उदयपुर, ८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताएको छ ।
कटारी बजारस्थित त्रिवेणी मावि स्थापनाको ५० आँै वर्ष पुगेका अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सवको समापनका अवसरमा राष्ट्रपति भण्डारीले दक्ष जनशक्तिबाट मात्र कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योग क्षेत्रमा तीव्र गतिमा विकास हुन सक्ने बताए ।
विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिन सकेमा आगामी दिनमा नेपालबाट प्राविधिक शिक्षाका लागि अध्ययन गर्न जाने ठूलो जनशक्ति नियन्त्रण हुने उनले औँल्याए ।
कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले त्रिवेणी माविलाई प्रदेशकै नमूना विद्यालय बनाउन आजैदेखि पहल गर्ने घोषणा गरे । वरिष्ठ अधिवक्ता शम्भु थापा, विद्यालयका पूर्वसंस्थापक बलबहादुर राउत र स्वर्ण महोत्सव समितिका सदस्य सचिव तथा विद्यालयका प्राचार्य बालकृष्ण कार्कीले पनि मन्तव्य दिएको थियो । सो अवसरमा विद्यालयको स्मारिकाको विमोचन पनि गरिएको थियो । स्वर्ण महोत्सव यही फागुन १ गते शुरु भई आज समापन भएको हो ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 2/20/2018 07:12:00 PM
No comments:
Post a Comment