सिरहा, फागुन ७ – कार्यकर्तासँग भेटघाट गरेर फर्किरहेको अवस्थामा एकीकृत नेकपा माओवादी नेता विश्वनाथ साह सहित तीन जना माथि साँघातिक आक्रमण भएको छ । सिरहाको मझौलिया–१ बाट पार्टीका केन्द्रीय परिषद् सदस्य फुलगेन नायक तथा जिल्ला सदस्य उपेन्द्र साहलाई भेटघाट गरेर फर्किरहेको वेला बाटोमा गाडीलाई मोटरसाइकलमा आएका समूहले अरङ्ग गाउँमा आक्रमण गरेको नेताले बताउनु भएको छ । आक्रमणबाट घाइते भएका जिल्ला सदस्य उपेन्द्र साहको अवस्था चिन्ता जनक रहेको जनाएको छ । स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारको लागि धरान लगिएको नेता साहले जानकारी दिनुभएको छ । फागुन ३ गते साह र नायकको घरमा नेपाली काँग्रेसका नेता एवम् सांसद गणेश मण्डलले गुण्डाहरु भिडाएर घरमा आक्रमण गरेको बुझ्न तथा भेटघाट गर्न साह त्यहाँ पुगेको बताइएको छ । त्यहाँबाट फर्किने क्रममा साह सवार बा. ९ च ६६९४ नम्वरको गाडीमा सँगै आएका उपेन्द्र र फूलगेन नायकलाई अरङ्ग –५ मा नकाव लगाएर करिव ४५ जनाको समूहमा आएका व्यक्तिहरुले गुण्डाको शैलिमा कुटपीट गरेको साहले बताउनु भयो । ती समूहले गाडी रोकेर साह र नायकलाई गाडीबाट थुतेर निर्धात कुटपीट गरेको जनाएको छ । नजीकै रहेको मस्जितबाट मानिसहरु आक्रमण स्थलमा भेला भएपछि आक्रमणकारीहरु भागेको जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकृत डीएसपी एकनारायण कोइरालाले घटनामा संलग्नहरुको खोजी भईरहेको जनाएको छ । उहाँले घटनाको विषयमा जानकारी पाउना साथ खोजतलास सुरु गरिएको बताउनु भयो । यता नेता साहले संसद मण्डल र स्थानीय प्रहरीको मिलेमत्तोमै नियोजित रुपमा घटना घटाएको आरोप लगाउनु भएको छ ।
No comments:
Post a Comment