/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


प्रदेश २ मा प्रदेशसभा बैठकको तयारी पूरा

Posted: 03 Feb 2018 06:54 AM PST

जनकपुरधाम, २० माघ- प्रदेश २ को प्रदेशसभा बैठकको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बस्ने पहिलो प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य लगनलाल चौधरीले गर्नेछन् । जनकपुरको विगतमा शैक्षिक तालिम केन्द्रको भवनलाई प्रदेशसभाको भवन बनाइएको छ ।
जनकपुरको शैक्षिक तालिम केन्द्रको दोस्रो तलामा सभामुख र पहिलो तलामा उपसभामुखको निवास बनाइएको छ । दुवैको कार्यालय भुइँतलामा छ । मुख्यमन्त्री, मन्त्रीहरुको कार्यालय र निवासका लागि जनकपुर चुरोट कारखाना (जचुकालि)का भवन धमाधम व्यवस्थापन हुँदैछन् ।
जचुकालिको ३३ बिघा जग्गामध्ये २५ बिघा उद्योग मन्त्रालयले गृह मन्त्रलायलाई प्रदेश सरकारको संरचनाका लागि दिएको छ । त्यहाँ पहिले नै निर्माण भएका भवनमा कार्यपालिका लागि छुट्याइएको छ । शहरी विकास भवन डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर गंगाप्रसाद यादवका अनुसार मुख्यमन्त्रीको अवासका लागि जचुकालिको गेष्ट हाउस मर्मतसम्भार भइरहेको छ ।
जचुकालिकै क्षेत्रीय बिक्री–वितरण केन्द्रको भवनलाई मुख्यमन्त्रीको कार्यालय बनाउन लागिएको छ । भवनमा अहिले रङरोगनको कार्य भइरहेको डिभिजन प्रमुख यादवले जानकारी दिए । यादवका अनुसार प्रदेश सरकारको मन्त्रीको अवासका लागि जचुकालिका निर्देशक बस्ने १३ वटा क्वार्टरको मर्मतसम्भार भइरहेको छ ।
प्रदेश प्रमुखको आवास जचुकालिका महाप्रबन्धक बस्ने अवासलाई तोकिएको छ ।त्यसैगरी, मुख्यसचिव, सचिव र कर्मचारीहरूको आवास जनकपुर चुरोट कारखानाका विभिन्नस्तरका क्वार्टर भवनमा व्यवस्था गरिँदै छ । अहिले भवनहरूको मर्मतसम्भार, लाइट तथा रङरोगनको काम भइरहेको यादवले बताए । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आह्वान गरेको प्रदेशसभा अधिवेशन माघ २१ गतेदेखि शुरु हुँदैछ ।
पहिलो बैठकका लागि अन्तरिम कार्यविधि, सभामुखको निर्वाचन मिति घोषणा लगायतका कार्यसूची तय भएका छन् । सर्वदलीय बैठकमा प्रदेशसभाको पहिलो बैठकको कार्यसूचीका अतिरिक्त सदस्यहरूको ड्रेसकोड निर्धारण, परिचयपत्र तथा लोगो, सभाकक्षमा सिट निर्धारण, दर्शक तथा विशेष पास, ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने प्यानल निर्माण, कार्यव्यवस्था परामर्श समिति गठन लगायतका विषयमा छलफल भएको छ ।
बैठकले संघीय संसद् सचिवालयले पठाएका सहसचिव वंशीराज पौडेललाई तत्काल प्रदेश सचिवालयको सचिवको जिम्मेवारी दिने निर्णय भएको छ । 
ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने प्यानलमा सभामा प्रतिनिधित्व गर्ने सबै दल र एकजना स्वतन्त्र सांसदलाई समेत सहभागी गराई ७ सदस्यीय बनाउने समझदारी भएको छ । १३ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाउन पनि दलहरू सहमत भएका छन् ।
संसदीय अभ्यासमा बैठक सञ्चालनमा सभामुखलाई सहयोग गर्न यस्तो समिति बनाइन्छ । सभाका सदस्यहरूले आफूमध्येबाट एकजना सभामुख चयन नगर्दासम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्छन् । प्रदेशसभाको सभामुख र उपसभामुख फरक लिंग र दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण सभामुखको निर्वाचनपछि मात्रै उपसभामुख निर्वाचनको मिति घोषणा हुनेछ ।
यस्तो छ 'ड्रेस कोड'
बैठकले सभामुख, उपसभामुख तथा प्रदेश सभा सदस्यले आ–आफ्नो सांस्कृतिक पहिचान दर्शाउने गरी पोशाक लगाउने र साथमा कफी (खैरो) रङको कोट वा बन्डी लगाउनुपर्ने अनिवार्य व्यवस्था भएको छ । प्रदेशसभामा खटिने मर्यादापालकले सरकारले निर्धारण गरेको नीलो रङको कोट र पाइन्ट तथा सेतो रङको सर्ट लगाउनुपर्ने निर्णय भएको पनि सचिव पौडेलले जानकारी दिए ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बिहीबार सम्पन्न सर्वदलीय बैठकले कफी रंगको कोटलाई 'ड्रेसकोड' तोक्ने निर्णय गरेको हो । प्रदेशसभा बैठक व्यवस्थापनमा खटिने मर्यादापालकहरू भने सफारी सुटमा देखिनेछन् । सांसदहरूको लोगोमा जानकी मन्दिरसँगै मधेसको खेतबारी झल्किने तस्बिर राखिने भएको छ ।
प्रदेश सांसदहरूले प्रयोग गर्ने लोगो पछि निर्धारण गरिनेछ । तर, बैठकमा फोरमका प्रदेशसभा सदस्य रामआशिष यादवले माथि जानकी मन्दिर, तल हरियो फाँट र किसानको फोटो झल्किने गरी लोगो तयार गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
सर्वदलीय बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रका तीनरतीन जना सांसद सहभागी थिए । ज्येष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, सहसचिव वंशीराज पौडेलसहितका प्रदेश प्रमुख कार्यालयका अन्य कर्मचारीहरू पनि सहभागी थिए । बैठकमा प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ को मस्यौदामा समेत छलफलभएको थियो ।
प्रदेश संसद् सञ्चालन हुने शैक्षिक तालिम केन्द्रको सभाकक्ष सानो भएकाले प्रवेश पास प्राप्त सर्वसाधारणका लागि केन्द्र परिसरमा प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था मिलाइने तय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईंले बताए ।
प्रदेश सभा सञ्चालनका लागि सभामुखको निर्वाचन नभएसम्म पाँच सदस्यीय अध्यक्षमण्डल गठन गर्नुपर्ने हुनाले त्यसका लागि पाँच दलबाट एक–एकजनाको नाम मागिएको छ । बैठकमा उपस्थित प्रदेश सांसदहरूलाई प्रदेश सभामा कसरी बस्ने, कसरी आफ्ना भनाइ राख्ने विषयमा समेत प्रशिक्षण दिइएको पौडेलले बताए । बैठकमा उपस्थित सांसदहरूले पार्टीका अन्य सांसदहरूलाई सो विषयमा जानकारी गराउनेसमेत निर्णय भएको उनले बताए ।
प्रदेश सभाको पहिलो रोमा बढी सिट ल्याउने पार्टी, दोस्रो रोमा दोस्रो हुने पार्टीका सासदहरूले बस्ने निर्णय भएको छ ।
प्रदेश सभाको पहिलो बैठकको १५ दिनभित्र प्रदेश सभामुख छनोट गर्नुपर्ने प्रावधान रहेको छ । त्यसका लागि १३ सदस्यीय कार्य–व्यवस्था परामर्श समिति र प्रदेश सभा सञ्चालनसम्बन्धी नियमावली मस्यौदा समिति गठन गर्ने विषयमा समेत बैठकमा छलफल भएको सचिव पौडेलले बताए ।

डा. सीके राउतलार्इ गजेन्द्र गजुरको खुला प्रेमपत्र

Posted: 03 Feb 2018 06:33 AM PST











प्रिय वैज्ञानिक डा.राउत ज्यू, 
नमस्कार!
महोदय,
मातृभूमि, मातृभाषा र पहिचान प्रतिको स्नेह र जिम्मेवारी स्वीकार गर्दै केही पाइलाहरु चाल्न थालेको एउटा नव युवकले तपार्इं सितको प्रेमको कारण यो प्रेमपत्र लेख्दै छ। यसलाइ भावनात्मक भन्दा पनि वास्तविकताको धरातलमा लेखेको बुझ्नु होला।
यहाँले लेख्नुभएका ग्रन्थहरु मैले कैयौं पटक पढेको छु। तपाइको पुस्तकहरूबाट मैले मेरो मातृभूमिको बारेमा धेरै कुरा थाहा पाएँ। तपाइलाइ त मैले मेरो कल्पनाको 'भगिरथ' नै बनाएको थिएँ। तपाइको शब्दहरूले मभित्र पहिचान बोध अनौठो भाव सिर्जना गर्यो र मैले आफ्नो वास्तविक पहिचान थाहा पनि पाएँ। तपाइ प्रतिको कृतज्ञता र समर्पण नै थियो, मैले मेरो व्यक्तिगत डायरीमा तपार्इंको फोटो झुन्ड्याएको थिएँ र तपार्इंको एउटा अटोग्राफको लागि परिक्षा छोडेर सभा स्थल सम्म पुगें। मेरो अहोभाग्य, तपार्इंको अटोग्राफ पाएँ पनि। सायद त्यहि बेला देखि म तपाईंको प्रेममा परेको हुनुपर्छ। एउटा युवायुवती बीचको आकर्षण भन्दा पनि कयौं गुणा गहिरो प्रेम थियो मेरो।मैले अहिलेसम्म सर्वाधिक अध्ययन गरेको पुस्तक नै तपाइको आत्मकथा हो। डा. राउतजी, यो सत्य हो कि धेरै युवाले तपाइलाइ आफ्नो आइडल मान्छन्। यो पनि सत्य हो कि त्यस समूहमा कुनै बेला म पनि पर्थे।
अब कुरा लेख्छु वर्तमानको! म फेसबुकमा तपार्इंको फलोवर पनि हुँ। तपार्इंका हरेक पोस्ट पढ्नु दिनचर्या हो मेरो। त्यही क्रममा जनवरी २२ देखि तपाइले लेख्दै आउनुभएका पोस्टहरू पढ्दै गएपछि मन सम्हाल्न नसकेर म तपार्इंलाइ प्रेमपत्र लेख्न बाध्य भएको हुँ।
सन् २०१० मा लिखित दस्तावेज(आत्मकथा) पक्कै झुटो नहोला। मैले पढ्दा मलार्इ झुटो जस्तो लाग्दैन पनि। तपार्इंकै आत्मकथाका केही लाइनहरू यहाँ ल्याएको छु। १.̎मैले मैथिलीमा भाषण गरेको र आफ्नो मातृभाषाको लागि जूनून त ममा पछि मात्रै पैदा भएको थियो। २-साहित्यमा नीकै श्रेष्ठ मानिने आफ्नो मातृभाषाको एक पाना पनि पढ्ने अवसर पाएको थिइन। ३-हामी धोती कुर्ता र पगडी लाउछौ ४- बुवा अक्सर विद्यापतिको गीत गाउनु हुन्थ्यो । म पनि सिक्न चाहन्थे । ५- आमा र दिदीले मलाइ हाम्रो पर्व- तिहार, लोक गीत वारेमा ज्ञान दिनु भयो। ६- मैले मिथिला कला कोहबरको प्रेजेन्टेसन गरेको थिएँ।̎
तपाइको यी भनाइहरूले हाम्रो मातृभाषा कति धनी छ भन्ने कुरा र तपाइमा आफ्नो मातृभाषा प्रति कति माया छ भन्ने प्रष्ट हुन्छ।
मानिसहरु भन्छन्, सीके राउत व्यक्ति मात्रै हैन बिचार हुन्। तर विगत केही दिन यता सीके राउत पनि बदलिएको र विचार पनि बदलिएको स्पष्टीकरण तपाइले आफैं दिँदै हुनुहुन्छ। म जस्तो तपाइको प्रेमीले भने तपाइको देखेको बदलाव यति मात्र छ कि हिजो तपाइलाइ आफ्नो मातृभाषा मैथिलीप्रति गर्व थियो र आज मैथिली मेरो मातृभाषा होइन भन्दै हुनुहुन्छ। बदलाव यति मात्र छ कि हिजो जुन भाषाप्रति तपाइमा जूनून थियो, आज त्यसलाइ तपाइ बचपनाको नाम दिँदै हुनुहुन्छ।
हिजो आफ्नो आत्मकथामा जे जे लेख्नुभयो, आज त्यो सबै भुलवश लेखिएको भन्दै हुनुहुन्छ। तपाइमा आएको बदलाव पछि तपार्इंले नै लेख्नुभएका पोस्टहरूको वाक्य यसप्रकार छ,
१ ̎छुवाछुतका भाषा, जातिय भाषा है मैथिली - सामन्तोका नाजायज गर्भ, बलात्कार हैं जो तुम्हारे पेटमे डाल दिया हैं, २-विद्यापति मैथिलीकी महाकवि नही थें। ३-मधेश पर लादा गया है मिथिला और मैथिली, ४.वर्तमान मधेशमे मिथिला है हि नही - जबरजस्ती पाग पहनाना, तिरहुतिया लिपी लादना, जब मैथिली लोक सेवा होगा तो सारी नौकरी छिन लेगा,केवल ३ प्रतिशत की भाषा है मैथिली̎
तपाइले भनेजस्तै मैथिली सामन्तहरूको नाजायज गर्भ र बलात्कारको उपज हो र वर्तमान मधेशमा मिथिला छैन भने कसरी तपाइले आफ्नी आमा र दिदीबाट मिथिला संस्कारका गीत, भजन, चित्रकला आदिको ज्ञान प्राप्त गर्नुभयो? के सामन्त वर्गले नै तपाइको परिवारलाइ सिकाएको थियो? तपाइलाइ मैथिली बोल्न सिकाउने र मैथिली बोल्न लगाउने पनि सामन्त वर्ग नै हो? तपाइको बुबालार्इ कुन मैथिल सामन्तले विद्यापतिको गित गुनगुनाउन भनेका थिए? मैथिलीको फकडाहरु आमाबाट सुन्दा किन दंग पर्नु हुन्थ्यो? तपाइलाइ नै भन्नुभएको छ कि मधेशको भूमि कुनै साधारण भूमि होइन। यस भूमिले जनक, सीता, बुद्धलार्इ जन्माएको छ। अहिले भन्दै हुनुहुन्छ मिथिला मधेशमा छैन। फेरि कहाँबाट आए मधेशमा सीता अनि जनक? मिथिला मधेशमा नभए जनकपुरधाम मधेशमा कसरी छ? राजा सलहेश, दिना भद्री, कृष्णा-राम आदि मिथिलाका लोक देवता हुन कि होइनन्? या यिनीहरू पनि सामन्त नै हुन्? यिनको गाथा कुन भाषामा छन्? जनस्तरले स्वंयम त्यसको उत्तर दिनेछन्।
हिजो तपाइमा क्या रूतबा थियो। अहिले तपाईंलाई परिचालित भनिन्छ! तपाइलाई माथिबाट आज्ञा आए जोसुकै माथि तपाइले आक्रमण गर्न सक्नुहुन्छ अरे! दु:खको कुरो समयले यो सत्य हो भनेर देखाउँदैछ।
तपाइ gold medalist, भाषामाथि advance research गर्नु भएको छ अरे। र तपाइको रिसर्चले तपाइलाई मैथिली सामन्तको भाषा हुन् भन्ने प्रमाणित गरेको छ अर! हिजोसम्म हामी गैर-सामन्तीहरूको भाषा मैथिली थियो। अब तपाईले भनेपछि मधेशी भाषा भएको छ। तर डा. राउत जी, म जतिको सामान्य मान्छेले बुझेको कुरा त यति हो कि मिथिला क्षेत्रमा बोलिने प्राय: सबै बोलीहरु मैथिली हुन्। बरू तपाइले मलाई अब यति प्रष्ट पारिदिनुस कि अवधी,पच्छिमी थारु, भोजपुरी, मगही आदि झैं तपाइले भनेको मधेशी भाषाको सुचिमा मैथिली पर्छ कि पर्दैन?
कुरा आयो ठेंठीको! राउतजी, मैले बुझेसम्म अछि, छथिन, छथि,थीक आदि जोड्दा मात्र मैथिली हुने होइन। यौ, छै, हे रौ, हवे, हइ,गे,भ्या गेलै पनि शुद्ध मैथिली हो। खासमा यिनीहरू भनेको ठेंठी मैथिली हो। जहाँ जे ठाउँ अनुसार क्रियापदको प्रयोग हुन्छ, त्यो भाषाको विशेषता हो। म गैरसामन्ती मैथिली भाषीको अर्को प्रश्न तपाइलाइ मैथिली छुवाछुतको भाषा कसरी भयो ? तपापाइको परिवारमा मैथिलीमा कुरा हुँदा परिवारले गर्यो छुवाछुत? या गाउँका मान्छेले मैथिली बोल्ने बित्तिकै छुवाछुत वा कठोरता देखाउन थाल्दथे? के गाउँका बाँकी मानिसहरू मैथिली बोल्दैनथे? भाषाले पनि छुवाछुत हुने हो र? त्यो पनि मधेशमै? डा. राउतज्यू, हामी मधेशी मधेशमा बोलिने हरेक भाषाको सम्मान गर्छौं। र मैथिली नै पुरै मधेशको भाषा होस् भनेर पनि कसैले भनेको त होइन नि। मैथिली मिथिलाको कामकाजी भाषा हुँदा तपाइलाइ के समस्या?
डा. राउतज्यू, तपाइका ती मैथिली प्रतिका क्रुर पोस्टहरूमा मेरा कमलसमान कोमल कमेन्टहरूले तपाइलाई किन विचलित बनायो? र आफ्नो फेसबुक पेजमा ब्लक गर्नुभयो। हुन पनि हो, ठूला मानिसको अगाडी सानो जहिले निरिह नै हुन्छ।
डा. राउतज्यू, तपार्इंको भगीरथी मेहनतबाट खडा गरेको साम्राज्यमा आफ्नै मातृभाषामाथिको आक्रमणले तपार्इं आफै कमजोर हुँदै गएको देख्दा सहानुभूति लाग्छ। आखिर कुरा मुटूको न छ। हिजो यही मुटुले तपार्इंलार्इ प्रेम गर्थ्यो। आज यही मुटु तपार्इंको कारणले दुखेको छ।
तपाइले कुनै एक वर्गलाई मात्र लक्षित गरेको भए गलत होलान् , होलान् । तर तपाइले त समग्र मिथिला र मैथिलीकै अपमान गर्नुभयो। आज मधेशमा मैथिल मैथिलमा फुट डाल्न खोज्नेले भोलि अरू क्षेत्रमा यस्तो गर्दैन भन्ने के छ? वैज्ञानिक राउतज्यू, शिष्टता बिनाको योग्यता बोझ हुन्छ। तपाइले मैथिली भाषाको नाममा मिथिलाकै विभिन्न जातजाति र हिन्दु मुस्लिमलाइ लडाउन खोजेको देख्दा मलाइ तपाइको गोल्डमेडल बोझ सरह भएको छ। तपाइ जातीय राजनीतिमा प्रवेश गरेको देख्दा मैले कुनै दिन तपाइसंग प्रेम भएको थियो भन्ने सम्झेर आफैमा लाज लागेर आउँछ।
खैर, यसलाई अन्यथा नलिनु होला। विषय र प्रसंग बाहेक अन्य अर्थ लागे क्षमा चाहन्छु। र कुनै व्राह्मण वा सामन्तले चिठ्ठी लेखेको वा लेख्न लगाएको भन्ने भ्रममा नपर्नुहोला।
तपाईंको फूटको राजनीति र मैथिली माथिको आक्रमणको विरूद्धमा तपाइको यो पूर्वप्रेमी सँधै उभिरहने छ भन्दै अहिलेलाइ यो पत्र टुँग्याउन चाहन्छु।
मिथिलाकी शान र मैथिलीको गौरव किशोरीजीसँग तपाइको सुस्वास्थ्य र प्रगतीको कामना गर्दछु।
तपाइको पूर्वप्रेमी
गजेन्द्र कुमार राय(गजुर)
हनुमाननगर कंकालिनी न.पा

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment