एस.के. शान
सप्तरी, १५ चैत्र । अन्तरजातीय प्रेम विवाह भाड्ने योजनामा मुछिएपछि कंचनरुप नगरपालिका विवादमा परेको छ । कंचनरुप नगरपालिका ९ का मनिष साह र कविताकुमारी रामले तीन महिनाअघि प्रेम गरेर विवाह गरेका थिए । तर, मनिषको परिवारले यो बिहे स्वीकार गरेन ।
मनिष र कवितालाई अलग गराउने अनेक प्रयास असफल भएपछि केटाका परिवार नगरपालिकाको न्यायिक समितिमा आएको थियो । तर, समितिले आफ्नो क्षेत्राधिकार नै भएको विषयमा सुनुवाइ मात्र गरेन, फैसला नै सुनाएको छ । तर, केटाकेटी अलग हुन नमानेपछि केटापक्ष कुटपिटमा उत्रिँदा स्थानीय जनप्रतिनिधि मुखदर्शक बनेका छन् । इजलासको निर्णय–अलगअलग राख्नू मनिषका पिता शिबनारायणले उजुरी दिएपछि न्यायिक समितिले मनिष, उनका पिता शिवनारायण, कविता र उनका पिता बिनोद रामलाई पत्र काटेर बोलाइएको थियो ।
मंगलबार दुबै परिवार इजलास हाजिर भए । छलफलपछि इजलासले निर्णय सुनायो, 'अहिले केटा र केटीको विवाह गर्ने उमेर नरहेकाले आ–आफ्नो परिवारको जिम्मा लगाउनू । मनिषको उमेर १९ बर्ष र कविताको उमेर १६ बर्ष रहेको भन्दै न्यायिक समितिको इजलासले दुबैलाई परिवारजनले जिम्मा लिने फैसला सुनाएको छ । युवतीको उमेर विवाह योग्य भएपछि युवकको जिम्मा लगाउने निर्णय समितिको छ ।
तर, मनिष र कविता यो निर्णय मान्न तयार छैनन् । तर, स्थानीय तहको न्यायिक समितिको आदेश नमानेको भन्दै मनिषलाई उनका बुबाले कुटपिट गरेका छन् । 'उनीहरुले हामी अलग भएर बस्न नसक्ने बताए लगत्तै मनिषका पिता शिवनारायणले इजलासकै समयमा छोरालाई कुट्न थाले कविताका पिता बिनादले भने, 'आफ्नै छोरालाई छतबाट फ्याँक्न लाग्दा केहि व्यक्तिहरुले बचाएका थिए ।
श्रीमान मनिषलाई बचाउन जाँदा आफूलाई पनि कुटपिट गरेको कविताले बताइन् । मनिषका पितासहितको समूहले आफूहरुलाई कुटपिट गर्दा पनि नगरपालिकाका पदाधिकारीहरुले रोक्ने प्रयास समेत नगरेको उनीहरुको भनाइ छ । 'साँझतिर आएको प्रहरीको सहयोगमा आफूहरु घर जान सकें बिनोदले भने । गर्भवती कविता र मनिषको प्रेम मनिष र कविताका अनुसार उनीहरु ६ महिनादेखि प्रेममा थिए र तीन महिनाअघि भागी बिहे गरेका हुन् । सुनसरीको इनरुवास्थित राधाकृष्ण मन्दिरमा विवाह गरेपछि कोठा भाडामा लिई दुई महिना सँगै बसे । यस क्रममा मनिषा गर्भवती पनि भइन् ।
छोराले दलित युवतीसँग विवाह गरेर भागेको थाहा पाएका शिबनाराययण उनको खोजी शुरु गरे । इनरुवामा रहेको थाहा पाएपछि उनी आफ्नो छोरालाई नियन्त्रणमा लिई करिब दुई साता सुनसरीमै आफन्तको क्रममा राखे । कविताले सुनसरी र सप्तरीका प्रहरीलाई गुहारेकी थिइन् । मनिष जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थित भए । विवाहका लागि उमेर नपुगेपनि कविता गर्भवती रहेको भनेपछि दुबैलाई सँगै बस्न दिइयो । तर, मनिष आफ्नो घर गएनन् ।
बुबाले कुटपिट गर्ने गरेको भन्दै कविताकै घरमा बस्न थाले । मनिषका पिता शिबनारायणले भने उच्च अदालत जनकपुर इजलास राजविराजमा आफ्नो छोराको अपहरण गरेको भन्दै कविताका परिवारबिरुद्व रिट दायर गरे । प्रतिउत्तर दिने क्रममा कविताको परिवारले अपहरण गरेको नभई राजीखुसी बिहे गरेको बताए । कविताले आफू गर्भवती पनि रहेको मेडिकल रिपोर्ट पनि पेश गरे ।
अदालतले अपहरणको दाबी अस्वीकार र्गयो । तर, शिबनारायणले अदालत प्राङ्गणमै छोरालाई कुटपिट गरेको भन्दै बिनोदले भने, 'त्यहाँ उपस्थित भएकाहरुले बचाए । मनिष र कवितालाई अलग पार्ने योजना विफल भएपछि शिवनारायणले नगरपालिकाको न्यायीक समितिमा पुगेका थिए ।
उप प्रमुख भन्छिनः त्यस्तो केहि भएको छैन इजलासकै समयमा प्रेम विवाह गर्ने जोडीलाई कुटपिट गरिएको घटनाबारे सोध्दा कंचनरुप नगरपालिकाकी उप प्रमुख निरु पोखरेलले भने यस्तो केहि नभएको बताएकी छन् । उनले भनिन, 'त्यस्तो केहि घट्ना भएन् । हामीले एकमतका साथ निर्णय सुनायौं । उनले बाँकी कुरा आफूलाई भन्न नमिल्ने र नगरपालिकाको प्रबक्तासँग बुझ्न भनिन् ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 3/30/2018 09:27:00 PM
No comments:
Post a Comment