काठमाडौं, १७ कार्तिक । नेपाल गणतन्त्रात्मक मुलुक भएपछि पहिलो पटक छिमेकी राष्ट्र भारतका राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको छ । अर्थात, अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा आउँदै छन् ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीको बुधबारदेखि हुने तीनदिने नेपालको राजकीय भ्रमणको शुरु हुँदै छ । उनी आज साढे १२ बजे काठमाडौं आइपुग्नेछन ।
यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते नेपाल भ्रमण गरेका थिए । त्यसपछि भारतीय राष्ट्रपतिबाट नेपाल भ्रमण हुन लागेको हो ।
केआर नारायणनले नेपाल भ्रमण गर्दा नपालमा संवैधानिक राजतन्त्र थियो । त्यसबेला राष्ट्रप्रमुख तत्कालीन राजा वीरेन्द्र शाह थिए ।
पहिलो संविधानसभाबाट नेपाललाई गणतान्त्रिक मूलक घोषणा गरिएपछि नेपालमा राष्ट्रपतिको व्यवस्था भएको हो । नेपालको पहिलो राष्ट्रपति डा।रामबरण यादव थिए । भण्डारी नयाँ संविधान जारीभएपछि राष्ट्रपति भएकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि आवश्यक सुरक्षासहित सबै प्रबन्ध मिलाइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतका राष्ट्राध्यक्षको भ्रमण हुँदा सुरक्षा मुख्य प्राथमिकता भएकाले त्यसको जिम्मेवारीका साथ सम्पूर्ण तयारी पूरा गरिएको परराष्ट्रमन्त्री डा।प्रकाशशरण महतले बताएका छन् ।
राष्ट्रपतिको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेकोे छ ।
भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि झन्डा तथा तुलहरु चोक चोकमा राखिएको छ । उनको सवारी पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन् । राष्ट्रपति मुखर्जीको स्वागतका लागि सबै प्रबन्ध पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्नेछिन् ।
परराष्ट्रमन्त्री डा महतका अनुसार राष्ट्रपति मुखर्जीको पुग्ने तथा सहभागी हुने सबै कार्यक्रम व्यवस्थित गरिएको छ ।
त्यसपछि राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्नेछन् ।
उनको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।
भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्नुहुनेछ भने सोही दिन उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ ।
भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ । उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन गर्नेछन् ।
राष्ट्रपति मुखर्जी यहाँ रहँदा राजनीतिक दलका नेताहरुले उनीसँग शिष्टाचार भेट गर्नेछन् ।
भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्नेछन् । त्यहाँ उनको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ ।
सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जानेछन् । राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन् ।
सम्बन्ध सुधारको प्रयास
अठार वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्धमा न्यानोपन र व्यापकता आउने सरकारको विश्वास छ ।
सरकार–सरकार र जनता–जनताबीचको बहुआयामिक र ऐतिहासिक सम्बन्ध रहेको नेपाल र भारतबीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशका बीचमा बेलाबखत देखापर्ने उतार चढावलाई न्यूनीकरण गरी आपसी विश्वास बढाउने नेताहरु बताउँछन् ।
एमाले उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले छिमेकी देशको राष्ट्राध्यक्षको यस भ्रमणले आपसी सम्बन्धमा न्यानोपन ल्याउने बताएका ‘नेपालले संयुक्त राष्ट्र सङ्घको वडापत्रअनुरुप यस भ्रमणलाई राष्ट्रिय हितमा उपयोग गर्नुपर्छ ।’ उनको भनाई छ । नेता रावलले भ्रमणको तयारीबारे सरकारले आफूहरुसँग परामर्श नगरेको र भारतीय राष्ट्रपति आउने दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको विषयमा भने आलोचना गरे ।
उता पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पनि भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणले दुई देशबीचको भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउने बताए । उनले भ्रमण कार्यकारी प्रकारको नभएकाले दुई देशबीचका ठोस समस्याको समाधानतर्फभन्दा पनि आपसी सम्बन्ध राम्रो बनाउने वातावरण सिर्जनामा केन्द्रित हुने अपेक्षा राखे ।
काँग्रेस नेता एवम् सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणले आपसी सद्भाव अभिवृद्धि गर्ने भएकाले यसको कहाँ कति सदुपयोग गर्न सकिन्छ भन्नेबारेमा नेपालले सोच्नुपर्ने बताए । उनले आपसी सम्बन्ध र आर्थिक विकासका दृष्टिले भ्रमणले सानिध्यता बढाउने धारणा राखे । ‘नेपालको राष्ट्रिय हित र स्वाभिमानका साथै सम्बन्ध सुदृढ बनाउने गरी यसलाई अवसरका रुपमा प्रयोग गर्न सक्नुपर्छ ।’ उनले भने ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पछिल्ला समयमा नेपाल र भारतबीचको सम्बन्धमा सुधार आएको र भ्रमणले थप सद्भाव बढाउने प्रतिक्रिया दिए । सामाजिक, आर्थिक र धार्मिकरुपमा पनि भ्रमणको महत्व रहेकाले यसबाट सम्बन्धमा घनिष्टता बढ्ने उनको भनाइ छ । रातोपाटी
No comments:
Post a Comment