सिरहा, १० वैशाख । महिलाहरुको स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न सुरक्षित गर्भपतन कार्यक्रमलाई व्यवस्थित तरिकाले संचालन गराउने सिरहा नगरपालिकाका वडाध्यक्षहरुले प्रतिबद्धता जनाएका छन् ।
'सुरक्षित गर्भपतन सेवा महिलाको प्रजनन अधिकार हो नाराका साथ जिल्ला स्वास्थ्य कार्यालय सिरहाले गरेको जनप्रतिनिधिहरुसँग सुरक्षित गर्भपतन सेवा सम्बन्धी परिचयात्मक कार्यक्रममा बोल्दै त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
असुरक्षित रुपमा गराएको गर्भपतनका कारण महिलाहरुको स्वास्थ्य जोखिमलाई बढाएको सिरहा नगरपालिका–१२ नम्बरका वडाध्यक्ष सत्रुधन साहले बताए । वडा स्तरमा यस्ता विषयमा छलफल तथा व्यवस्थापनका कार्यक्रम चलाउने कार्यनीति ल्याइने उनले जनाए ।
'सुरक्षित रुपमा गर्भपतन गरायो भने महिलाको स्वास्थ्य सुरक्षा बढाउने, सिनपा–१ का वडाध्यक्ष महेश यादवले भने,'सुरक्षित गर्भपतनले आमा÷बच्चा र घरका अन्य सदस्यलाई सहुलियत हुने छन् । वडामा बनाइएको बार्षिक बजेटमै सुरक्षित गर्भपतन सम्बन्धी कार्यक्रमको लागि छुट्याउन प्रभावकारी पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
चेतना अभाका कारण विपन्न दलित वर्गका महिलाहरुले असुरक्षित रुपमा गराउने गरेको गर्भपतनका कारण ज्यादै स्वास्थ्य जोखिम खेप्न बाध्य भइरहेको हुँदा त्यसलाई न्यूनीकरण गर्न प्रभावकारी पहल गर्ने सिरहा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नागेश्वर यादवले बताए । वडागत रुपमा सुरक्षित गर्भपतनलाई व्यवस्थित गरियो भने सबै वर्गका महिला तथा वडाबासीलाई फाइदा पुग्ने उनले तर्क गरेका छन् ।
महिला तथा किशोरीहरुको स्वास्थ्य सुरक्षामा प्रत्यक्ष सरोकार राख्ने भएकोले प्रशासनिक तवरबाट हुन सक्ने हरेक प्रकारका सहयोग गर्न तयार रहेको सिरहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेत प्रसाद उप्रतीले प्रतिबद्धता व्यक्त गरे ।
सुरक्षित गर्भपतनका फाइदा, स्तरीयता, नीति, मापदण्ड, निर्देशिका, सेवा अध्ययन तथा मूल्यांकन लगायतका सान्दर्भिक विषयलाई जोडेर थमकुमरी कुवर, तेजकुमरी श्रेष्ठ र सरोजकुमार यादवले सहजीकरण प्रस्तुती दिएका थिए ।
अनिच्छित गर्भलाई कम÷न्यून गर्न सहयोग, महिला तथा किशोरीहरुको प्रजनन स्वास्थ्य प्राप्त गर्न अधिकारलाई सुनिश्चित कसरी गर्ने, मातृ मृत्युदरलाई कम, प्रजनन स्वास्थ्य सम्बन्धी, रुग्णता कम गर्ने लगायतका उद्देश्यबारे समेत सहजीकरण मार्फत प्रष्ट्याइएको प्रशिक्षक सरोज कुमार यादवले बताए ।
'आएको बजेट सिध्यो,'जिल्ला स्वास्थ्य कार्यालयकी तेजकुमारी श्रेष्ठ भन्छिन्,'सेवा लिन चाहेको महिलाहरुको संख्या बढ्यो छ । बजेट अभावमा सेवा प्रभावित हुन सक्ने अवस्था आउन सक्छ । आएकै बजेटबाट सबैलाई सेवा दिन हामीले प्रयास गरिहेको उनले जनाइन् । महिलाहरुको स्वास्थ्यसँग सम्बन्धित सुरक्षित गर्भपतनका कार्यक्रममा बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई उनले आग्रह गरिन् ।
गएको तीन वर्षमा सिरहा जिल्लाभरीमा १ हजार ५ महिलाले सुरक्षित रुपमा गर्भपतन गराएको वाइपास नेपालकी प्रतिनिधि एवम् प्रशिक्षक थमकुमारीले बताइन् । जिल्लामा सूचीकृत भएको १६ वटा स्वास्थ्य संस्थामा मात्र गर्भपतन गराउन चाहने महिलाहरुलाई उनले आग्रह गरिन् ।
गर्भवति महिलाको इच्छाले १२ हप्ता, जवरजस्ती करणी वा हाडनाता करनीबाट रहन गएको १८ हप्तासम्मलाई सुरक्षित रुपमा गर्भपतन गराउन सक्ने कानूनी व्यवस्था रहेको उनले बताइन् । तर महिलाको इच्छा विपरित दवाव दिएर गर्भपतन गराउन नमिल्ने बताउदै उनले भनिन्,'डर त्रासले गराएको गर्भपतन कानूनी अपराध हुन जान्छ । त्यस्तो अवस्थामा कारवाही हुन्छ ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 4/24/2018 01:33:00 AM
No comments:
Post a Comment