उपेन्द्र लामिछाने
काठमाडौं, ३० फागुन । दुर्घटना नभइदिएको भए रासनारायण राय यति बेला कान्छो छोरा अवधेषका साथ श्रीमतीलाई लिएर सर्लाहीको कविलासीस्थित आफ्नो घरमा पुगिसकेका हुन्थे । जहाँ चार महिनाकी छोरी सोनावतीलाई काखमा लिएर पुनमदेवी सासू–ससुरासँगै आउन लागेका श्रीमान्को स्वागतमा प्रतीक्षामा थिइन् । तर त्यसो हुन सकेन । वैदेशिक रोजगारीको सिलसिला मा कतार पुगेका २३ वर्षीय अवधेषकुमारको राजधानीमा सोमबार भएको विमान दुर्घटनमा जिवन गुमेपछि यो परिवारको खुसी को यात्रा यहीं रोकिएको छ ।
कविलासी नगरपालिका–३ वीरनगरमा तीन वर्षअघिमात्र वैवाहिक जीवन सुरु गरेकी पुनम छोरी काखमा लिएर रुँदैछिन् । सोनावती अवधेष विदेश हिँडेको १० दिनपछि जन्मेकी हुन् । यता महाराजगन्जस्थित टिचिङ अस्पतालको प्रांगणमा श्रीमान्को काखमा टाउको राखेर ५७ वर्षीया सुमित्रादेवी छोरालाई एकपटक देखाइदेऊ भन्दै डाँको छाडेर रुँदैछिन् । 'हमर बाबुको दिखा दो रुमेरो छोरालाई देखाइदेऊ, दुर्घटनामा छोरा परेको खबर सुनेलगत्तै सुमित्रादेवीको मुखबाट बारम्बार यिनै शब्द निस्किरहेका छन् । उनका श्रीमान् रासनारायण राय टाउकोमा हात राखेर 'पख–पख भन्दैछन् ।
उनीहरुको पर्खाइको सीमा नाघिसकेको छ । छोराले आइतबार कतारबाट टेलिफोन गरेर सोमबार राजधानी आउन भनेपछि यो दम्पती सर्लाहीबाट रात्री बस चढेर छोरालाई लिन राजधानी आएका हुन् । 'छोरा आउने खुसीमा बिहान ५ बजेदेखि नै हामी विमान स्थलवरपर नै थियौं, रासनारायण ले भने, 'दिउँसो अढाइ बजे हामीले नराम्रो खबर सुन्यौं । छोरा दुर्घटनामा परेको खबर सुनेपछि आत्तिएर अस्पताल पुगेका रासनारायण ले छोराको मृत्यु भएको थाहा पाएपछि कुनामा गएर डाँको छाडेर रोएको सुनाए ।
'जहान (श्रीमती) लाई बताउन सकिनँ, उनले भने, 'मंगलबार बिहानबाट उसले पनि थाहा पाएजस्तो लागेको छ । छोरालाई लिएर घर फर्कने सोच बनाएका उनीहरु यति बेला छोराको शव लिएर गाउँ फर्कने सोचमा छन् । 'अब अर्को उपाय छैन, रासनारायण ले भने, 'उसको शव लिएर गई गाउँमा अन्तिम संस्कार गर्छु ।
रासनारायण को दुःखको कथा १२ वर्षअगाडि नै सुरु भएको हो । उनका दुई छोरामध्ये जेठा मदनको १२ वर्षअगाडि १२ वर्षकै उमेरमा मृत्यु भएको थियो । दुई छोरी पनि विवाह गरेर गएपछि उनको सहारा अवधेषमात्र थिए । 'उसले केही समय कमाएर आउँछु, अनि घर बनाउँला भनेको थियो, रासनारायण ले भने, 'अब सबै सपना जहाँजसँगै जलेर गएको छ । अवधेष एक लाख ५० हजार रिन लिएर खाडी मुलुक गएका थिए ।
घरमा रहेकी बुहारीले रुँदै टेलिफोन गरिरहेको उनले बताए । 'मैले सुरुमा त उनलाई पनि छोरालाई लिएर आउँदै छु भनेको थिएँ, उनले भने, 'बुहारीले डाँको छाडेर रोएको सुन्दा उनलाई पनि थाहा भयो जस्तो छ । रासनारायण को मात्र हैन, यस्तै सपना जलेका परिवारका आफन्तको पीडा पोखियो मंगलबार महाराजगन्ज स्थित शिक्षण अस्पताल परिसरमा । यहाँ आउने कसैले दाइ गुमाएका थिए, कसैले दिदी । कोही भाइको शव चिन्न आएका थिए त कोही काकाको अनुहार नियाल्न ।
'मेरो काका रुहरिशंकर पौडेलले पनि जीवन गुमायो, अस्पतालमा भेटिएकी अनुषा पौडेलले भनिन, 'पूरै परिवार शोकमा डुबेको छ । तनहँुबाट आएकी हरिशंकरकी बहिनी पार्वता अधिकारीलाई थाम्दै गरेकी उनी यस्तो पीडा कसैलाई नपरोस् भन्दै थिइन् ।
रौतहटबाट आएका सन्तोष सहनीले बारा बर्वा घर भएका ज्वाइँ कृष्णकुमार सहनीको मृत्यु भएको सुनाए । वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका कृष्ण पनि अवधेषसँगै बंगलादेश हुँदै घर फर्कंदै थिए । 'उता गाउँमा रुवावासी छ, परिवारका केही सदस्य राजधानी आएका छन, उनले भने, 'सबैलाई समाल्न मुस्किल परेको छ ।
राजधानीमा यति बेला विमान दुर्घटनामा मारिएका ४९ यात्रुका आफन्त जम्मा हुँदैछन् । कोही आउँदै छन् । कोही यहाँ आएर आफन्तको शव नियाल्ने प्रतीक्षामा छन् । बंगलादेशबाट आएका मोइन उद्धिनले आफ्ना बहिनीज्वाइँको दुर्घटनामा परेको बताए । 'हामीले शव हेर्न पाएका छैनौं, उनले भने, 'अझै केही दिन लाग्ने जानकारी प्रहरीले दिएको छ ।
नेपाल प्रहरीले अस्पतालमै डेक्स राखेर आफन्तबाट जाहेरी लिने काम गरिरहेको छ । 'हामीले पीडितको सहयोगका लागि यहीं डेक्स सञ्चालनमा ल्याएका छौं, प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले भने, 'पोस्टमार्टम सकिएपछि आफन्तलाई देखाउनेछौं । केही शव सग्लो अवस्थामा भए पनि जलेका कारण पोस्टमार्टम गर्न केही ढिलो हुन सक्ने उनको भनाइ छ । 'सकभर चाँडो गर्ने कोसिसमा छौं, उनले भने, 'सबै प्रमाण जुटाउनुपर्ने भएका ले केही ढिलो हुन गएको हो ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 3/16/2018 04:24:00 AM
No comments:
Post a Comment