![]() |
गंगाप्रसाद यादव (उपसभामुख) |
० मधेश आन्दोलनका माग सम्बोधनको विषयमा दुवै पक्ष आ–आफ्नै अडानमा छन् । यसलाई कुन रूपमा लिनुभएको छ ?
— दुवै पक्ष लचिलो भएर मधेशका समस्या समाधान गर्नु पर्छ । आ–आफ्नो अडानमा लचक नहुने हो भने समस्या ज्युका त्युँ रहन्छ । यो देश र जनताका लागि हितकर हुँदैन । त्यसैले दुवै पक्षले तत्काल समस्या समाधानतर्फ अग्रसर हुनु आवश्यक छ ।
० पछिल्लो समयमा मधेशका माग सम्बोधन गर्ने भनेर संविधान संशोधन गरियो । यो संशोधनले मधेश आन्दोलनका एजेण्डाहरू सम्बोधन गरेकै हो त ?
— सीमाङ्कन बाहेक अन्य माग केही हदसम्म सम्बोधन भइसकेको छ । र, बाँकी असन्तुष्टिहरू पनि सम्बोधन गर्दै जानुपर्छ । मधेशमा भइरहेको आन्दोलनलाई वार्ताबाट सहज तरिकाले समाधान गर्नुपर्छ । मधेश आन्दोलनलाई समाधान नगरिए मुलुकमा विकराल स्थिति सृजना हुन सक्छ ।
० मधेश आन्दोलनका मुख्य कार्यक्रम स्थगित गरिएको दुई महिना पुग्न लागेको छ । तर, अझै पनि वार्ता हुन सकिरहेको छैन । यसको कारण के होला ?
— दुवै पक्ष वार्ताका लागि गम्भीर बन्नु आवश्यक छ ।
० समस्या त्युका त्युँ रहँदा संसद्को काम कारबाहीमा कस्तो समस्या परिरहेको छ ?
— मुलुकका मुख्य समस्याहरू तत्काल समाधान गरिएन भने स्वभाविक रूपमा यसको असर त सबै ठाउँमा पर्छ । हाम्रो काम संसद् ठिक ढंगले चलाउने हो । अब यसका लागि छिट्टो समस्या समाधान गरी शान्त वातावरण बनाउने जिम्मा त नेताहरूकै हो ।
० मधेश आन्दोलनका ११ बुँदे एजेण्डाप्रति तपाईंको धारणा के छ ?
— नयाँ संविधान धेरै राम्रो बनेको छ । केही विषयमा समस्या देखिएको छ । ती विषय दुवै पक्ष बसेर टुंग्याउनुपर्छ । दुवै पक्ष लचिलो भएर वर्तमान समस्या समाधान गर्नुपर्छ ।
० मधेशका मुलभूत समस्याहरू के के छन् ?
— सीमाङ्कन बाहेक अरू त लगभग सम्बोधन भइसकेका छन् । कुरा सीमाङ्कन अडकिएको छ । दुवै पक्ष बसेर यो विषय पनि टुंग्याउनुपर्छ ।
० सीमाङ्कनको विषय टुंग्याउनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइयो । तर, यो संयन्त्र पनि विस्तार हुन सकेको छैन नि ?
— सबैको आ–आफ्नो स्वार्थ छ । निस्वार्थ भएर अगाडि नबढेसम्म समस्याको समाधान हुँदैन । मुलुक र नेपाली जनताको हितका लागि सबै नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थ छाडेर समाधानतिर लाग्नुपर्छ ।
० मधेशकेन्द्रित दलले मधेशमा दुई प्रदेश हुनुपर्छ भन्दाखेरी यसलाई विखण्डनको खतरा भनेर भन्न थालिन्छ । यसमा तपाईं के भन्नुहुन्छ ?
— प्रदेश बन्दा देश विखण्डनतिर जान्छ भन्ने कुरा मलाई लाग्दैन । एक, दुई अथवा तीन प्रदेश भए पनि मुलुक विखण्डन हुन्छ जस्तो मलाई लाग्दैन । भारतकै उदाहरण लिँदा पनि त्यहाँ थुप्रै प्रदेश छन् । तर, विखण्डनतर्फ त गएको छैन नि । नेपालमा जति पहाडी समुदाय राष्ट्रवादी छन्, त्यति नै मधेशहरू पनि राष्ट्रवादी छन् । भारतसँग तराईको सीमा जोडिएको छ । मधेशीहरूले आफ्नो भूभागको रक्षा गर्दै आएका छन् । त्यसैबाट प्रमाणित हुन्छ कि मधेशीहरू कति राष्ट्रवादी छन् । नेपाल भूमि प्रति मधेशीको कस्तो धारणा रहेछ भन्ने कुरा पनि यसबाट प्रष्ट हुन्छ ।
० मधेश आन्दोलनका माग सम्बोधन गर्नु वास्तवमा जटिल काम हो ?
— मधेशी नेताहरूबीच पनि को ठूलो बन्ने लडाइँ छ । उनीहरू मधेशको मसिहा बन्न खोजेका छन् । उनीहरूले पनि आफ्नो व्यक्तिगत स्वार्थ छोडेर लचक हुनुपर्छ । यता, सरकार पक्ष पनि लचक भएर अगाडि बढ्नुपर्छ । खासमा यो ठूलो समस्या होइन । दुवै पक्षले थोरै लचकता अपनाउने हो भने छिट्टै यो समस्या समाधान हुन्छ । दुवै पक्षले निष्पक्ष राष्ट्रवादीको भावना राखेर आ–आफ्नो निजी स्वार्थ छोडेर वार्तामा बसे समस्याको समाधान हुन्छ ।
० सुर्खेतमा आन्दोलन भयो, त्यसबेला त्यहाँको समस्या तत्काल सम्बोधन गरियो । तर, मधेशमा त्यत्रो दिनसम्म आन्दोलन चल्दासमेत सम्बोधन गरिँदैन । यसलाई मधेशीसँगको विभेदको अर्को उदाहरण भन्न मिल्छ ?
— यो त सम्बन्धित व्यक्तिहरू सोधे राम्रो हुन्छ । म यो भन्न असमर्थ छु ।
० पछिल्लो समयमा मधेशीसँगको विभेदको स्तर कस्तो पाउनुभएको छ ?
— त्यो त पहाडी नेताहरूले पनि भन्दै आएका छन् कि मधेशीसँग विभेद भइरहेको छ । माओवादीले पनि भन्दै आएको छ कि मधेशीसँग धेरै अन्याय भइरहेको छ । त्यसपछि मधेशीलाई विश्वासमा लिन कांग्रेस र एमालले पनि भन्न थाले कि मधेशीसँग विभेद भएको छ ।
० नश्लका आधारमा विभेद गर्ने काम अहिले घट्दै गएको हो ?
— यो नेपालमा मात्र होइन, विश्वका थुप्रै मुलुकमा यस्तो समस्यामा छ । कालोलाई गोरोले हेप्ने, बहुसंख्यकले अल्पसंख्यकलाई हेप्नेलगायतका कुरा सबै देशमा कुनै न कुनै रूपमा भएको देखिन्छ । नेपालमा पनि केही उच्छृंखल तत्व छन्, यसले यस्ता कार्यलाई निरन्तरता दिएका छन् । तर, मधेशीलाई हेप्ने कुरामा धेरै नै कमी आएको छ ।
० मधेशीसँग विभेदको सुरूवात कहिलेबाट हुन थालेको तपाईंले महसुस गर्नुभएको छ ?
— २०४६ सालपछि नै यस्तो देखिएको हो । पञ्चायतकालमा यस्तो अवस्था थिएन । सबै मिलेर बसेका थिए ।
० बढाउने काम कसले गरिरहेका छन् त ?
— पहाडी र मधेशी शीर्ष नेताहरूकै कारण यो समस्या समाधान भइरहेको छैन । जनताको कुनै दोष छैन । जनता मिलेर बस्न खोजेका छन् । जनताबीचमा पहाडी र मधेशी भन्ने छैन । नेताहरूकै कारण मधेशी र पहाडीबीचको खाडल बढेको हो । हाम्रो देशमा आध्यात्मिक, राष्ट्रवादी र इमान्दार नेताको आवश्यकता छ ।
० मधेश आन्दोलन पहिचानको लडाइँ हो कि अधिकारको लडाइँ हो ?
— कतिपय अवस्थामा मधेश आन्दोलन ठिक छ भने कतिपय अवस्थामा गलत पनि छ । आन्दोलनका विभिन्न स्वरूप देखिएका छन् । कहीं तोडफोड भएको छ भने कहीं शान्तिका साथ आन्दोलन भएको छ । अशान्त तरिकाले गरिएको आन्दोलनलाई कसैले पनि ठिक भन्दैन । शान्त तरिकाले आन्दोलन गर्नुपर्छ । त्यस्तै, आन्दोलनमा सरकारले दमन ग¥यो भने त्यो पनि ठिक होइन । सहज तरिकाले माग राख्न दिनुपर्छ । हिमाल, पहाड र तराईका जनताले शान्ति चाहेका छन् ।
० २०६४ मा मधेश आन्दोलन भएको थियो । अहिले पनि आन्दोलन चलिरहेको छ । मधेशीले पटक–पटक किन आन्दोलन गर्नु परिरहेको होला ?
— मधेशी जनता आफ्नो अधिकारका लागि सडकमा आएका छन् । उचित मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्छ ।
० मधेशीलाई प्रायः आरक्षण कोटा मात्र सीमित पारिन्छ । खुला प्रतिस्पर्धाबाट मधेशीहरू नगण्य मात्रा मात्र चुनिन्छन् । पछिल्लो समयमा नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा पनि यस्तो अवस्था देखियो । यसको कारण के होला ?
— अहिलेको संविधानमा प्रष्ट गरिएकै छ । समानुपातिक समावे ीगर्ने भनेर संविधानमा प्रष्ट गरिएकै छ नि ।
० व्यवहारमा त्यस्तो देखिएको छैन नि ?
अहिले संविधान लागू भएको छैन । संविधान पूर्ण रूपमा लागू भएपछि स्वभाविक रूपमा सबैले स्थान र पहुँच पाउने छन् ।
० नेपाल र भारतको सम्बन्धलाई कुन रूपमा लिनुभएको छ ?
— नेपाल र भारतको सम्बन्ध सदियौंदेखिको हो । नेपाल र भारतका कसैले पनि सम्बन्ध बिगार्न खोजेका छैनन् । दुई देशबीचको सम्बन्ध राम्रो हुनु नै सबैका लागि हितकर हुन्छ । (मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)
No comments:
Post a Comment