जनकपुरधाम, १४ चैत्र । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पुरातन सोच तथा परम्परागत शैलीबाट शिक्षा प्रदान गरिने भएकाले शिक्षामा विकास हुन नसकेको बताएका छन् । मुख्यमन्त्री राउतले अहिलेको युग विज्ञान र प्रविधिको भएकाले शिक्षा पद्धति पनि आधुनिक र व्यावसायिक नै बनाउनुपर्नेमा जोड दिएका छन् ।
एन प्याब्सन प्रदेश समितिले बुधबार जनकपुरमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले पारम्परिक शिक्षाले प्रदेश र देशको विकास हुन नसक्ने बताउँदै आधुनिक र व्यावसायिक शिक्षातर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । परम्परागत शिक्षा अन्तर्राष्ट्रियस्तरमा बिक्न नसक्ने भएकाले अब प्राविधिक र गुणस्तरीय शिक्षातर्फ प्रदेश सरकार अग्रसर हुन लागेकोमा निजी क्षेत्रको आवश्यक सहयोग हुनुपर्नेमा जोड दिए । सामुदायिक विद्यालयले मात्र शिक्षाको गुणस्तर सुधार हुन नसक्ने बताउदै मुख्यमन्त्रीले सबैले मिलेर गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताए ।
प्रदेश २ मा शिक्षाको अवस्था दयनीय रहेको बताउँदै मन्त्रीले शिक्षाको ज्योतिबाट टाढा रहेका दलित विपन्न परिवारका बालबालिकाका लागि प्रदेश सरकारले विशेष शिक्षा दिने योजना ल्याउन लागेको बताए । मुख्यमन्त्रीले भने, प्रदेश २ ले गरिबी र अशिक्षाले विरासतमा पाएको छ, त्यसको समाधानको बाटो खोज्दै समृद्ध प्रदेशको निर्माणका लागि सबैलाई हातेमाले गरेर अघि बढनुपर्छ । कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साह, आर्थिक मामिला तथा कानुनमन्त्री विजय यादव, राज्यमन्त्रीहरू योगेन्द्र राय यादव, उषा यादव, सरोजकुमार सिंहसहित एन प्याब्सनका पदाधिकारीहरूको उपस्थिति थियो ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 3/28/2018 10:18:00 PM
No comments:
Post a Comment