बिनोद आचार्य, काठमाण्डौ, २७ असोज । नियमित आयात हुने उत्तरी चीनतर्फको केरुङ नाका अवरुद्ध बनेपछि कपडा बोकेका सयौं ट्रक तथा कन्टेनर बाटोमै फँसेसँगै नयाँ लत्ता कपडा समयमै आउन नपाएकाले नेपाली व्यापारीले पुरानै स्टकबाट दशैंमा कपडा बेचे र नेपालीहरुले पनि दसैंमा नयाँ डिजाइनका कपडा लगाउन नपाएरै मनाए।
गत वर्षको भुकम्पपछि खासा तर्फको नाका खुल्न सकेको छैन भने बाढी पहिरोले केरुङधुन्चे नाका अवरुद्ध बनेको थियो।जसका कारण सयौंको संख्यामा ट्रक तथा कन्टेनर बाटोमा फँसेपछि दशैंका लागी आयातित रेडिमेड कपडा समयमै आउन नसक्दा दशैंमा अधिकाशं व्यापारीले स्टक राखिएको पुरानै कपडा बेचेको र थोरैले मात्र चिनबाट समुन्द«ी मार्ग हुँदै कलकत्ता बन्दरगाहबाट नयाँ कपडा ल्याएका थिए।
जसको कारण बजारमा कपडा अभाव नभएपनि महँगो पर्न गएको व्यापारीहरु बताउँछन् । विगत १५ वर्ष देखि चिनीया रेडिमेड कपडाको व्यापार तथा नेपाली कपडा उत्पादनमा सक्रिय रहेका सञ्जीव श्रेष्ठले दिएको जानकारी अनुसार केरुङको नाकाबाट २० दिनमा आइपुग्ने कपडा कलकत्ता बन्दरगाहबाट डेढ महिना सम्म लाग्ने गर्दछ ।
उनले त्यसमा थप्दै भने, ‘कलकत्ता बन्दरगाहको मार्ग झन्झिटिलो साथै खर्चिलो समेत छ र व्यापारीहरुको सबै भन्दा डरको विषय भनेको सिजन अनुसार मगाइएको कपडा यो मार्गबाट कहिलेकाँहि अफ सिजनमा आइपुग्न पनि सक्छ, त्यसैले प्राय व्यापारी यो बाटोबाट लुगा जन्य सामान आयात गर्दैनन् ।’
महाबौद्धका अर्का रेडिमेड कपडा व्यापारी रमेश घिमिरेले आफुले आयात गरेका कपडा केरुङ नाकामा अड्केकाले सिमित मात्रामा स्टकमा रहेका पुराना कपडाहरु बेचेको र थोरैमात्रमा नयाँ डिजाइनका त्यो अन्तिम समयमा आएको जानकारी दिए ।
घिमिरेले केरुङको बाटो भन्दा कलकत्ताबाट लामो समय लाग्ने र थप महँगो पर्ने भएकाले आफुले त्यो मार्गबाट आयात नगरेको बताए । दुबै व्यापारीहरुले स्टकमा रहेको कपडाले एक वर्षसम्म धान्ने सेतोपाटीसँगको कुराकानीको क्रममा दाबी समेत गरे ।
No comments:
Post a Comment