मिथिलेश यादव
मिर्चैया, १ चैत्र । मिर्चैया–८ फुलबरिया चौरीमा घाँस काट्दैगर्दा रामबिलास साहको बायाँ हात काटियो । अर्को हातले थिचेर उनी नजिककै फुलबरिया स्वास्थ्य चौकी पुगे । घाउ गहिरो छ टाका लगाउनुपर्छ भन्दै स्वास्थ्यकर्मीले उनलाई प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैया जान भन्यो । मंगलबार दिउँसो सवा तीन बजे उनी पुग्दा मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्र बन्द थियो ।
अस्पतालको आकस्मिक कक्षदेखि ओपीडी कक्ष सबै बन्द थियो रामबिलासले नागरिकसँग भने,'एकजना पनि स्वास्थ्यकर्मी थिएनन् । अस्पतालको गेटैमा तीनवटा औषधी पसल छ । एउटा औषधी पसलमा अनमी रञ्जु यादव बसिरहेकी थिइन । रामबिलास रञ्जुसँग अस्पताल किन बन्द छ जिज्ञासा राख्दा उनले जवाफ फर्काइन,'तीन बजेपछि अस्पताल कहाँ खुल्ला रहन्छ र ।
यो अस्पतालमा पुग्दा रामबिलास स्वास्थ्यकर्मीको पर्खाइमा ब्याकुल थिए । 'सानो अस्पतालमा उपचार गराउन जाँदा उसल ठूलोमा जान भन्छ उनले गुनासो पोखे, 'ठूलो अस्पताल पुग्दा बन्द भैसक्यो भन्छन, अब कहाँ उपचार गराउनु । गाउँमै सानो ठूलो गरी दुईवटा सरकारी अस्पताल छ तर, उपचार हुँदैन उनले भने, 'यहाँ प्रायः डाक्टर भेटिदैन डाक्टर भेटिहाले औषधी भेटिदैन । स्वास्थ्यकर्मी नहुँदा रामबिलास मिर्चैया बजारको निजी पोलिक्लिनिकमा उपचार गराएर घर फर्के । उनले भने,'सरकारी अस्पतालमा निगरानी नहुँदा बेथिति बढ्दो छ । जनप्रतिनिधि आएपछि बेथिति सुधार हुन्छ सोचेको थिए उनले भने,'झनै बढेर गएको छ । पहिला त अलि औषधीहरू प्नि दिन्थ्यो तर, जनप्रतिनिधि आएदेखि त्यो पनि बन्द भएको रामबिलासको अनुभूति छ ।
अस्पतालकै अगाडि तीनवटा औषधी पसल छ । यी औषधी पसल यसै अस्पतालमा कार्यरत्त स्वास्थ्यकर्मीहरूले सञ्चालन गरेको स्थानीयले बताए ।
यो प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीका मेडिकल अधिकृत छैनन् । करारमा आएका दुईजना मेडिकल अधिकृत जितेन्द्र गुप्ता र मोहम्मद लाल राइन पनि छैनन् । गुप्ता अध्यनका लागि बाहिर गइसके भने राइन तालिममा छन् । हेल्थ असिस्टेन्टको दरबन्दी खाली छ । सिनियर अहेव दशरथ दाश र विजय महतो मध्ये महतो मिर्चैया नगरपालिकामा खटिएका छन् ।
समितिबाट अनमी रञ्जु यादव, सिनियर अनमिहरू बिना राई, संगीता लामा , शान्ति धिमाल, स्टाफ नर्स टिंकु यादव सिएमए चन्द्र मण्डल सिएमए जयप्रकाश साह कार्यरत्त छन् ।
बरियारपट्टी–३ की घुरनीदेवी ठाकुर नाति आदित्यको उपचार गराउन गाउँकै स्वास्थ्य चौकी बरियारपट्टी पुग्दा रितो हात फर्किएको गुनासो सुनाइन । रुघाखोकीसँगै ज्वरोका बिरामी नातिको उपचार गराउन जाँदा स्वास्थ्यकर्मीले पुर्जामा दबाई लेखेर उनलाई थमाइदियो । रुघाखोकी र ज्वरोको दबाई पनि बाहिरकै औषधी पसलबाट किन्नुपर्ने भए किन चाहियो सरकारी अस्पताल ? उनले प्रश्न गरिन । स्वास्थ्यकर्मीले माथीबाटै दबाई नआएपछि कहाँबाट दिनुभन्दै घुरनीदेवीलाई औषधी पसल जान सुझाए । घुरनीका अनुसार तिन महिना अगाडि नातीलाई उपचार गराउन आउँदा पनि किराको दबाई दिएर बाँकी औषधी पसलमा किन्न लगाएको थियो । रुघाखोकी र ज्वरोले थलिएका १३ महिने छोरा अमर पासवानलाई काँखमा बोकेर भगवानपुर–२ की जानकीदेवी गाउँकै प्राथमिक स्वास्थ्य केन्द्र पुगिन । सरकारी अस्पतालमा भरपर्दो उपचारको आश पालेर छोराको उपचार गराउन गएकी जानकी निरास भएर फर्किन ।
छोरालाई रुघाखोजीसँगै ज्वरो आउने गरेको बताएपछि डाक्टरले पुर्जामा औषधी लेखिदिए जानकीले भनिन,' पुर्जा बोकेर काउन्टरमा पुग्दा औषधी बाहिर किन्नुपर्ने सुनाए । यो पुर्जामा लेखिएको औषधी यहाँ छैन, बाहिरको औषधी पसलबाट किनेर खुवाउनु भन्दै पुर्जा फर्काइदिएको उनले भनिन् । 'सरकारी अस्पतालमा राम्रो उपचार हुन्छ सोंचेर आएको थिएँ उनले भनिन, 'यहाँ आउँदा उल्टो पाएँ । घरमात्रै ठूलो रहेछ, उपचार भरपर्दो छैन, उनले गुनासो गरिन् ।
हामी गरिब सस्तोमा भरपर्दो उपचार खोज्दै सरकारी अस्पताल पुग्छौं जानकी भन्छिन, 'सरकारीमा निःशूल्क उपचार भनाई मात्रै रहेछ । औषधी मात्र नभई रगत्त, एक्सरेजस्ता परीक्षण गराउन पनि बाहिर पैसा खर्चिनुपर्छ, उनले भनिन् । खर्च भए त निजी अस्पतालमा गइहाल्थे नी उनले भनिन् । 'सरकारी अस्पताल त खर्चाके भारी बोकाबै छै (सरकारी अस्पताल पनि खर्चकै भारी बोकाउँछ) उनले भनिन, 'गरिबका लागि सरकारी अस्पतालपनि भरपर्दो होइन रहेछ ।
साधन छ जनशतिm छैन प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुरमा एक्सरे मेसिन छ । तर, एक्सरे चलाउने जनशतिm छैन् । स्वास्थ्यकर्मीको नाममा सिनियर अहेव हरिशचन्द्र साह मात्र । करारमा आएका एमबिबिएस डा.दिपेन्द्र यादव कहिलेकाँही मात्र आउँछन् । प्रायः साह एक्लैले बिरामीको उपचार गर्नुपर्छ ।
अरु स्वास्थ्य केन्द्र जस्तै यहाँ पनि औषधीको अभाव छ । अतिआवश्यक औषधीको पनि अभाव छ साहले भने,' गाउँपालिकाले औषधी खरिद गरेर दिनुपर्ने प्रावधान छ । अहिलेसम्म हामीसँग गाउँपालिकाबाट औषधी खरिद भइ आएको छैन, उनले भने ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 3/16/2018 04:21:00 AM
No comments:
Post a Comment