समग्रसंदेश सम्वादाता सिरहा, १५ फागुन । राज्यले आधारभूत तहको विद्यार्थीलाई नियमित कक्षामा टिकाईराख्न र 'ड्रप आउट' रोक्ने उदेश्यले संचालित दिवाखाजा कार्याक्रम प्रधानाध्यापक तथा शिक्षाका प्रतिनिधीलाई कमाउ धन्दा बनेको छ । विद्यार्थीसंख्या धेरै देखाएर प्रधानाध्यापक र विद्यालय निरिक्षकको मिलेमत्तोमा विद्यार्थीको खाजा रकममा लुट मच्चाउँदै आएको हो ।
जिल्ला शिक्षा कार्यालयबाट मिर्चैया १२ स्थित आधारभूत विद्यालय सिकरौनले ८४ जना विद्यार्थीको लागि दिवा खाजा वापत पहिलो किस्तामा एक सय ११ दिनको एक लाख ३९ हजार ८ सय ६० रुपैयाँ निकासा पाएको छ । एक जना विद्यार्थी बरावर १५ रुपैंयाको दरले शिक्षाले रकम निकासा दियो । तर, विद्यालयमा नियमित १० जना विद्यार्थी मुश्किलले उपस्थित हुन्छन् ।
थारैमात्र विद्यार्थीसंख्या उपस्थित हुँदा खाजाको ठूलो रकम बचत हुन्छ । तर विद्यालयले सबै विद्यार्थी उपस्थिती कागजमा देखाएर रकम झ्वाम पार्छन । नियमित विद्यार्थी उपस्थितीको आँकडा हेर्ने हो १६ हजार ६ सय ५० रुपैयाँले खाजा पुग्छ । यसरी कम्तिमा एक लाख ३२ हजार २ सय १० रुपैयाँ बचत हुनआउँछ । बचत रकम प्रअ र विद्यालय निरिक्षकको मिलेमतोमा दुरुपयोग हुने गरेको छ ।
गत आइतबार सञ्चारकर्मी टोली विद्यालय पुग्दा ३ जना विद्यार्थीलाई अघिल्तिर राखेर प्रधानाध्यापक पुरुषेतम भुरेर र एक शिक्षीकाले पढाई रहनु भउको थियो । प्रअ भुरेर गाउँमा विवाहको भतेर भइरहेकाले विद्यार्थीको उपस्थिति कम रहेको जिकिर गर्दै अरु दिन अलि बढि विद्यार्थी उपस्थित हुने बताउनु भयो । विद्यालयमा दुई शिक्षक, बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र कार्यालय सहयोगी गरी चार जना कार्यरत छन् ।
सिकरौन मात्र होइन सुखिपुर १० स्थित जनता आधारभूत विद्यालय बलही नगुंर्वाले तीन सय ७० जना विद्यार्थीको लागि जनही १५ का दरले ६ लाख १६ हजार ५० रुपैयाँ निकासा पाएको छ । यस विद्यालयमा नियमित ७० देखि १२० जना सम्म विद्यार्थी उपस्थित हुने गरेको विद्यालयका प्रधानाध्यापक विजय नारायण यादव आफै स्विकार्नुहुन्छ ।
सरदर सय जनाकै उपस्थित रहने गरेपनि यहाँ दिवा खाजाको चार लाख ४९ हजार ५ सय ५० रुपैयाँ बचत हुन्छ । विद्यालयको अन्य स्रोत केही नभएकाले यसैबाट बचेको रकमले विद्यालय चलाउने गरेको उहाँले बताउनु भयो । विद्यार्थीको चाप धेरै भएकोले निजी स्रोतमा एक जना शिक्षकलाई पनि यही रकमबाट तलब खुवाउने गरेको प्रअ यादवले सुनाउनु भयो । विद्यालयमा एक निजी श्रोत सहित ५ शिक्षक कार्यरत छन् ।
त्यसैगरी, आधारभुत विद्यालय, नरहा गापा ५ पानवारीले दिवा खाजाको लागि २ सय २४ विद्यार्थीका लागि १ सय ११ दिनको ३ लाख ७२ हजार ९ सय ६० रुपैयाँ निकासा पाएको छ । तर विद्यालयमा दलित समुदायका विद्यार्थी बढी भएकाले दैनिक २० देखि २५ जनामात्र विद्यार्थी उपस्थित हुने गरेको स्थानीय विनोद लामाले बताउनु भयो । 'शिक्षक आफैपनि नियमित विद्यालय आउँदैनन्' उहाँले भन्नुभयो, 'वरपर सवै दलित (मुसहर) समुदायका नानीहरु रहेकाले पनि न्यून उपस्थिति रहन्छ ।'
विद्यालयमा एकजनामात्र शिक्षक सूर्य नारायण मण्डल, कार्यालय सहयोगी आशा लामा र बाल विकास केन्द्रकी सहयोगी कार्यकर्ता कार्यरत छन् । शिक्षा कार्यालय धाउनु पर्ने र अन्य व्यवस्थापनमा लाग्नुपर्ने भएकाले विद्यालयमा कम समयमात्र उपस्थिती हुनसकेको उहाँले सफाई दिनुभयो ।
सिकरौन, सुखिपुर र नरहाका यी आधारभूत विद्यालय मात्र होइन दिवा खाजा कार्यक्रम लागू भएका जिल्लाका २ सय २५ विद्यालयमध्ये अधिकांशमा प्रअ र विद्यालय निरीक्षकको मिलेमतोमा खाजा रकममा ब्रम्हलुट भइरहेको छ ।
जिल्ला शिक्षा कार्यालयको तथ्यांक अनुसार दुई सय २५ विद्यालयका ३२ हजार तीन सय ३७ विद्यार्थीका लागि १ सय ११ दिनको खाजा खुवाउन १५ रुपैयाँको दरले पहिलो किस्ता ५ करोड, ३८ लाख ३२ हजार रुपैयाँ निकासा भएको छ । यसमध्येका ठूलो रकम दुरुपयोग हुने गरेको छ । शिक्षाले आर्थिक वर्ष ०७३÷७४ मा दुई सय ३३ विद्यालयका ३२ हजार पाँच सय ५५ विद्यार्थीका लागि पाँच करोड ६० लाख ४४ हजार ६ सय २० रुपैयाँ दिवा खाजाका लागि निकासा दिएको थियो ।
कार्यालयका अनुसार जिल्लामा पाँच कक्षा सम्म संचालन भईरहेका दुई सय ९८ आधारभुत विद्यालय र ६४ मदरसा छन् । जसमध्ये शिक्षाले १० विद्यालयमा विभिन्न आन्तरिक विवादका कारण खाजा रकम खर्च नभएको भन्दै वेरुजु ठहर गरेको थियो । तथ्यांक अनुसार प्रावि गढगम्मा ८ हजार, प्रावि हरकट्टी २५ हजार, नरसिंह प्रावि जिझौल २५ हजार, प्रावि मेन्हा २० हजार, राजा प्रावि नरगी ३ हजार, जनकल्याण आधारभुत प्रावि नवराजपुरले १५ हजार, आधारभूत विद्यालय ललशैयाले ५८ हजार, आधारभुत विद्यालय लरकन्हा, लवकाटोलले एक लाख २६ हजार र जनता आधार विद्यालय चतरी सलमपुरको नाममा ४६ हजार वेरुजु भएको देखाएको छ । बाँकी सवै विद्यालयहरुले पठाएको रकम सम्पूर्ण खर्च गरिसकेको विवरण जिल्ला कार्यालयमा पेस गरेको छ ।
जिल्ला शिक्षा कार्यालयका लेखाअधिकृत केशव कार्की विद्यालयले पठाएको विद्यार्थी संख्याको आधारमा रकम निकासा दिने गरेकोे बताउनु भयो । 'विद्यालयसम्म हाम्रो पहुँच हुँदैन' उहाँले भन्नुभयो, 'विद्यालयका हेडमास्टर र विनिहरुले पठाएको प्रतिवेदनको आधारमा निकासा दिन्छौं ।'
यता धेरैजसो प्रधानाध्यापकहरु शिक्षा कार्यालयलाई निश्चित रकम नवुझाई खाजा कार्यक्रम नै नदिने गरेको बताउँछन् । नाम नवताउने सर्तमा एक प्रधानाध्यापकले भने, 'तपाईहरुलाई सवै थोक थाहा छदैछ, जिल्लाले कुनै पनि कार्यक्रम पार्नको लागि निश्चित रकम लिन्छ अनि मात्र कार्यक्रम पर्छ, यो पनि त्यस्तै हो ।'
जिल्ला शिक्षा कार्यालयबाट खटिएका विद्यालय निरिक्षक तथा स्रोत व्यक्तिहरुले खाजाको विलभर्पाई पास गराउन 'नजराना' नचढाई पासै नगर्ने आरोप प्रधानाध्यापकहरुको छ । नाम नखुलाउने सर्तमै अर्का एक शिक्षकले भन्नुभयो, 'जे गर्दा पनि विनि, स्रोत व्यक्तिलाई नख्वाई हुँदैन, हामीले कहाबाट ल्याउने ? त्यसैबाट बचाएरै गर्ने हो उनीहरुलाई पनि दिने हो ।'
उता, विद्यालयका स्रोत व्यक्तिहरुले शैक्षिक गुणस्तर विकास लगायत पाठयोजना आपूmहरुले हेर्ने भएकाले आर्थिक विषयमा कुनै सरोकार नै नरहने बताउँदै आएका छन् । 'दिवा खाजा रकमको विद्यालय व्यवस्थापन समिति र प्रअले लेखा जोखा राख्छन्' स्रोत व्यक्ति भोगेन्द्र यादवले भन्नुभयो,े 'उहाँहरुले आफै अडिट गराउँछन, त्यसमा हाम्रो कुनै सरोकार नै हँदैन ।'
हाजिरी रजिष्टरमा भएको नामभन्दा कमै विद्यार्थी उपस्थित हुने गरेको औल्याउँदै उनले विद्यार्थी उपस्थितको आधारमा खाजाको रकम कसरी मिलाउँछन त्यो हामीलाई कुनै जानकारी नहुने बताउनु भयो ।
यता जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले सवैविद्यालयमा आफै जान नसक्ने भन्दै विनी र शिक्षकहरुले ल्याएकै आर्थिक प्रतिवेदनलाई सदर गर्ने गरेको जनाए ।
--
Posted By Samagrasandesh to Samgrasandesh.com at 2/26/2018 10:27:00 PM
No comments:
Post a Comment