कमलेश यादब
सिरहा, ७ वैशाख । लहान नगरपालिका–१ की सोमनी रामको पाँच वर्षीय छोरा आनन्दलाई पेटको समस्या उत्पन्न भएपछि लहानस्थित जिनिस पोलिक्लिनिकमा उपचारका लागि राखियो । केही दिन पोलिक्लिनिक भर्ना गरेर घर फर्किएको केही दिनपछि फेरि सोही समस्या बल्झियो । छिमेकीको सल्लाहले सोमनीले आनन्दलाई अर्को पोलिक्लिनिक मा उपचार गरायो ।
एकपछि अर्को पोलिक्लिनिक मा उपचार गर्दागर्दै विपन्न तथा दलित परिवारकी सोमनीको एक महिनाको समयावधिमै २० हजार रुपियाँ सकियो तर उनको छोराको रोग पत्ता लाग्न सकेन । आफू सदस्य रहेको राधाकृष्ण महिला बचत तथा ऋण सहकारी सँस्थासँग सोमनीले १० हजार रुपियाँ ऋण सापटी लिएर माइतीघर दरभंगातिर आनन्दलाई लिएर गयो । माइतीकै सहयोगमा त्यहाँ राम्रो अस्पतालमा उपचार गरेपछि अहिले आनन्दको स्वास्थ्य मा बल्ल सुधार आएको छ ।
एक वर्ष अगाडि २०७३ कात्तिक कार्तिक २९ गत्ते सिरहाको सीमावर्ती गाउँ इटाटारकी गर्भवती रामवतीले आफ्नो पति लालबाबुलाई आफूलाई रक्तश्राव हुन थालेको जानकारी गराएपछि रामवतीलाई तत्कालै एम्बुलेन्स मार्फत लहानस्थित लिलामदन पोलिक्लिनिकमा ल्याइयो । त्यहाँ तीन दिन भर्ना गरेर उपचार गरेपछि उपचार खर्चवापत पोलिक्लिनिक लाई १३ हजार बुझाई रामवत्ती लाई घर पठाइएको थियो । त्यो बेला उक्त पोलिक्लिनिकले गर्भ को बच्चा सकुशल भनेको थियो ।
तर ठीक एक हप्तापछि मङ्सिर ६ गते साँझ ७ बजेबाट रामवतीलाई पुनः उही समस्या दोहोरियो । सोही राती ९ बजे एम्बुलेन्स चढेर रामवती सोही पोलिक्लिनिकमा पुग्यो । केही बेरमै चिकित्सकले बच्चा गर्भमै मरिसकेको जानकारी दिदैं शल्यक्रिया गर्नुपर्ने बताए । शल्यक्रिया गरेर गर्भमा मृत्यु भएको बच्चा निकाल्नुपर्छ भनेपछि आफूले मन्जुरी दिएको उल्लेख गर्दै लालबाबु भन्छ, यसको सम्पूर्ण खर्च ४० हजार लाग्छ भनेको थियो तर शल्यक्रिया गरेपछि सोमवार पोलिक्लिनिकले ५० हजारको बिल थमायो ।
'मैले बच्चा पनि खेर गयो हजुर, गरिब छु ४० हजार लिएर मानिहाल्नुस भन्दा पनि मानेनन्, उनले भने–उपचार गराइसकेपछि मागेजति रकम नबुझाउँदा बिरामी घर लग्न मिल्दैन भनेर अड्डी कसेपछि पुनः १० हजार ऋण खोजेर ५० हजार बुझाएँ र पत्नीलाई घरमा लिएर आए तर पत्नीलाई त शल्यक्रिया नै नगरेको कुरा पछि मात्र थाहा भयो । यसबारे दुनियाँलाई भने पनि उक्त पोलिक्लिनिकलाई कसैले कारबाही नगरेको लालबाबुले गुनासो गरे ।
पोलिक्लिनिकबाट हुने ठगीको पीडा लहानका सोमनी राम र इटाटारका रामवतीले मात्र होइन, अन्य धेरैले भोग्नुपरेको उदाहरण यहाँ बग्रेल्ती भेटिन्छन् । सामान्य स्वास्थ्य उपचारको स्वीकृति लिएका पोलिक्लिनिकहरुले विरामी भर्ना र शल्यक्रिया गरेर विरामीहरुबाट हजारौं रुपियाँ ठगी गर्ने धन्दा फस्टाए पनि कारबाही गर्ने निकाय गुपचुप रहँदा सिरहाको प्रत्येक बजारहरुमा गुणस्तरहीन पोलिक्लिनिक बढेको बढ्यै छ ।
दुई वर्ष अगाडिसम्म जिल्ला स्वास्थ्य कार्यालयबाट अनुमति नै नलिई 'अस्पताल को नाममा यस्ता स्वास्थ्य केन्द्रको गोरखधन्दाको बिगबिगी थियो तर गोरखापत्रसहित अन्य छापा माध्यमबाट उक्त कुराको पर्दाफास भएपछि त्यस्ता धेरै अस्पताल बन्द गरिएको थियो । पछि उहि 'अस्पतालका सञ्चालकहरुले आफ्नो स्वास्थ्य केन्द्रलाई पोलिक्लिनिकमा रुपान्तरण गरेपछि स्वास्थ्यमा हुने ठगीले बैधानिकता प्राप्त गरेको छ । अहिले मापदण्ड मिले पनि नमिले पनि जिल्ला स्वास्थ्य कार्यालयकै स्वीकृति लिएर जिल्लाभरी ४७ वटा पोलिक्लिनिक सञ्चालित छन् ।
स्वास्थ्यमा विकृति यहाँ यतिसम्म बढेको छ कि लहान स्थित सरकारी स्वामित्व रहेको राउस्मारक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिल कुमार कुशवाहाले आफ्नै लगानीमा श्रेया पोलिक्लिनिक सञ्चालन गरेको छ । बहिरंग सेवा, स्त्रीरोग सेवा, फार्मेसी सेवा, प्रयोगशाला र परिवार नियोजन सेवाको स्वीकृति लिएको उक्त पोलिक्लिनिकको आंशिक सेवा नलिएका बालरोगसम्बन्धि विरामीलाई अस्पतालको कार्यकक्षमा बालरोगमा एमडी गरेका डा. कुशवाहाले हेर्न नै अफ्ठ्यारो मान्ने गरेको चर्चा लहानमा निकै छ ।
पोलिक्लिनिकमा ठगी प्रवृति मौलाइरहदा पनि जिल्ला स्वास्थ्य कार्यालय सिरहा भने मौन देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन समेत रहेका प्रशासकीय अधिकृत उमेशलाल कर्णले लहानमा रहेको पोलिक्लिनिकको अनुगमन गर्न आफूहरुले नभ्याएको बताउछ । 'पोलिक्लिनिकहरुको बारेमा गुनासाहरु आइरहेका छन्, प्रशासकीय अधिकृत कर्णले भने–त्यस्ता गलत काम गर्ने कतिपय पोलिक्लिनिकहरुलाई हामीले सचेत गराइसकेका छौ ।
स्वास्थ्य क्षेत्रसँग सरोकार राख्नेहरुले जिल्ला स्वास्थ्य कार्यालय नै त्यस्ता पोलिक्लिनिक सँग मिलेको बताउँछन् । तीन हप्ताअगाडि नै जिल्ला स्वास्थ्य कार्यालयले पोलिक्लिनिकको अनुगमन गरेको थियो तर धनगढीबाट लहान आउने बेला प्रशासकीय अधिकृत कर्णले नै लहानका पोलिक्लिनिकहरुलाई अनुगमन गर्न भ्याइदैन भनेर फर्कायो, जिल्ला स्वास्थ्य कार्यालय सिरहाका एक स्वास्थ्य कर्मचारीले भने, लहानमा अनुगमन गर्नुप¥यो भने कर्णजीले कुनै न कुनै बहाना बनाइहाल्छ ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 4/23/2018 03:53:00 AM
No comments:
Post a Comment