शम्भु यादव
सिरहा, १८ वैशाख । पूर्वाधार अभावका कारण गाउँपालिका र वडा कार्यालय अहिले पनि विद्यालय भवनबाटै सञ्चालन गरिएको छ । स्थानीय तहका कार्यालय विद्यालयमा राखिँदा विद्यार्थीको पढाइमा असर पुगेको छ ।
सिरहाको नवराजपुर गाउँपालिकाको कार्यालय जनता मावि सोनर्वासाको विज्ञान प्रयोशाला भवनमा राखिएको छ । यस्तै, लहान नगरपालिका वडा नम्बर १६ को कार्यालय पनि आधारभूत विद्यालयमा र वडा नम्बर १४ का वडा कार्यालय वस्तीपुर माविमा राखिएको छ ।
३९ लाख रुपैयाँ लगानीमा निर्माण भएको सोनर्वासा माविको भवन गाउँपालिकालाई दिएपछि विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याब सञ्चालन हुन सकेको छैन । गाउँपालिकाले भवन भाडाबापत ४० हजार विद्यालयलाई तिर्ने गरेको गाउँपालिका अध्यक्ष विश्वमोहन यादवले जानकारी दिए । लहान नगरपालिकाको वडा नम्बर १४ र १६ ले विद्यालयलाई भाडा तिर्दैनन् । 'गाउँपालिका कार्यालयलाई पुरानो भवन सञ्चालन गर्ने भनेका थियौं , विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद यादवले भने, 'तर, अध्यक्षले मानेनन । नयाँ भवन नै दिन हामी बाध्य भयौं ।
गाउँपालिका कार्यालय विद्यालय भवनबाट सञ्चालन भइरहेको बारे शिक्षा अधिकारी, सिडियो कार्यालयलाई पनि जानकारी गराएको यादवले बताए । 'स्थानीय सरकारको मातहतमा विद्यालय छन, उनले भने, 'त्यसैले हामीले गाउँपालिकालाई केही गर्न सक्दैनौं । भाडाका विषयमा लिखित सम्झौता पनि भएको छैन । अहिलेसम्म भाडा पनि पाएका छैनौं । विद्यालयको पर्खाल निर्माणका लागि २० लाख बजेट गाउँपालिकाले उपलब्ध गराएको छ । गाउँपालिकाका कार्यालय विद्यालयमा राखे पनि पढाइमा असर नभएको अध्यक्ष यादवले जिकिर गरे । 'विद्यालयमै गाउँपालिका अध्यक्ष बस्न थालेपछि शिक्षकहरू समयमा एवं नियमित आउन थालेका छन उनले भने, 'गाउँपालिका कार्यालय क्षेत्रमा बाँसको बेरा लगाएको छु । आउने जाने बाटो फरक बनाइएकाले विद्यार्थीको पढाई प्रभावित भएको छैन ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 5/01/2018 09:45:00 PM
No comments:
Post a Comment