रौतहट, १३ माघ । धुर्मुस–सुन्तली फाउन्डेशनले रौतहटको सन्तपुरमा निर्माण गरिरहेको एकीकृत बस्तीका लागि आर्थिक सहयोग गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय गगन थापा र धनराज गुरुङले अपील गरेका छन् ।
एकीकृत बस्तीको अबलोकन गर्न पुगेका नेताद्धय थापा र गुरुङलाई हास्यकलाकार दम्पत्ति सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले झण्डै एक करोड रुपैया अपुग भएको जानकारी गराएपछि उनीहरुले निर्माणस्थलबाटै अपील गरेका हुन् । बस्ती निर्माता धुर्मुस, स्थानीय सांसदहरु र मेयरसँगै निर्माणस्थलबाटै गगन र धनराजले भिडियो अपील मार्फत् सक्दो सहयोग गर्न सवैलाई आग्रह गरेका छन् । अफ्टयारोमा परेका बेला मनकारी नेपाली दाजुभाई दिदीबहिनीहरुले विगतमा पनि दिल खोलेर सहयोग गर्नु भएको छ र अहिले पनि सहयोग गर्नुहुनेछ भन्ने हामीले पुर्ण विश्वास लिएका छौं, गगनले भनेका छन् ।
यही माघ २३ गते राष्ट्रपति विद्यादेवी भण्डारी मार्फत् स्थानीय ४७ मुसहर परिवारलाई बस्ती हस्तान्तरण गर्ने तयारी भएपनि आर्थिक अभावका कारण निर्माण कार्य पुरा हुन नपाउने चिन्तामा रहेका उनीहरुले सहयोगका लागि सवैसँग अपील गरेका हुन् । नेता थापाले सवै परिवारका एक एक जना सदस्यको समेत सहभागीतामा चाडपर्व, दिनरात, घामपानी नभनी लगातार खटेर काम गरेको भन्दै उनीहरुप्रति प्रशंसा र सम्मान प्रकट गरेका छन् । इच्छाशक्तिसँगै व्यवस्थापनको कौशलता, सक्रियता र निर्माण अवस्था देखेर आफुहरु अचम्मीत भएको गगनले भिडियोमा बताएका छन् ।
उनले फोटोमा वा भिडियोमा देख्दा भन्दा निर्माणस्थलमै पुगेर हेर्दा निकै फरक र चकित महशुष भएको बताएका छन् । आँट गर्यो भने गर्न सकिन्छ, इच्छशक्ति र व्यवस्थापन गर्ने क्षमता पनि हुनुपर्दछ भन्ने यो ठुलो प्रमाण हो, उनले भनेको छ । यस्तो अदभुत काम सम्पन्न गर्नका लागि सहयोग गर्नू थापाले पौने पाँच मिनेटको भिडियोमा पटक पटक अपिल गरेका छन् ।
आवासको हक भन्ने संवैधानिक व्यवस्था रहेको स्मरण गर्दै उनले संविधान कार्यान्वयन गर्न पनि घरविहिनहरुलाई घरको व्यवस्था गर्नु पर्ने सरकारको अनिवार्य दायीत्व रहेको बताएको छ । सहयोगका लागि नेता गुरुङले फेसबुक मार्फत् पनि अपील गरेको छ । बस्तीमा खिचिएको फोटोसँगै उनले लेख्नु भएको छ, 'यो सुन्दर कर्म मुलुककै लागि अनुकरणीय छ । यो बस्ती निर्माण पूरा गर्न अझै रु एक करोड अपुग रहेछ । कसरि सहयोग गर्न सकिन्छ लौ न जुटौं !
शितलहर र बाढी पहिरोबाट पिडित ४७ ओटा मुसहर परिवारलाई हस्तान्तरण गर्नेगरी बनाइएको नमुना बस्तीमा ४७ ओटा घरसँगै सामुदायीक भवन, मन्दीर, खेल मैदान, विद्यालय, भ्युटावर लगायतका संरचनाहरु पनि निर्माण गरिएको छ ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/27/2018 07:44:00 PM
No comments:
Post a Comment