जनकपुरधाम ।
जनकपुर स्थित नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको जनक हजारी विद्यापीठ (क्याम्पस) को जग्गालाई किर्ते कागजात बनाई निजी रुपमा विक्रि गर्ने प्रयास भएको छ ।
२०४७ सालमै स्थापना भई संस्कृत अध्ययन अध्यापनको केन्द्र बनेको विद्यापीठको जग्गालाई जनकपुरकै एक महन्थले किर्ते कागजातहरु बनाई मोही खडा गरेर विक्रि गर्न खोजेको आरोप लगाईएको छ ।
क्यापस संचालनका लागि गुठी संस्थान केन्द्रिय कार्यालयद्धारा २०५०÷०२÷०३ को निर्णय अनुसार संस्थान अन्तर्गतको बराही कुटीको सिट नं. १३५४÷२५ को किता नं.२८ तथा सिट नं.१३५४÷१४ को किता नं. ६२ लगायत विभिन्न किताहरुको जम्मा ६ बिग्घा ३ कठ्ठा ५ धुर जग्गा प्रदान गरेको हो ।
उत्त जग्गा गुठी संस्थान अन्तर्गतको १५०० विग्घा तैनाथी राजगुठी अन्तर्गतको जग्गा रहेको हुनाले त्यसमा बेचबिखन, मोही वा अन्य बन्दोबस्त गर्न कानूनले बन्देज गरेको छ ।
तर, राजगुठी अन्र्तगतको क्याम्पसको सो जग्गा मध्ये अढाई बिग्घालाई २०६८ सालमा रत्नसागर मठका महन्थ वैकुण्ठ दासले तत्कालीन गुठी संस्थान जनकपुरका प्रमुख राजबाबु पाण्डेसंग मिलोमतो गरि फर्जी कागजात तयार गरी नापीको कागजातमा संरक्षक वैकुण्ठ दास भनि लेखाएर बिक्रि गर्ने प्रयास गरेका थिए । तर, क्याम्पस प्रशासन, स्थानीयवासी तथा नागरिक समाजको पहल र विरोध पश्चात गुठीका हाकीम पाण्डेले भूलवस त्यसो हुन गएको भन्दै सार्वजनिक माफि मागि २०६८÷१२÷१२ गते रत्नसागरका महन्थ दासले तयार पारेको फर्जी प्रमाणलाई बदर गरि पुनः सो जग्गा क्याम्पसकै रहेको प्रमाणित गरेका थिए ।
२०२६ सालको नापी र २०४६ सालको नापीमा समेत सो जग्गा गुठी संस्थान अन्तर्गतको बराही मठकै नाउँमा दर्ता रहेको प्रमाण सुरक्षीत रहेको छ । सो जग्गाको श्रेस्तामा जग्गा धनी महलमा रत्नसागर नाउँ उल्लेख नरहेको तथ्य नापी कार्यालय धनुषा च.नं. ३३९ प.सं. ०६९÷०७० मिति २०६९÷५÷२७ र नापी विभाग योजना तथा अनुगमन शाखा को प.सं. ३÷१६(क १७) ०६९÷७० च.नं. २२७ मिति २०६९÷७÷१४ को पत्रद्धारा समेत प्रमाणित भएको छ ।
जग्गा क्याम्पसकै रहेको भन्ने विषयमा सम्पूर्ण प्रमाण भएको हुनाले सो जग्गामा तत्काल केही सटरहरु निर्माण गरि क्याम्पसलाई आर्थिक उपार्जनका लागि सहयोग पुग्ने योजनाका साथ ६ महिना पूर्व निर्माण कार्य अघि बढाईएपछि उच्च अदालत जनकपुरले क्याम्पसको नाममा पत्र काटि जग्गामा निषेधाज्ञा जारी गरेको हो ।
महन्थ दासले अर्को फर्जी कागजात तयार पारी उत्त जग्गा रत्सागर मठकै पूजारी धनुषाको बसहिया निवासी अशोक कुमार शर्माको नाममा मोही कायम रहेको भनि फर्जी कागजात तयार पारी अदालतमा मुद्दा हालेको र क्याम्पसद्धारा भएको निर्माण कार्य रोक्न लगाएको विद्यापीठका निमित्त प्राचार्य विजय कुमार चौधरीले जानकारी गराएका छन् ।
महन्थ दासको प्रभावका कारण ६ महिना पूर्व अदालतद्धारा गरिएको निषेधआज्ञामा हालसम्म एउटा पनि पेशिनै नभएको र पेशि तय गरिएको दिनमा मिति सारिने काम मात्र हुदैं आएको चौधरीले बताए ।
एकातर्फ अदालतबाट निषेधआज्ञा दिलाएर क्याम्पसको निर्माण कार्य रोकिएको हो भने अर्को तर्फ महन्थ दासले त्यो जमिनलाई विक्रि गर्न केही सर्वसाधारणहरुसंग बैनाबट्टा समेत गरिसकेको जानकारी आफूहरुलाई प्राप्त भएको हुनाले यस जग्गाको संरक्षण गरिदिन हुन सम्बन्धीत सबैलाई सहयोगको अपिल गरेका हौं चौधरीले भने ।
यसप्रकार किर्ते कागजात बनाएर सार्वजनिक सम्पक्तिलाई निजी बनाउन खोजेकालाई कार्वाहीको लागि आफुहरुले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराउन सम्पूर्ण कागजातहरु बुझाएपनि प्रहरीले डेढ महिना बितिसक्दा पनि मुद्दा दर्ता नगरेको चौधरीले जानकारी गराए ।
यसप्रकार सार्वजनिक जग्गालाई हड्पेर निजी बनाउने काम जनकपुरमा मन्दिरका महन्थ र पुजारीहरुबाट हुनु नयाँ कुरा नरहेकोले अबको दिनमा यस्तो नहोस् त्यसप्रति सबै वर्ग एक हुनुको विकल्प नरहेको नेपाली कांग्रेस प्रदेशसभा सदस्य रामसरोज यादव बताउँछन् । प्रदेश सरकार गठन भईसकेको अवस्थामा यस प्रदेशमा रहेका सार्वजनिक महत्वका संस्थान र जग्गाहरुको संरक्षणको मुख्य जिम्मेवारी समेत प्रदेश सरकारको भएको हुनाले विद्यापीठको जग्गा संरक्षणका लागि मुख्यमन्त्री तथा अन्य सम्बन्धीत निकायमा पहल गरिने यादवले बताए ।
यता, महन्थ दासले भने आफुले गुठीको कुनै पनि जग्गा बेच्ने वा निजि बनाउने प्रयास नगरेको र आफुमाथि लगाईएको सबै अपराधहरु झुठो रहेको बताएका छन् । दासले भने, जसले जग्गा संरक्षणको नाटक गरिरहेका छन्, उनीहरुकै मिलोमतोमा जग्गा बिक्रि भईरहेको छ ।
जनकपुरमा मठमन्दिरका महन्थहरुबाटनै सयौं विग्घा सार्वजनिक जग्गा निजी रुपमा बिक्रि भईसकेको छ । महन्थ वैकुण्ठ दासले मन्दिरका जग्गा बेचेर आफ्नो नाममा वैकुण्ठ नगरनै बसाएको भएपनि त्यसलाई हटाउन कहि कतैबाट कुनै पहल भएको छैन् । नवविचार सप्ताहिक मा सामाचार रहेको छ ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/19/2018 08:26:00 PM
No comments:
Post a Comment