सिरहा, २१ पुस । कथित बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा लहान नगरपालिका–२१ खोरिया टोलबाट पक्राउ परेका आमाछोरीमाथि प्रहरीले मुद्दा चलाएको छ ।
बोक्सीको आरोपमा आफूमाथि कुटपिट गरेको भन्दै स्थानीय ३८ वर्षीया रीतादेवी दासले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेको ३५ वर्षीया इनरदेवी दास र उनकी १८ वर्षीया छोरी निलम दासमाथि मुद्दा चलाएको हो ।
बोक्सी आरोपमा कुटपिट गर्ने आमाछोरीमाथि सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत सिरहामा मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक गणेशचन्द्र ठकुरीले जानकारी दिए ।
गत शनिबार लहान बजारबाट घर फर्किरहेका बेला बेलुकी ७ बजेतिर बोक्सी लगाउने तिमी नै हो, मेरो घर परिवारका सदस्यलाई रोगी बनाउने तिमी नै हो भन्दै इनरदेवी र उनकी छोरी निलमले आफूलाई निर्घात कुटपिट गरेको पीडित रीतादेवीले बताए । शुरुमा इनरदेवीले भुइँमै पछारे, त्यसपछि निलम र इनरदेवीले निर्घात कुटपिट गरेको रीतादेवीको भनाइ छ ।
बोक्सीको आरोपमा आफूमाथि पटकपटक कुटपिट गर्दा गाउँमै छलफलबाट मिलाउने गरेको भन्दै रीतादेवीले यस पटक आफू कानूनी उपचारका लागि प्रहरीमा आएको बताए ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/06/2018 03:16:00 AM
No comments:
Post a Comment