/ Undifined / [Marganugami Daily] प्रदेश २ ः चिकित्सा पर्यटनको बलियो स्रोत

[Marganugami Daily] प्रदेश २ ः चिकित्सा पर्यटनको बलियो स्रोत

मिथिलेश यादब
लहान । हुनेखाने नेपालीहरु स्वास्थ्यमा समस्या भयो कि उपचारका लागि भारत दौडिहाल्छन् । तर छिमेकी मुलुक भारतका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्छन् । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा दैनिक आउने बिरामीमा करिब ६० प्रतिशत भारतका हुन्छन् ।
यो आँखा अस्पताल प्रदेश नम्बर २ का लागि 'चिकित्सा पर्यटन को बलियो स्रोत बनेको छ । चिकित्सा पर्यटनले लहान नगरको व्यापारलाई बढाएको छ । यो अस्पतालले यस क्षेत्रका करिब चारसय नागरिकलाई प्रत्यक्ष रोजगारी दिएको छ । 'यसबाट होटेल, लज र खुद्रे पसलको ब्यापारमा वृद्धि भएको छ । 'रोजगारीका अवसरहरु पनि सिर्जना भएका छन, अस्पताल प्रबन्धन अभिषेक रोशनले भने, 'कूल विरामीमा झन्डै ६० प्रतिशत भारतकै हुने गरेको अस्पतालको रेकर्डबाट खुल्छ ।
गुणस्तरीय, सस्तो र सबैखाले सहजताले उपचार गराउन आउनेमा बढी भारतीय हुने गरेको उक्त आँखा अस्पतालका प्रबन्धक रोशनले बताए । यो अस्पताल बिरामीले तिर्ने न्युन्तम शुल्क एवं दातृ संस्थाहरुको सहयोगले चल्छ । यस अस्पतालमा मुलुककै १५ उत्कृष्ट आँखा विज्ञसहित ३ सय २० चिकित्साकर्मी एवं प्रसासनिक कर्मचारी छन् ।
अहिलेसम्म कुनै विवादमा नपरेको यस अस्पतालमा वार्षिक जचाउन आउने बिरामीको संख्या ३ लाख ४५ हजार र शल्यक्रिया गराउनेहरुको संख्या करिब ६० हजार छ । गत वर्ष जचाउन आउने बिरामीको संख्या ३ लाख ३८ हजार ५ सय ४५ र शल्यक्रिया गराउनेहरुको संख्या ५४ हजार थियो । गत वर्षको तुलनामा यो तत्यांक निकै बढी हो ।
उक्त अस्पतालमा दैनिक औसत आउने ७ सय आँखाका बिरामीमा ४० प्रतिशतमात्र स्थानीय नेपाली हुन्छन् । पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्र्तगत नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित उक्त गैर नाफामूलक अस्पतालमा आधारभूत दृष्टि जाँचदेखि विश्वको अति विकसित अस्पतालमा मात्र उपलब्ध जटिल शल्यक्रियासम्म हुन्छ ।
यो आँखा अस्पतालमा मोतिया बिन्दु, जल बिन्दु, पर्दा (रेटिना) को रोग, कोर्निया (नानी) प्रत्यारोपण, अकुलोप्लास्टिक (आँखाको ढिक्कासम्बन्धी रोग), अकुलोप्रोस्थेसिस (कृत्रिम आँखा राख्ने), बालबालिकाको मोतिया बिन्दु र आँखाको डेढोपन (स्वीकन्ट) सम्बन्धी शल्यक्रिया, बच्चाको आँखासम्बन्धी सघन सल्यक्रिया यहाँ हुन्छ । यहाँ चश्माका ठाउँमा कन्टयाक्ट लेन्स राख्ने सेवासमेत उपलब्ध छ ।
बस्न लाग्ने खर्च, औषधिसहित मात्र १ हजार २ सय रुपैयाँमा मोतिया बिन्दुको शल्यक्रिया यहाँ हुन्छ । प्रबन्धक रोशनका अनुसार यस वर्ष मंगलबारसम्म शल्यक्रिया गराएका ५८ हजार ९ सय १७ गराएका आँखा बिरामीमा ७३ प्रतिशत मोतिया बिन्दुका र अन्यमा, रेटिना एवं जलबिन्दुलगायतका छन् ।
प्रबन्धक रोशनले भने, ४८ रुपैयाँ पुर्जी शुल्क तिरेपछि आँखाको सम्पूर्ण परीक्षण हुन्छ । 'नेपालमा मात्र नभइ अन्य देशको तुलनामा सबभन्दा कम मूल्य १२ हजार रुपैयाँमा रेटिनाको शल्यक्रिया गर्छौं । यही उपचार अन्य आँखा अस्पतालमा गराउँदा २४ हजारदेखि २ लाख रुपैयाँसम्म पर्छ, उनले भने । 'सेवा र सुविधाको तुलनामा निकै कम शुल्क राख्दा हरेक वर्गको पहुँचामा हामी छौं, उनले भने । बढी रकम खर्चेरमात्र स्तरीय उपचार पाइन्छ भन्ने भ्रम र हल्लाको यो अस्पताल सशक्त जवाफ भएको उनले बताए ।
दायाँ आँखाको मोतीबिन्दुको शल्यक्रिया गराएको महिना दिनपछि बायाँ आाँखाको मोती बिन्दु शल्यक्रिया गराउन आएका भारत विहार अररिया जिल्लाका रामचरित्र सिंह भन्छन, 'उतै (विहारमै) थुप्रै अस्पताल छन, तर भरपर्दो उपचार छैन । उनले थपे, 'यहाँको उपचार भरपर्दो भएकाले उपचारका निम्ति आएका हौँ । मेरो मात्र नभएर धेरै मानिसको भरपर्दो आँखा उपचार केन्द्रको रुपमा यो अस्पतालले विश्वास जितेको सिंहको भनाइ छ ।
शल्यक्रियाको संख्या, उपलब्ध सुविधा, न्युन्तम शुल्क, विज्ञ र गुणस्तरीयताको हिसाबले यो अस्पताल विश्वका उत्कृष्ट आँखा अस्पतालहरुको सूचीमा पर्छ । राजधानीको आँखा अस्पतालहरुले समेत दिन नसक्ने उपचार यहाँ उपलब्ध रहेको अस्पताल प्रसानले जनाएको छ । यहाँ दृष्टिविहीन नेपाली बिरामीले १३ हजार रुपैयाँमा आँखाको नानी (कोर्निया) प्रत्यारोपण गराउँन सक्छन् । यो सेवा यस अस्पतालले मंगलबार बाट मात्र सुरु गरेको छ ।
मंगलबार भारत विहार राज्य भिमनगरकी मनसरीदेवी सदायलाई दायाँ आँखाको नानी प्रत्यारोपन गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पतालका कोर्निया विज्ञ डा. रीना यादवले उनको आँखाको नानी प्रत्यारोपन गरेकी थिइन् ।  आर्थिक विपन्न उनको आँखाको नानी प्रत्यारोपन निःशुल्क गरिएको अस्पताल प्रबन्धक रोशनले बताए ।
नेत्र विशेषज्ञका लागि 'पाठशाला आँखा उपचारमा नाम कमाएको सगरमाथा चौधरी आँखा अस्पताल विशेषज्ञ उत्पादन गर्ने थलोसमेत हो । अस्पतालले नेशनल एकेडेमी अफ मेडिकल साइन्ससँग स्वीकृती लिएर 'नेत्र विशेषज्ञ कोर्ष अध्यापन गराउँदै आएको छ । गुणस्तरीय सेवा र आधुनिक शल्यप्रविधिका कारण विदेशमा पनि नाम फैलाउन सफल यो अस्पताल नेत्र विशेषज्ञ उत्पादन गर्ने केन्द्रका रुपमा समेत चिनिन थालेको छ । गुणस्तरसँगै विरामीको चापका कारण विश्वभरिका नेत्रविशेषज्ञले यो अस्पताललाई हबका रुपमा लिएको प्रबन्धक रोशनले बताए ।
अस्पतालका पूर्वनिर्देशक डा. एल्ब्रेच्ट हेनिङको आविष्कार 'फिस हुक प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया विदेशी नेत्रविशेषज्ञका लागि नौलो र अनुकरणीय बनेको रोशनले बताए । यो प्रविधि सिक्न न्युजिल्यान्ड, भारत, अमेरिका, इजिप्ट, साउदी अरेबीयाका नेत्रविशेषज्ञहरु पनि यहाँ आएर फिस हुक प्रविधि सिक्ने गरेको अस्पताल प्रसाशनले जनाएको छ । इन्डोनेसियाका तीन जना नेत्रविशेषज्ञ एक महिने 'फेको इमलसिफिकेशन तालिम लिएर भर्खैरै फर्किएको रोशनले बताए ।
लहानका समाजसेवी अशोक अमात्यका अनुसार लहान आँखा अस्पताल यो प्रदेशका लागि बलियो स्रोत हो । यो स्रोतको संरक्षण, सम्बद्र्धन गर्दै प्रबद्र्धन गर्नसके चिकित्सा पर्यटनमार्फत प्रदेशलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान दिन सक्छ ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/25/2018 06:30:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment