काठमाडौं, १६ मंसिर । संविधान संसोधन विधेयकको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेको छ ।
सरकारले संघीयताको मान्यता विपरीत पाँच नम्बर प्रदेशको सीमा हेरफेर गर्नेगरी संविधान संसोधनको प्रस्ताव ल्याएको बिरोधमा एमालेले संसद अवरुद्ध पारेको हो ।
व्यवस्थपिका संसदको बिहिबारको बैठकको शुरुमै समय लिएर एमाले सांसद बामदेव गौतमले सरकारले संविधानको धारा २९६ को उपधारा ४ अनुसार रुपान्तरित संसदलाई दिएको अधिकार बाहिर गएर प्रदेशको सिमांकन हेरफेर गर्ने प्रस्ताव ल्याएको आरोप लगाए ।
उनले संविधानको अनुसुची ६ मा भएको व्यवस्था अनुसार रुपान्तरित संसदले प्रदेश गठनका लागि आवश्यक २१ वटा कानुन निर्माण गर्ने अधिकार मात्र दिएको दावी गरे ।
अनुसूची ४ अनुसार प्रदेश गठन भई अनुसुची ६ मा भएको व्यवस्था अनुसार कानुनी रुपमा अधिकार सम्पन्न भएपछि प्रदेशसभाको अनुमतिमा मात्रै सिमांकन हेरफेर गर्न सकिने व्यवस्था संविधानमा छ । नेता गौतमले प्रदेश सभाको अनुमति बिना सिमांकन हेरफेर गर्न नपाउने कानुनी व्यवस्थाको सरकारले ठाडो उल्लंघन गरेको दाबी समेत गरे ।
उनले मुलुकलाई विखण्डीत पार्ने गरी सरकारले ल्याएको संसोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने जिकिर गरे ।
सरकार गठनअघि कांग्रेस र माओवादी केन्द्रले मधेस केन्द्रीत दलहरुसँग गरेको सहमति आम जनता र राष्ट्रले पूरा गर्न आवश्यक नरहेको दाबी गरे ।
सिंमाकन हेरफेरको अधिकार रुपान्तरित संसदलाई नभएको भन्दै उहाले संसोधन प्रस्ताव ल्याएर प्रधानमन्त्री पुष्पकमल दाहालले जानी जानी संविधानको उलंघन गरेको आरोप समेत लगाए ।
बैठकमा सांसद गौतमले सभाुमख ओनसरी घर्तीका काम कारवाहीमाथि टिप्पणी गरेको भन्दै नेपाली कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले नियमापत्ति गरेका थिए ।
श्रेष्ठले नियमापत्तिको समयमा केही बेर संसद बैठकमा होहल्ला मच्चिएको थियो ।
सभाुमख ओनसरी घर्तीले संविधान संसोधन प्रस्तावबारे बैठकको कार्यसूचीमा नहरेकाले सदन अवरुद्ध नगर्न पटक पटक आग्रह गरेपनि एमाले सासदहरुले उभिएर विरोध जारी राखेपछि बैठक अवरुद्ध भएको थियो ।
संसदको अर्को बैठक शुक्रबार तीन बजेका लागि बोलाइएको छ । रातोपाटीबाट
No comments:
Post a Comment