/ , , / दुलहीझैं जानकी मन्दिर

दुलहीझैं जानकी मन्दिर

धैर्यकान्त दत्त, जनकपुर, १६ मंसिर । त्रेता युगमा मर्यादा पुरुष राम र जगज्जननी सीताको विवाह भएको स्मरणमा मनाइने विवाहपञ्चमीलाई हेरेर जानकी मन्दिर बेहुलीझैं सजाइएको छ । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मुख्य समारोह विवाहोत्सव मनाउने गरिएको अवसरलाई लक्षित गर्दै जानकी मन्दिरलाई बेहुलीझैं सजाइएको छ । विवाहोत्सव हुने प्रमुख जानकी मन्दिरलाई रंगीचंगी बिजुलीबत्तीले सजाइएकाले अहिले आकर्षणको केन्द्र बनेको छ । हरेक दिन साँझ जानकी मन्दिरमा भइरहेका धार्मिक प्रवचन र झाँकीको आनन्द लिन सयौंको संख्यामा सर्वसाधारण पुग्ने गरेका छन् ।

सप्ताहव्यापी कार्यक्रम गरी मनाइने रामजानकी विवाहोत्सव मंगलबारबाट सुरु भएको छ । मिथिला परम्पराअनुसार विभिन्न प्रकारका विधि पूरा गर्न सात दिन लाग्ने गरेकोले रामजानकी विवाहोत्सव पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाइने गरिन्छ । पौराणिक परम्पराअनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन मंगलबार जनकपुरधाम नगरदर्शन र बुधबार फूलबारी लीला सम्पन्न भएको छ । यसैगरी तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर, छैठौं दिन विवाहोत्सव र सातौं दिन रामकलेवा मनाइने गरिन्छ ।

रामायणमा उल्लेख गरिएअनुसार विवाहोत्सवमा मनाइने विभिन्न धार्मिक कार्यक्रम हेर्न साँझ जानकी मन्दिरमा अहिलेदेखि घुइँचो लाग्न थालेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए । भारतको अयोध्याबाट भगवान् राम विवाह गर्न जनकपुर पुग्दा गरिएका सम्पूर्ण विधिअनुसार विवाहोत्सव मनाइने गरिएको दासले जानकारी दिए । दासका अनुसार अन्य वर्षझैं यस वर्ष पनि भव्यताका साथ रामजानकी विवाहोत्सव मनाउने सम्पूर्ण तयारी पूरा भइसकेको छ । विवाहोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट साधुसन्त तथा तीर्थालु आउने क्रम सुरु भइसकेको उनले बताए । विवाहोत्सवमा सरिक हुन साधुसन्तका रूपमा आउने पाहुनाको खानपान तथा आवासको व्यवस्था जानकी मन्दिर र राम मन्दिरले मिलाएको छ । 
रामजानकी विवाहोत्सवमा भारतको अयोध्याका साथै विभिन्न स्थानबाट साधुसन्तहरू जन्तीको रूपमा आउने गरेका छन् । अतिथिलाई स्वागत गर्ने मिथिलाको परम्परा रहेको भन्दै जन्तीको स्वागतका लागि भव्य तयारी गरिएको दासको भनाइ छ ।

यसैबीच लाखौको सहभागिता हुने गरेको विवाहपञ्चमी मेलालाई व्यवस्थित तुल्याउन स्थानीय प्रशासन सक्रिय भएको छ । विवाहपञ्चमी मेलालाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोज यादवले जनाए । यादवका अनुसार विवाहोत्सवको अवसर पारेर यहाँ आउने तीर्थालुको सुरक्षा र कुनै पनि उच्छृंखल गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना बनाइएको छ । विवाहपञ्चमीलाई व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालयले स्थानीय युवा क्लब, नागरिक समाज तथा सञ्चारकर्मीसँग छलफल गरी सुझावसमेत लिएको छ । प्राप्त सुझावको आधारमा जनकपुर नगर क्षेत्रभित्र विवाहपञ्मीलाई मध्यनजर गरी १८ देखि २० मंसिरसम्म मांस–मदिरा बिक्रीवितरणमा रोक लागाइएको उनले जानकारी दिए ।


about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment