जनकपुर,2 चैत्र । सबैला नगरपालिकाकी उपमेयर निलूदेवी कापरले मेयर विजयशंकर साहमाथि नगरको नीति, कार्यक्रम तथा बजेट ल्याउँदा आफूहरूसँग सल्लाहसमेत नगरेको आरोप लगाएकी छन् । उनले मेयर साहका विरुद्धमा जनतासमक्ष जाने चेतावनी दिइन् ।
उपमेयर कापरले बिहीबार पत्रकार सम्मेलन गरेर नगरसभामा प्रस्ताव गरिएको नीति–कार्यक्रम तथा बजेट एकपक्षीय भएकाले आफूहरूले विरोध गरेको बताइन् । उनले बजेट विनियोजनमा पार्टीकरण मात्र होइन, सहिदहरूलाई समेत विभेद गरिएको आरोप लगाएकी छन् । मेयर साहले आफ्नो निजी दुर्गा मन्दिरका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेकैले नीति तथा कार्यक्रम ल्याउन नदिएको उनले बताइन् ।
सबैला नगरपालिकाको प्रथम नगरसभा शुक्रबार सम्पन्न भए पनि मेयर साहले प्रस्ताव गरेको नीति–कार्यक्रम तथा बजेट विवादका कारण पारित हुन सकेको छैन । सबैला नपाका मेयर साह कांग्रेसबाट विजयी भएका हुन् भने उपमेयर माओवादी केन्द्रबाट जितेकी हुन् । १३ वडा रहेको त्यो नपाका ९ वडामा वाम गठबन्धनको बहुमत छ ।
यता, हंसपुर नगरपालिकामा विवादकै कारण लगाइएको ताला खुल्न सकेको छैन । मेयर रामज्ञान मण्डलले कार्यालयमा तालाबन्दी गरिएका कारण सेवाग्राही मर्कामा परेको बताएका छन् । नगरप्रमुख मण्डल बघचौडास्थित नपाको केन्द्र आफूअनुकूल स्थानमा सार्न खोजेको आरोप लगाउँदै बघचौडावासीहरूले मंगलबार कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी खोलाउन छलफल गर्न गएका मेयर मण्डल तथा उपमेयर रेनु झाबीच बैठकमै विवाद हुँदा उपमेयर झाले समेत तालाबन्दी गरिन् । सभार : कान्तिपुर
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/15/2018 07:46:00 PM
No comments:
Post a Comment