कमलेश यादब
सिरहा, ८ वैशाख । चोहर्वा सिरहा माडर अन्तर्गत सिरहा नगर पालिका–११ भलुवाहीमा निर्माण कार्य नसक्दै नाला भत्केको छ । डिभिजन सडक कार्यालय लहान र निर्माण व्यवसायको लापरवाही का कारण निर्माण नसक्दै नाला भत्केको हो ।
मापदण्ड विपरित कमसल निर्माण सामग्रीको प्रयोग गर्दै गुणस्तरहिन काम गरेपनि निर्माण गरेको महिना दिन नबित्दै नाला भत्केको छ । पलास्टरमा कमलाको बालुवा प्रयोग गर्न खोज्दा स्थानीयहरुले रोकेको नथुनी कामतिले बताए ।
मापदण्ड विपरित प्रयोग गर्न लागेको बालुवा रोकेको भएपनि प्राविधिकसँग सम्बन्धित यस्ता कैऔं कुरा छन् जो भगवान भरोसे भइरहेको उनले बताए । 'बेला वखतमा राम्रोसँग प्राविधिक जाँच भइरहेको छैन्, उनले भने,'जाँच गरिएपनि औपचारिकताको लागि मात्र जाँच गर्छ । प्रभावकारिता खासै छैन् । भएको भए नाला भत्किने थिएन् ।
नाला बनाउन निर्माण व्यावसायले दुई नम्बर इटा ल्याउदा हामीहरुले रोकेको वडाध्यक्ष विनोद कामतिले बताए । 'प्राविधिक कुराहरु त हामीलाई थाहा हुँदैन्, उनले भने,'निर्माण दिगो हुनु नै हाम्रो लागि बलियो निर्माण भएको सबैभन्दा ठुलो प्रमाण हो ।
नाला निर्माण कार्यमा कुनै प्रकारको कमी नभएको डिभिजन सडक कार्यालय लहानका ईन्जिनियर नितिश झाले बताए । 'जे काम भइरहेको छ त्यो राम्रो हो,' उनले भने,'हामी यो वा त्योको कुरामा लाग्दैनौं । हामी नापी गर्ने बेलामा फाइनल हेर्छौ । १÷४ मा पलास्तर गर्ने प्रावधान रहेको उनले थपे तर काम गर्ने मजदुरले १÷५ मा पलास्टर गरिरहेको बताए ।
नाला निर्माण गर्न लाग्ने खर्चको विवरण अहिले यकिन गर्न नसकिने उनले भने,'त्यो निकाल्नुपर्छ । निर्माण सम्पन्न भएपछि मात्र लाग्ने खर्चको यकिन विवरण आउछ । नाला निर्माणमा अन्दाजी ४० लाख खर्च लाग्ने उनले सुनाए । पलास्टरमा कमलाकै बालुवा उपयुक्त भएको हुँदा हामीले प्रयोग गर्न भनेको उनले थपे ।
चोहर्वा सिरहा माडर सडकमा विटुमिन प्रिमिक्स कापेटि· कार्य गर्न मुअकर सहित ४ करोड ९३ लाख ६१ हजार ७ सय ६४ रुपैया ६६ पैसामा जनकपुर–४ धनुषाका रोशन कन्ट्रक्सन ठेक्का लिएको छ । ०७५ पुससम्ममा कार्य सम्पन्न गर्नुपर्ने हो । माडरमा नाला निर्माणको क्रममा पुरानो इटा प्रयोग गर्दा स्थानीयले विरोध जनाएपछि सोही ठेक्काबाट ठाउँ परिवर्तन गरेर भलुवाहीमा नाला निर्माण थालेका छन् ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 4/23/2018 03:58:00 AM
No comments:
Post a Comment