आज भारत जाँदै प्रधानमन्त्री ओली, नयाँ शक्तिको ६ बुँदे सुझाब
काठमाडौं । ६ दिने औपचारिक भ्रमणका लागि आज शुक्रबार प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा ओली भारत भ्रमणमा जान लागेका हुन् ।
दुई देशबीचको चिसोपन कम गराउन भ्रमणमा जान लागेको प्रधानमन्त्री ओलीले बताएका छन् । नेपालमा संविधान जारी भएपछि नेपाल र भारतबीच तिक्ततापूर्ण सम्बन्ध भएको थियो । तराईमा आन्दोलनरत मधेसी मोर्चालाई अगाडि सारेर भारतले नेपालमाथि नाकाबन्दी गरेपछि दुई देशबीचको सम्बन्ध झनै चिसिएको थियो ।
कुनै एजेन्डा छैन
भारत भ्रमणमा जाने अघिल्लो दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित ‘मिडिया ब्रिफिङ’मा बोल्दै प्रधानमन्त्री केपी ओलीले भारत डोको बोकेर माग्न जान नलागेको भन्दै अहिलेको भ्रमण एजेन्डाविहीन भएको बताए । भारत भ्रमण जटिल परिस्थितिमा हुन गइरहेकाले एजेन्डाविहीन भएको उनको भनाइ थियो ।
‘म डोको बोकेर माग्न जान लागेको होइन, त्यसकारण एजेन्डाविहीन भ्रमण आफँैमा सबैभन्दा बढी गाह्रो एजेन्डा भएको भ्रमण हुन्छ,’ प्रधानमन्त्री ओलीले भने । पुरानो र ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई सुधार गर्ने नै मुख्य एजेन्डा भएको ओलीको भनाइ थियो ।
भ्रमणका तीन उद्देश्य
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ६ दिने राजकीय भ्रमण तीनवटा उद्देश्य राखेर हुन लागेको प्रधानमन्त्री ओलीको भनाइ थियो । पहिलो उद्देश्य भारतसँग केही महिनायता बढेको अविश्वास र असमझदारीको भ्रम कम गरी मित्रवत् व्यवहार र सम्बन्ध विकास गर्ने रहेको उनले बताए । दोस्रो भारतीय लगानीकर्तालाई नेपालको आयोजनामा लगानी गर्न ढुक्क बनाउने र तेस्रो नेपाल भारतको बहुआयामिक सम्बन्धलाई सबल बनाउने उद्देश्य रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
विवादास्पद सम्झौता हुँदैन
प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा कुनै पनि विवादास्पद सम्झौता वा काम नगर्ने बताए । भारत भ्रमण माग्न जान लागेको नभई मित्रतालाई सबल बनाउन जान लागेकाले केही लिएर पनि नआउने ओलीको भनाइ थियो । ‘भारत भ्रमणबाट नेपाललाई कुनै नोक्सानी हुँदैन, मित्रता हुनु नै सबैभन्दा ठूलो लाभ हो, त्यसकारण हामी कुनै सम्झौता, सहमति गर्न खोजिरहेका छैनौँ,’ ओलीले भने ।
कसैको कार्ड खेलिँदैन
नेपालले भारतसँग चिनियाँ कार्ड र चीनसँग भारतीय कार्ड खेलेर दुई देशबीच तिक्तता नबढाउने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘मलाई तास खेल्न आउँदैन, त्यसैले कार्ड पनि खेलिँदैन,’ ओलीले भने । ओलीले वर्तमान सरकार इमानमा विश्वास गर्ने भएकाले भारतसँगको सम्बन्ध पनि कूटनीतिमा भन्दा बढी इमानमा चल्ने बताए ।
प्रधानमन्त्रीलाई बोलाउनु संविधानको स्वागत हो
संविधानसभाले बनाएको संविधानअनुसार निर्वाचित प्रधानमन्त्रीलाई राजकीय भ्रमणसहित निमन्त्रणा गर्नु नै भारतले नेपालको संविधानलाई स्वागत गर्नु रहेको ओलीको भनाइ थियो । भाषा जस्तोसुकै प्रयोग गरेर भए पनि संविधान संशोधनपछि भारतले स्वागत गरेको उनको दाबी थियो ।
‘कसैले श्रीमती भन्छन्, कसैले जहान भन्छन्, कसैले धर्मपत्नी भन्छन्, जस्तो भाषा प्रयोग गरे पनि एकैजनालाई सम्बोधन गरेको हो, त्यसैले नेपालको संविधानबारे भारतले पनि त्यस्तै गरेको हो,’ ओलीले भने ।
समावेशी संविधानसभाको ९० प्रतिशत सभासद्को सहमतिमा बनेको समावेशी र लोकतान्त्रिक अभ्यासबाट बनेको संविधानबारे भारतले नबुझी टिप्पणी गरेको पनि उल्लेख गरे । ‘कसैको कहिलेकाहीँ फ्याट्ट बोलिदिने बानी हुन्छ, त्यही भएको मात्रै हो,’ ओलीले भने ।
प्रधानमन्त्रीको ब्रिफिङमा परराष्ट्रमन्त्री अनुपस्थित
प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले जानकारी गराउने भन्दै बिहीबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै थियो । उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्रीको भारत भ्रमणबारे ब्रिफिङ गर्ने तयारी थियो । सञ्चारकर्मीलाई १२ बजेतिर खबर गरिएको थियो ।
तर, प्रधानमन्त्री ओली आफैँले २ बजे प्रधानमन्त्री कार्यालयमा ‘मिडिया ब्रिफिङ’ गर्ने खबर सञ्चारकर्मीसम्म पुग्यो । त्यसपछि साढे २ बजे परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन स्थगित भएको खबर सञ्चारकर्मीलाई गरायो । प्रधानमन्त्रीले गर्ने ‘मिडिया ब्रिफिङ’मा परराष्ट्रमन्त्री कमल थापा पनि आउने कुरा थियो, तर आएनन् ।
५२ सदस्यीय प्रतिनिधिमण्डल
प्रधानमन्त्री केपी शर्मा ओली श्रीमतीसहित ५२ सदस्यीय प्रतिनिधिमण्डल लिएर भारतको राजकीय भ्रमणमा जानेछन् । प्रतिनिधिमण्डलमा दुईपटक गरेर २९ व्यवसायी पनि सहभागी हुनेछन् । मन्त्रिपरिषद्ले ४६ सदस्यको भ्रमण स्वीकृत गरे पनि ६ जना थपिएर बुधबार सााझसम्म ५२ जनाको नाम आएको नयाादिल्लीस्थित दूतावासका एक अधिकारीले बताए ।
प्रधानमन्त्रीको टोलीमा १७ जना भारत पुग्नेछन् । ९ फागुनमा अन्य १२ जना जानेछन् । व्यवसायी र सरकारी प्रतिनिधिमण्डल गरी प्रतिनिधिमण्डलको संख्या अहिले नै ८१ पुगेको छ । उता जानेको संख्या थपिने क्रम जारी छ । भारतले ओलीको भ्रमण राजकीय रहेको औपचारिक पुष्टि गर्दै बुधवार सााझ उनको विस्तृत कार्यक्रम तालिकासमेत सार्वजनिक गरेको छ ।
नयाँ शक्तिको ६ बुँदे सुझाब
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणका क्रममा नेपालका तर्फबाट प्रस्तुत गर्न भन्दै नयाँ शक्तिले ६ बुँदे सुझाब दिएको छ । नयाँ शक्तिका अन्तर्राष्ट्रिय विभाग संयोजक नवराज सुवेदीले बिहीबार विज्ञप्ति प्रकाशित गरी सुझाब दिएको जनाएका हुन् ।
उनले व्यापारिक वस्तुको ढुवानीमा दुवै सरकारले कुनै अवरोध नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने, व्यापार घाटा कम गर्नका लागि निर्यात कुण्ठित गर्ने उद्देश्यबाट लगाइएका सबै गैरमहसुल अवरोध हटाइनुपर्ने, हिमपर्वत संरक्षणमा लगानी गर्ने दायित्व पूरा गर्न भारतलाई आग्रह गनुपर्ने सुझाब दिएको छ ।
त्यस्तै, सन् १९५० लगायतका दुईपक्षीय सन्धि सम्झौतालाई दुवै देशका हितमा पुनरावलोकन गर्ने गरी यसअघि गरिएको प्रस्ताव कार्यान्वयन गर्नुपर्नेलगायतका सुझाब नयाँ शक्तिको छ ।
( योगेश ढकाल र नयाँ पत्रिका )
No comments:
Post a Comment