि उदयपुरमा उल्लेख गरियो , वडाध्यक्ष मगरले भने, 'त्यही भएर यहाँका जनताले उदयपुर पुगेर कर तिर्नुपर्छ । चुनावमा यहाँका जनताले सिरहा र उदयपुर दुवैतिर भोट गर्नेे गरेको उनको भनाइ छ ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 5/01/2018 09:48:00 PM
No comments:
Post a Comment