काठमाडौं, असोज १० । पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित सात जना चढेको गाडी त्रिशूली नदीमा वेपत्ता हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना अझै वेपत्ता छन् । वेपत्ताहरुको खोजि जारी छ, तर स्थिति अझै अज्ञात छ । गाडी दुर्घटनापछिका १९ घण्टा यसरी विते । यो ‘टाइमलाइन’ दुर्घटनापछि आज विहान ११ बजेसम्मको हो ।
–मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा ९ च १५३१ नं को स्करपियो गाडी आइतवार दिउँसो ४ बजे दुर्घटना ।
–पृथ्वी राजमार्गको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको थियो ।
–चितवनमा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार मृत्यु हुनेमा घिमिरेकी आमा ८० वर्षीया चैतन्यकुमारी, सुरक्षागार्ड सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्की र आफन्त नारायण काफ्ले रहेका छन् । काफ्ले घिमिरेका भान्जा भएको बताइएको छ ।
–सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी नायब उपरीक्षक जनक बस्नेतका अनुसार घुम्तीबाट गाडी त्रिशूलीमा खसेको थियो । सडकबाट करिब १५० मिटर तल नदीमा गाडी खसेको थियो ।
–चितवन– पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित सात जना चढेको गाडी त्रिशूली नदीमामा वेपत्ता भएको १२ घण्टा वित्दा पनि तीन जनाको स्थिति अझै अज्ञात छ ।
–आमा चैतन्यकुमारी, कार्की र आफन्त काफ्लेको शव नदी किनारमा भेटिएको थियो ।
–सवारी चालक प्रहरी हवल्दार विष्णु राईको घाइते अबस्थामा उद्दार भएको थियो । चालक राई भने केही माथि भिरमा घाइते अवस्थामा भेटिएका थिए ।
–घाइते राईको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ । घाइते राईलाई कसैसँग पनि भेट गर्न दिइएको छैन । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
–दुर्घटनामा घिमिरेसहित तीन दाजुभाई त्रिशूलीमा बेपत्ता भएका थिए ।
–सिंहका अनुसार घिमिरेसहित उहाँका भाइहरू प्रकाश र मोहन पनि त्रिशूलीमा बेपत्ता भएका छन् ।
–चालक राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेको बताइएको छ । दमौलीमा खाना खाएपछि पूर्व गृहमन्त्री घिमिरेले चालक राईलाई ‘आराम गर’ भन्दै आफैँ गाडी चलाएको चालकलाई उद्धृत गर्दै उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।
–दुर्घटनाभएसँगै कुरिनटारमा रहेको सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्रको टोली खटेको थियो । सोही ठाउँबाट केही दिन अघि त्रिशूलीमा खसेको ट्रक पनि अझै बेपत्ता छ ।
–घटनास्थल मनकामना केबलकारको गेटबाट डेढ किलोमिटर मुग्लिनतर्फको दूरीमा पर्दछ । दुर्घटनास्थलमा नदीको दुवैपट्टी पानीले भरिएकाले खोजी कार्य कठिन भएको छ ।
–सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम केन्द्रका सात जनाको गोताखोर टोलीले हिजोसाँझदेखि डुङ्गामा बसेर बेपत्ता व्यक्ति र गाडीको खोजी कार्य गरिरहेको छ ।
–बस्नेतले बाटोबाट ‘लाइटिङ टावर’बाट उज्यालो दिने व्यवस्था गरेर खोजी कार्य जारी राखेको बताए । टावरले चार किलोमिटर परसम्म उज्यालो दिने उनले बताए ।
विसं २०६६ साउन २२ गतेदेखि २०६९ साउन २१ गतेसम्म मुख्यसचिव हुनुभएका घिमिरे खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा गृह तथा परराष्ट्र मन्त्री थिए ।
–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको त्रिशूली नदीमा जिप खसेर बेपत्ता भएको घटनाले आफू स्तब्ध भएको बताएका थिए ।
–प्रधानमन्त्री दाहालले ट्वीटरमार्फत –घिमिरेको सवारी दुर्घटनामा परेको खबरप्रति स्तब्ध भएको भन्दै खोजीका लागि प्रशासनलाई निर्देशन दिएका थिए ।
–त्रिशूली नदीमा बेपत्ता घिमिरेसहित तीन जनाको खोजी गर्न सबै संयन्त्र परिचालन गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।
–राति चुम्बक र हुक एङकरले नदीमा गाडी र व्यक्तिको खोजी कार्य गरिएको भए पनि फेला पार्न नसकिएको हो । जेनेरेटर चलाएर लाइटिङ टावरमार्फत उज्यालो पारेर खोजी गरिएको थियो । राति १ः३० बजेसम्म खोजी कार्य जारी राखेको भए पनि फेला पार्न नसकिएपछि खोजी कार्य रोकिएको थियो । रातोपाटी
No comments:
Post a Comment