राजविराज, ९ असार । मधेशका जिल्लाहरु जोड्ने देशकै अति पुरानो हुलाकी मार्ग दर्जनौ स्थानमा टुटफूट हुनुका साथै खाल्टाहरुमा पानी जमेका कारण सर्वसाधारण जनतालाई आवागमनमा समस्या व्यहोर्नुपरेको छ ।
सप्तरी जिल्लाको जमुनी मधेपुरा, मलेकपुर, पत्थरगाडासहितका स्थानहरुमा सडकमा ठूला–ठूला खाल्टाहरुमा पानी जम्नुका साथै बाटो हिलाम्मय बन्न पुगेको हो । मधेशको ग्रामिण भेगका वासिन्दाहरुका लागि महत्वपूर्ण मानिने हुलाकी सडकमा सदरमुकाम राजविराजदेखि करिब २ किलोमीटर पश्चिम जमुनीमा मात्रै ठूलाठूला खाल्टाहरुको रहेको र विगत केही दिन यताको वर्षाले पानी जम्नुका साथै अत्यधिक हिलोले गर्दा ट्रयाक्टर बाहेकका सवारी साधन चल्न समस्या भएको जमुनी मधेपुरा–१ का दिनेश दासले बताए ।
उनका अनुसार सडक हिलाम्मय हुनुका साथै पानी जमेर बाटो अति खतरनाक बन्न पुगेको छ । उक्त बाटो भएर मोटरसाइकल चलाउन समेत जोखिम मोल्नुपर्ने अवस्था रहेको उनले बताए । ‘ठूला खाल्टाहरुमा ट्रयाक्टर त जेनतेन चलेको छ तर अन्य सवारी साधन भने चल्न सकेको छैन’ स्थानीय वासिन्दा दासले भने ‘हिलोले गर्दा मोटरसाइकल समेत दैनिकजसो चिप्लिने गरेका कारण यात्रुहरु दुर्घटनाको शिकार बन्ने गरेको छ ।’हुलाकी सडकको विभिन्न स्थानहरुमा बाटो जीर्ण हुन गई वर्षा यामभरि आवत–जावत गर्न समेत जोखिम उठाउनुपरेको दुःखेसो सुनाए सप्तरीको मलेकपुर–५ खुरहुरियाका युवा व्यवसायी हरिनारायणले । सदरमुकाम राजविराजबाट दैनिकजसो पसलकालागि सामान ल्याउनुपरेकोले हुलाकी सडक भएर यात्रा गर्नैपर्ने भएकोले साइकलमा सामान बोकेर ल्याउँदै गर्दा कैयौं दिन साइकल चिप्लिदा हिलाम्मय बाटोमा लड्नुपरेको उनले बताए । सडकको अवस्था सुध्रिएला भन्ने आशा अब मरिसकेको दुखेसो सुनाउँदै ४० वर्षिय युवा व्यवसायी साहले भने ‘हुलाकी सडक आज बन्ला, भोली बन्ला भनी आश्वासन सुन्दासुन्दै आश पनि मरिसकेको छ, आफूले होश सम्हालेदेखि नै सडकको अवस्था जस्ताको त्यस्तै छ ।’
निर्वाचनको समयमा बिभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले चुनावी नारा बनाए पनि जितेर गएपछि प्रायः सबै प्रतिवद्धताहरु प्रतिवद्धतामै सिमित हुन पुगेको मलेकपुर–६ का बृद्धिजिवी तारकेश्वर यादवले बताए । उनले भने ‘जिल्लाबाटै पटक–पटक मन्त्रीसम्मको उच्च जिम्मेवारी पनि सम्हाले, तर सर्वसाधारण जनताको जीवनजिविकासँग जोडिएको हुलाकी सडक निर्माणका लागि ठोस पहल गरेनन्, सबै नेताहरु धोकेबाज नै भए ।’ खेतबारीमा उत्पादित सामान तथा कुमालेसहितका पेशागत जातिहरुद्वारा उत्पादित सामानहरु बजारसम्म पुर्याउन नसकेका कारण रोजीरोटी चलाउन पनि समस्या भएको स्थानीय कृषकहरुको दुखेसो रहेको छ ।राणा शासनकालमा निर्माण गरिएको सडक भएर हुलाकीहरु सिरहा, महोत्तरी, धनुषा, सर्लाही सहितका जिल्लाहरुमा चिठी पु¥याउन एक मात्र मार्गको रुपमा रहे पनि हाल यो सडक उपेक्षाको शिकार बन्दैआएको छ । अहिले दिनहुँजसो मोटरसाइकल तथा साइकल चालकहरु समेत रातिको बेला दुर्घटनामा पर्ने गरेको छ । अन्य यातायातका साधनहरु चल्न सकेको छैन । न्युजटुडे
No comments:
Post a Comment