/ , , , , / ‘राजनीतिमा लाग्दा साली जिस्क्याउन पाइएन’ ः चित्रबहादुर केसी

‘राजनीतिमा लाग्दा साली जिस्क्याउन पाइएन’ ः चित्रबहादुर केसी

असोज २७ । झर्रो भाषामा मीठो बोल्ने तथा उखान–टुक्का सुनाएर भाषण गर्न खप्पिस राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको १४ वर्षैमा २०१२ सालमा गुल्मी ओलीवाङकी ९ वर्षिया पार्वती केसीसँग विवाह भएको थियो। कलिलो उमेरमा ज्वाईं बनेका केसी आफ्नो ससुराली किस्सा सम्झिदाँ अहिले पनि मख्ख पर्छन्। उनी कतिपटक ससुराली गए होलान्रु कतिपटक सालीलाई जिस्काए होलान्रु दशैँको बेला यस्ता प्रश्न सुनेर पूर्व उपप्रधानमन्त्री केसी खित्का छाडेर हाँसे र नेपालखबरलाई यसरी सुनाए ससुरालीका चार किस्सा स्


ससुरालीमा मकै भटमास खान नपाउँदा


नेपाली संस्कार अनुसार विवाह गरेको साल दुरान फर्काउन ससुराली जानुपर्छ। बिहेपछि मैले पनि दुरान फर्काउन जानुपर्ने भयो। लेकको बाटो, माघको जाडो, त्यसमाथि हिउँ र पानी लगातार परिरहेको थियो। ससुराली जाँदा भरिया पछि लगाएर दौरा सुरुवालमा ठाँटिएर, छाता ओढेर हिँड्ने चलन थियो। म भने पहिलो पटक ससुराली जाँदा झरीमा रुझ्दै गइरहेको थिएँ। त्यही हिउँ र झरीका कारण मैले पाँच दिन ससुराली बस्नु पर्‍यो। मलाई बहुतै गाह्रो भएको थियो। ससुरालीलाई पनि ज्वाईं पाल्न असाध्यै अफ्ठ्यारो१

पाँच दिनसम्म ससुराली बस्दा एकदमै पट्यार लाग्यो। त्यतिबेलाको चलन ज्वाईंलाई सेल रोटी वा खीर बनाएर खुवाउने थियो। फेरि म आफैँ पनि केटाकेटी, झम्के झरी छ। भित्र मकै भटमास भुटछन्। त्यसको बासनाले मेरो मुख रसाउँछ। माग्न भने सक्दिनँ। ज्वार्इं भएर कसरी मकै भटमास माग्नुरु उनीहरूले मकै भटमास दिने भनेको ज्वाईंलाई हेला गरेजस्तो हुने। आफ्नो मन मानेको छैन।

श्रीमती नै ९ वर्षकी थिइन्। सायद, त्यो बेला मेरी साली जन्मेकै थिइनन्। जिस्किने त कुरै भएन।

भागेकी श्रीमति फर्काउन जाँदा


मेरो ठूल्दाइले गाउँकै जिम्मलकी छोरी विवाह गरेका थिए। उनी ससुराली जाँदा ३० पाथी कुराउनी, १० घरी केरा पाँच जना भरियालाई बोकाएर खसी डोर्‍याउँदै गएका थिए। ३० पाथी कुराउनी पकाउनलाई तीन गाउँको दुध जम्मा गर्नुपरेको थियो।

मेरो ससुराली चैँ त्यति धनी नहुनाले ठूल्दाइको जति कोसेली लानु परेन। उसबेला ज्वाईंले लगेको कोसेलीको हिसाब गरेर चलनचल्तीको भाउमा दोब्बर कोसेली फर्काउनुपर्ने प्रचलन थियो। त्यही भएर ससुराली जाँदा मलाई जहिले पनि उनीहरुलाई मार पर्ला कि भन्ने चिन्ताले सताउँथ्यो।

२०१३ सालको दशैँमा ससुराली जाँदा मैले दुई पाथी कुराउनी र एक घरी केरा लिएर गएका थिएँ। बढी कोसेली लिएर गएपछि ससुरालीलाई जरीमान नै हुने१ त्यसैले मैले सामान्य रुपमा अरुको भन्दा पनि कम कोसेली लगेंँ। मैले थोरै कोसेली लगेकोले ससुराबा कम्ता खुसी हुनभएन ९हाँसो०१

हाम्रो जहान ठूलो थियो। घरमै २०–२५ जना। काम पनि धेरै गर्नुपर्ने। श्रीमती पार्वती केटाकेटी नै थिइन्। कामको बोझले उनलाई ज्वरो नै आयो। ओच्छ्यानै परिन्। एक दिन उनी ओच्छ्यानमा थिइनन्। हाम्रा बाले उनी भागेर माइत गइन् होला भन्ने लख काटे। ससुराली त्यत्रो टाढा थियो। बिरामी मान्छे एक्लै गइन होला भन्ने मलाई चैँ पत्यार लागेन। वरिपरि नभेटेपछि ससुराली गएँ, खोज्दै। पाँच घण्टा हिँडेपछि ससुरालीको गोठ देखियो। यसो हेर्छु त उनी गोठमा पुग्न लागेकी रहिछन्।

हराएर दुःख दिएकोले खुब रिस उठेको थियो तै पनि मैले उनलाई फकाउँदै र गाली गर्दै घर ल्याएँ। तर रमाइलो चाहीँ के भयो भने गोठमा सासुससुरा रहेनछन्। उनीहरु औलको घरमा भएकोले पार्वती भागेर आएको ससुरालीमा थाहा भएन।

सौता हाल्ने डरले ससुराबा चिन्तित


म काठमाडौँको नन्दी रात्री पाठशालामा पढ्थेँ। त्यसैबेला मेरा ससुराली चाहीँ गुल्मीबाट भैरहवा बसाइँ सरिसकेको थियो।

हाम्रो खलकको आर्थिक र सामाजिक हैसियत अलि उच्च भएकोले कतै मैले पार्वतीलाई सौता हाल्छु कि भन्ने पीर ससुरालाई थियो। उनी साँच्चै डराएका थिए। त्यसबेलाको चलनै त्यस्तो थियो। धनीमानीले बढी श्रीमति ल्याउने गर्थे। हाम्रै बाले पनि पाँचओटी बिहे गरेका थिए। पार्वतीको मसँग विवाह गरेपछि ससुरा घरमा भन्थे रे, ‘मैले छोरी भड्खालामा हालेँ।’

बसाइँ सर्दा पनि मेरो ससुरालीको खासै आर्थिक प्रगति हुनसकेन। भैरहवामा खुब दुःख थियो।

उसबेला बागलुङबाट भैरहवा जाँदा भारतको बाटो भएर जानुपर्दथ्यो। बागलुङबाट काठमाडौं आएर त्रिभुवन राजपथ हुँदै वीरगञ्ज नजिकैको भारतीय बजार रक्सौलमा रेल चढेर मुजफपुर हुँदै गोरखपुरसम्म गएपछि मात्र भैरहवा पुग्नसकिन्थ्यो।

म भैरहवामा रातको ११ बजे पुगेको थिएँ। त्यताहुँदो डाकाको बिगबिगी रहेछ। म ससुराली घरै भेट्न सकिरहेको थिइनँ। जता गयो त्यतै भुस्याहा कुकुरले घेरा हाल्थे। एउटा कुनामा कुकुरले भुक्दै घेरा हालेपछि डाकाको डरले नसुती बसेका वरिपरिका मान्छे लाठो बोकेर भेला भए र मलाई केरकार गर्न थाले। मैले सबैकुरा बताएपछि उनीहरुले नै मेरो ससुराली घर पुर्याइदिए। ससुराली घरको बन्दोबस्त गतिलो थिएन। ससुरा आफैँ बिरामी थिए।

म ०२३ सालको पुषमा भैरहवा गएको थिएँ। मधेश भए पनि खुब जाडो थियो। ससुरालीमा ओढ्ने ओच्छ्याउने समस्या रहेछ। हाम्रो बिहे भएको बेला कान्छो सालो तीन महिनाको थियो, म भैरहवा पुग्दा त ऊ तन्नेरी भइसकेको रहेछ, खलामा गएर धान रुङ्न सक्ने। म पनि उसको पछिपछि खलामै गएर पराल ओढेर सुतेँ।

ससुरालीबाट फर्किदाँ भने ट्रकमा झुण्डिएर बुटवलसम्म आएँ। बुटवलबाट काठमाडौँ आउँदा चार दिन हिँड्नुपर्थ्यो। बाटोको आठ छाक खाना र अरु खर्च हिसाब गरेर बाँकी रहेको ४० रुपैयाँ ससुराबाको हातमा राखिदिएँ। उनी त रुन पो थाले। सामान्यतः ससुरालीले ज्वार्इंलाई पैसा दिने चलन हुन्छ। तर म विद्यार्थी मान्छे, खर्चको समस्या त मलाई पनि थियो नै, त्यसको बाबजुद मैले ससुरालीको दुःख देखेर त्यो निर्णय गरेको थिएँ।

अहिले त सालाहरु ला
हूरे छन्। सबैका भैरहवामा पक्की घर छन्। उनीहरुको जीवनस्तर मेरोभन्दा राम्रो छ।


साली हुँदाको ससुराली


पछि म राजनीतिमा लागेपछि भारतको बनारस, दरभंगा आउने जाने भइरहन्थ्यो। ०२६ सालमा मलाई राजकाजको मुद्दा लाग्यो। त्यसबेला म हाइस्कुलको हेडमास्टर थिएँ।

मुद्दा लागेपछि म भूमिगत हुँदा त प्रायः ससुरालीमा नै बस्थेँ। म १९ वर्ष भूमिगत हुँदा पटक–पटक ससुराली बसेँ। साथीहरुले मलाई खिसीटिउरी गर्नुपर्दा पनि चित्रबहादुरलाई कतै भेटिएन भने उनको ससुराली गए हुन्छ भन्ने गर्थे ९हाँसो०।

सासुससुराले मलाई असाध्यै राम्रो गर्ने। पछिपछि मलाई पनि ससुराली बस्न अप्ठयारो नलाग्ने हुनथाल्यो। भागेर दरभंगा गएँ। तैपनि भूमिगत समयमा ससुराली जाँदा त्यहीँ पक्राऊ पर्छु कि भन्ने त्रास भइरहन्थ्यो।

ससुरालीमा एउटा मात्र साली थिइन्। बसाइँ सरेपछि भेटघाट पनि कमै हुन्थ्यो। म राजनीतिमा लागेपछि ससुरालीमा आउने–जाने हुन थालेपछि उनीसँग भेट हुन्थ्यो। भिनाजुलाई देख्दा खुब लजाउँथिन्।

राजनीतिमा लागिसकेको र सामाजिक मर्यादालाई ख्याल राख्दा सालीसँग खासै जिस्कन पाइएन्। तर कहिलेकाहीँ छिमेकी सालीहरु भिनाजु आउनु भयो भन्दै झुम्मिँदा भने मलाई ससुरालीमा बस्दाको रमाइलो थाहा हुन्थ्यो। तर म अरुजस्तो मर्यादा नाघेरै चाहीँ जिस्किनँ।

मेरो सालीको विवाह शेरबहादुर मगरसँग भएको थियो। उनी भारतको टाटा कम्पनीमा काम गर्थे र मैलेभन्दा बढी पैसाको चलखेल गर्थे। उनी पनि मझैँ ससुराली भनेपछि हुरुक्क हुने खालका थिए।

एक दिन साँढुभाइले भैरहवामा तरकारी किन्न जाऔँ भने। म पनि उनको पछि लागेँ। मगरभाइको अलि रक्सी खाने बानी। माघे झरी परिरहेको थियो।

दरभंगामा पार्टीको एउटा बैठक थियो। त्यसमा जान भनेर मैले १ सय ४० रुपैयाँ सुरुवालको भित्री खल्तीमा लुकाएर राखेको थिएँ। बजारमा सबै खर्च साढुभाइले नै गरे।

फर्कंदा ठुटीपीपलमा झर्ने बेला एउटा केटालाई मगरभाइले पिटुँलाजस्तो गर्न थाले। त्यो केटो पकेटमारा रहेछ। मेरो खल्तीमा हात हाल्यो, यसलाई गोद्नुपर्छ भन्दै साँढुभाइ तात्तिए। म वारेन्टेड मान्छे हुनाले हल्लाखल्ला गर्दा पुलिस आउने डर हुन्थ्यो। त्यसैले मैले रक्सी खाएर कति हल्ला गर्छौ भन्दै साढुभाइलाई तानेर लगेँ। गाडीबाट झरेर खल्ती छाम्दा त पैसा छैन। पकेटमाराले मेरो खल्ती साफ गरेर साढुभाइकोमा हात हालेको रहेछ। पछि ससुरालीसँग बाटोखर्च मागेर म दरभंगा गएँ।

सासुससुरा बितिसके पनि साला जेठानकोमा अझै आउजाउ छ। मन्त्री हुदाँ पनि म ससुराली गएको थिएँ। नेपालखबर

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment