काठमाडौं, २६ साउन । प्रधानमन्त्री प्रचण्डले महंगी, कालोबजारी र अनियन्त्रित बजार अनुमगन गर्न मातहतका निकायलाई निर्देशन दिएको बताएका छन् ।
बुधबार बालुवाटारमा भएको रिपोटर्स् क्लबका प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘महंगी बढेको, बजार अनियन्त्रित रहेको र कालोबजारी समेत बढेको कुराप्रति मेरो गम्भीर ध्यान गएको छ । मैले यसलाई नियन्त्रण गर्न र जनतालाई तत्काल राहत पुग्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छु ।’
प्रधानमन्त्रीले आर्थिक विकास र समृद्धिका लागि तात्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने गृहकार्य गरिरहेको पनि पत्रकारहरुलाई जानकारी दिए ।
अहिलेको चुनौति र अवसरपूर्ण क्षणमा दोस्रोपटक प्रधानमन्त्री भएकाले संविधान कार्यान्वयनसँगै आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने आफ्नो मूख्य जोड रहेको बताए । प्रधानमन्त्रीले भने, ‘विगतका तीता मिठा अनुभवबाट निष्कर्ष निकालेर परिणाममूखी काम गर्नेछु । आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै सहमतिको वातावरण निर्माण गरी संविधान कार्यान्वयन, समयमै चुनाव सम्पन्न गर्ने र पूनर्निर्माणको कामलाई तिब्रता दिनेछु ।’
भेटमा क्लबका अध्यक्ष ऋषि धमलाले बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले अघि सारेको कार्ययोजनामा सञ्चार क्षेत्रको पूर्ण सहयोग र साथ रहने बताएका थिए ।
No comments:
Post a Comment