
जनकपुर - चैत्र । अव्यवस्थित र लथालिंग जनकपुर सहरलाई सुन्दर र पूर्वाधारयुक्त बनाउन एकैसाथ ५ वटा विकास परियोजना थालिएको छ ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा जनकपुर उपमहानगरपालिकाअन्तर्गत एकीकृत सहरी विकास आयोजना र नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभागले मुख्य सहरभित्र निर्माण तीव्र पारेको हो ।
विगतमा ढल–कल्भर्टबिनाका साँघुरा सडक, फोहोरमैला व्यवस्थापन समस्या, अव्यवस्थित सहरीकरण, बजार, बस्ती, पसल, खानेपानी, ढल निकासलगायतका समस्याले जेलिएको धार्मिक र ऐतिहासिक सहरको स्वरूप परिवर्तनका लागि उपमहानगरपालिकाले बृहत् एकीकृत गुरुयोजना तयार गरेर पूर्वाधार निर्माणमा तीव्रता दिएको जनकपुर उपमहानगरपलिकाका योजना शाखा प्रमुख वरिष्ठ इन्जिनियर वीरेन्द्रकुमार यादवले बताए ।
'विगतमा गुरुयोजना नै थिएन, नगरपालिका पूरै लथालिंग छ,' वरिष्ठ इन्जिनियर यादवले भने, 'अब गुरुयोजना तयार भयो, कामलाई तीव्रता दिएका छौं ।' एसियाली विकास बैंक (एडीबी) को १ अर्ब ९० करोड ९१९।४४ मिलियन डलर) रुपैयाँ लगानीमा जनकपुर उपमहानगरपालिकाअन्तर्गत एकीकृत सहरी विकास आयोजना सञ्चालित छ । सहरी विकास तथा भवन निर्माण विभागले जनकपुरको राजमार्गदेखि पूर्व क्षेत्रमा सडक विस्तार र ढल निर्माणका लागि ८३ करोड रुपैयाँ लगानी गरेको विभागमा डिभिजन इन्जिनियर गंगाप्रसाद यादवले बताए ।
आयोजनाले सडक विस्तार, ग्राभेल, कालोपत्रे, ड्रेन, ढल, नाला, कल्भर्ट निर्माण, फोहोरमैला व्यवस्थापन, ल्यान्डफिल्ड साइड (डम्पिङसाइड) व्यवस्थापन गर्ने जनाएको छ । आयोजनाका अनुसार ९८ करोड ९८ लाख रुपैयाँ लगानीमा ३१ किलोमिटर सडक विस्तार, ग्राभेल कालोपत्रे, ढल, नाली, कल्भर्ट निर्माण जारी छ । जनकपुर उपमहानगरपालिका सहरी विकास आयोजनाले थप ९ दशमलव दुई किलोमिटर सडक निर्माणका लागि टेन्डर भइसकेको जनाएको छ ।
त्यसपछि साना–ठूला खोला खोल्सीको पानी एक ठाउँ व्यवस्थित गरेर आउटलेट निकास पठाउने ५ वटा आयोजना छन् । त्यसमध्ये चार वटालाई जलाध खोलामा र एउटा आउटलेटलाई दुधमती खोलामा मिसाइने छ ।
पाँच पर्षअघि सुरु भएको एकीकृत सहरी विकास आयोजना स्थानीयको अवरोध, उपमहानगरपालिकाको कमजोर व्यवस्थापन, सडक अतिक्रमण गरेर बनाएका घरटहरा हटाउन र परामर्शदाता नियुक्तिमा निकै समय लागेकाले निर्माणमा ढिलाइ भएको वरिष्ठ इन्जिनियर यादवले बताए । उनले नेपाल टेलिकम, विद्युत् प्राधिकरण, खानेपानी कार्यालय समेत आयोजना कार्यन्वयनमा बाधक बनेको बताए ।
यी संस्थानले सडकमा जताततै विस्तार गरेको पोल र तार स्थानान्तरण गर्न ढिलाइ गरेको र खानेपानीको पाइप, धारा र ट्यांकी व्यवस्थापनमा मुख्य समस्या रहेको यादवले बताए ।
'भानुचोक र मिल्स एरियामा अझै पनि यस्तै समस्या छ,' इन्जिनियर यादवले भने, 'विद्युत्, टेलिफोन र खानेपानीको लाइन समयमा नसार्दा निर्माणमा बाधा भइरहेको छ ।'
जनकपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा १६ मिटर चौडाइको सडकमा १२ मिटर कालोपत्रे र दायाँ–बायाँ दुई–दुई मिटर फुटपाथ, १३ मिटर चौडाइको सडकमा ९ मिटर कालोपत्रे, २र२ मिटर फुटपाथ र ९ मिटर मात्र चौडाइको सडकमा ७ मिटर कालोपत्रे र एक–एक मिटर फुटपाथ निर्माण गर्न लागेको यादवले जनाए । तर सडक विस्तारका क्रममा सडक अतिक्रमण गरी बनाइएका घर–टहरा, सरकारी भवन र सार्वजानिकस्थल मठमन्दिर हटाउन निकै कठिन छ । उनले एकीकृत सहर विकास आयोजनाले सडक विस्तारका क्रममा करिब २ हजार घर–टहरा, सरकारी संरचना र सार्वजनिकस्थल भत्काइएको बताए ।
सडक योजनाअन्तर्गत रेल्वे स्टेसन श्याम चोकदेखि एयरपोर्ट, जनकचोक, शिवचोक, विद्यापति चोक हुँदै एयरपोर्टसम्म ३ किलोमिटर, राजमार्ग पूर्वतर्फ परिक्रमा सडक (रिङरोड) ६ दशमलव ६ किलोमिटर, जानकी मन्दिरदेखि रामानन्द चोकसम्म एक किलोमिटर, शिव चोकदेखि कदम चोक ५ सय मिटर र ३१ मिटर ड्रेन नाली निर्माण भइरहेको उपमहानगरपालिकाका योजना शाखा प्रमुख वरिष्ठ इन्जिनियर यादवले बताए । उनले सहरी विकास तथा भवन निर्माण विभागले थप २० किलोमिटर सडक विस्तार र कालोपत्रेका लागि टेन्डर आहान गरिसकेको जनाए ।
पाँच वर्षमा पूरा गर्ने लक्ष्यका साथ सन् २०१२ मा थालिएको एकीकृत सहरी विकास आयोजना सन् २०१८ को यो अवधिसम्म पनि पूरा हुनसकेको छ । उपमहानगरपालिकाले म्याद थपेर १८ महिनाभित्र पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको यादवले बताए ।
उनले सरकारी नीति, दातृ निकायको प्रक्रियागत समस्याका कारण निर्माणमा ढिलाइ भएको जनाए । कान्तिपुर दैनिकको अनुसार आयोजनाले ७ करोड रुपैयाँ भुक्तानी दिने गरी सोयलटेस्ट कन्सल्ट्यान्ट कम्पनीको नेतृत्वमा अभियान कन्सल्टयान्ट, विलिडाइ कन्सल्टायन्ट र विम कन्सल्टयान्सी संयुक्त कम्पनीलाई परामर्शदाता नियुक्त गरेको छ ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/20/2018 09:18:00 PM
No comments:
Post a Comment