/ Undifined / [JANLOKPRIYA] हुलाकी सडक शिलान्यास , कुनै पनि बहानामा काम रोकिँदैन : पूर्वप्रधानमन्त्री प्रचण्ड

[JANLOKPRIYA] हुलाकी सडक शिलान्यास , कुनै पनि बहानामा काम रोकिँदैन : पूर्वप्रधानमन्त्री प्रचण्ड


सिरहा। ७ चैत ।  पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले आगामी १० वर्षभित्र मुलुकको आर्थिक मानचित्र बदलिने गरी काम गर्ने बताएका छन् ।

हुलाकी सडकअन्तर्गत सिरहा खण्डको जिरो प्वाइन्ट मानिने बरियारपट्टीमा मंगलबार शिलान्यास गर्दै उनले दुई तिहाई बहुमतसहितको सरकारले आर्थिक क्रान्तिमार्फत सिंगो मुलुकको समृद्धि र विकासले आर्थिक मानचित्र बदल्ने दाबी गरे ।

'संविधान कार्यान्वयनअन्तर्गत स्थानीय, प्रादेशिक र संघीय सरकार बनिसकेको सन्दर्भमा अब राजनीतिक नभई आर्थिक क्रान्तिका लागि काम गरिनेछ,' उनले भने, 'पूर्व–पश्चिम हुलाकी सडकलाई ४ लेनको बनाई मध्यपहाडी लोकमार्गसँग जोडेर मधेसको कायापलट गरिनेछ ।'

आफू दोस्रोपटक प्रधानमन्त्री बनेका बेला भएको भारत भ्रमणका क्रममा समकक्षीसँग वार्ता गरी अलपत्र परेको हुलाकी सडकको काम पुनस् सुचारु गरेको उनको भनाइ छ । 'पछिल्लो निर्वाचनमा जनताले वाम गठबन्धनलाई बलियो बनाएका छन्, अब विकास र समृद्धि कुनै पनि बहानामा रोकिँदैन,' दाहालले भने ।

सिँचाइ, पूर्वाधारको विकास गरी समृद्ध मधेस बनाउन सुनकोसी–कमला डाइभर्सनको सर्वेको काम भइरहेको र वर्तमान सरकारले नै त्यसको कार्यान्वयन गर्ने बताए । 'अब राजनीतिक लडाइँ पुग्यो,' उनले भने, 'राजनीतिक झगडा, राजनीतिक क्रान्ति होइन आर्थिक क्रान्ति गरौं ।' विकासमा मधेस पछाडि पर्नुमा राजनीतिक झगडा कारक रहेकै कारण कतिपय विकासका बजेट फ्रिज हुने गरेको उनले बताए । विकास निर्माणमा मधेसी जनतालाई राजनीतिक झगडा त्यागेर अघि बढ्न आग्रह पनि गरे ।

समयमै हुलाकी मार्ग निर्माण हुने प्रतिबद्धता जनाउँदै दाहालले भने, 'ठेक्कापट्टामा हुने ढिलासुस्ती, भ्रष्टाचार कमिसनखोर अब चल्ने छैन, वाम गठबन्धनलाई जनताले बलियो हात बनाएर सिंहदरबार पठाएका छन् सुशासनका कुनै कसर राखिँदैन ।'

संविधान संशोधनका सन्दर्भमा उनले मधेसको पहिचान, आत्मसम्मान, सामाजिक न्यायका लागि असन्तुष्ट दलहरूसँग वार्ता चलिरहेको बताए । चाँडै सहमति गरी प्रदेश २ सहित सिंगो मुलुकको समृद्धिका लागि सबै दल जुट्ने उनको दाबी थियो । तिब्बतसँग जोडिएको केरुङ–काठमाडौं–लुम्बिनी–जनकपुरलाई जोड्ने रेलमार्ग निर्माण गर्दै धार्मिक पर्यटकीय क्षेत्रको विकास गरी लाखौं पर्यटक भित्र्याएर समृद्ध मधेस बनाउन आफ्नो प्रयास रहने उनले बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले संविधान कार्यान्वयनपछि मुलुकमा राजनीतिक एजेन्डा सकिएकाले सबैले मिलेर समृद्ध मुलुक निर्माणमा अघि बढ्नुपर्ने बताए । 'विगतमा जस्तो हुलाकी सडकसहित अन्य विकास निर्माणमा ठेकेदारले गर्ने ढिलासुस्ती, काम छाडे जरिवानासहित अनुमति खारेज गरिनेछ,' उनले भने, 'उत्तरी क्षेत्रमा फलफूल खेती र दक्षिणीतर्फ सिँचाइको प्रबन्ध गरी अन्न उत्पादन बढाएर मधेसलाई सम्पन्न बनाउन केन्द्रित हुनेछौं ।'

कार्यक्रममै प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले वर्षौंदेखि उपेक्षित मधेसको समृद्धिका लागि विकासको विशेष प्याकेज घोषणासहित काम गरिने बताए । 'शिक्षा, स्वास्थ्यसहित मानवीय विकास सूचकांकमा पछि रहेको मधेसका लागि संघीय सरकारले प्रदेश २ लाई विशेष ध्यान दिनुपर्छ,' उनले भने, 'संघीय सरकारमा मधेसी दलहरूको समेत सहकार्य रहेकाले प्रादेशिक सरकारमा पनि गठबन्धनसँग मिलेर मधेसको विकास गर्नेछौं ।' आगामी ५ वर्षभित्र मिलेर अन्य प्रदेशको तुलनामा २ नम्बरलाई उत्कृष्ट बनाइने राउतको दाबी थियो ।

पूर्व–पश्चिम हुलाकी सडक ९ सय ७५ किमि र उत्तर–दक्षिण जोडिने सहायक सडकसहित १ हजार ७ सय ९२ दशमलव ४२ किमि स्तरोन्नतिका लागि ४७ अर्ब २४ करोड बजेट विनियोजन गरिएको हुलाकी सडक आयोजनाका निर्देशक श्याम खरेलले जनाएको कान्तिपुर दैनिकमा खवर छ ।  


--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/20/2018 08:49:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment