/ Undifined / [Marganugami Daily] ज्याला बढाउन माग गर्दै हरुवाचरुवाको प्रदर्शन

[Marganugami Daily] ज्याला बढाउन माग गर्दै हरुवाचरुवाको प्रदर्शन

कालेश यादब
सिरहा, १८ वैशाख । यहाँका हरुवाचरुवाहरुले कृषि मजदुरीको ज्याला सरकारी दररेटअनुसार निर्धारण गर्न माग गरेका छन् ।
ट्रेड युनियनसँग सम्बन्धित विभिन्न संघ संगठनहरुले श्रमिक अधिकारको आवाज उठाइरहँदा सिरहाका हरुवाचरुवाहरुले भने आफ्नो कृषि मजदुरीको ज्याला सरकारी दररेट अनुसार निर्धारण हुन नसकेको गुनासो गरे । विभिन्न गाउँका हरुवाचरुवाहरुले १२९ औं श्रमिक दिवसको अवसरमा मंगलबार धनगढी बजारमा प्रदर्शन गर्दै आफूहरुको हक अधिकारका लागि राज्यको संयन्त्र र सरोकारवाला निकाय मौन रहेको गुनासो पोखे ।
सामुदायिक विकास मञ्चको आयोजनामा भएको प्रदर्शनमा कृषि श्रमिकका ज्याला गाउँपिच्छे फरक भएको उनीहरुको गुनासो थियो । गाउँ गाउँबाट आएका हरुवाचरुवाले खेतबालीमा प्रयोग हुने कुटो, कोदालो, हँसिया र हलो प्रदर्शन गरेका थिए ।
जमिनदारको खेतमा काम गर्नुपर्दा मुस्किलले प्रतिदिन १२ किलो धानको दरले न्यून ज्याला पाउँछौं धनगढीमाई–११ मुसहरनियाकी सीता सदाय मुसहरले भनिन् 'दिनभर खट्दा १२ किलो धानको बजार मूल्य २ सय ४० रुपैयाँ मात्र हुन्छ, यसरी गिरहत (मालिक)ले हामीलाई श्रमशोषण गरेका छन् । उनले महिला र पुरुषको ज्याला बराबरी नरहेको गुनासो पोखिन् । 'खेतमा सँगै काम गर्ने पुरुषलाई चार सयसम्म ज्याला दिन्छन उनले भनिन् 'तर महिलालाई २ सय ५० मात्र ।
'गिरहतले भनेपछि काम गर्नैपर्ने बाध्यता छ  मुसहरनियाका श्याम सदाय मुसहरले भने, 'मजदुरी पनि गराउँछन् भने अनुसार ज्याला दिन हिचकिचाउँछन् । उनका अनुसार जिल्ला दररेट अनुसार खेतधनी ज्याला दिन मान्दैनन् ।
जिल्ला दररेट निर्धारण समिति सिरहाले श्रमिकको ज्यालाबापत प्रतिदिन पाँच सय रुपैयाँ निर्धारण गरेको छ । समितिले निर्धारण गरेको दररेट अनुसार निर्माण मजदुरले मात्र ज्याला पाउने गरेका छन् । दररेट पुस्तिकामा कृषि श्रमिकको छुट्टै ज्यालाको व्यवस्था नभएको भन्दै रोजगारदाताले समितिको व्यवस्थाअनुसार ज्याला दिँदैनन् ।
हरुवाचरुवा सशक्तिकरण अभियानमा संलग्न सामुदायिक विकास मञ्चका अध्यक्ष विनोद चौधरीले कृषि मजदुरको ज्याला सरकारी तवरबाट निर्धारण नभएसम्म उनीहरुको आर्थिकस्तर उठ्न नसक्ने बताए । उनले भने 'कृषि श्रमिकको न्यूनतम ज्याला पाँच सयभन्दा कम भयो भने अन्याय हुन्छ ।
जिल्ला दररेट निर्धारण समिति सदस्य सचिव तथा जिल्ला प्राविधिक कार्यालय सिरहाका कार्यालय प्रमुख पशुपति साहले समितिले निर्धारण गरेको श्रमिकको ज्याला सबै किसिमको श्रममा लागि भएको जानकारी दिए । तथ्यांक अनुसार सिरहामा १८ हजार १ सय ६० घरधुरी हरुवाचरुवा परिवार छन् । उनीहरुको मुख्य समस्या थातथलो र कृषि मजदुरीको उचित ज्याला पाउन नसक्नु हो ।
ज्यालासँगै 'थातथलो को सकस प्रदेश २ का सिरहा, सप्तरीलगायत धनुषामा बसोबास गर्दै आएका बधुवा कृषि मजदूर भूमिहिनहरुको 'थातथलो  मुख्य समस्या बनेको छ । वर्षैदेखि बस्दै आएको ऐलानी र गाउँ व्लक जग्गाको स्वामित्व नभएकै कारण बसोबासको समस्या भएको हो ।
सिरहाको पोखरभिण्डा–४ स्थित दलित चमार बस्तीका ३५ घर परिवार बसोवास गर्दै आएको जग्गा कसैले 'मेरो हो  भन्ने दाबी गरेका त छैनन, तर बिजुली पानीजस्ता आधारभूत भौतिक सुविधाबाट बञ्चित छन् । वर्षौंदेखि बस्दै आएको जग्गाको स्वामित्वमा नरहेका कारणले बस्तीका उनीहरुले स्थानीय निकायबाट पाउने सेवा सुविधाबाट समेत बञ्चित गरिएको स्थानीय मागैन राम चमारको दुखेसो छ ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 5/01/2018 09:53:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment