काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकैदिन प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरे । अनौठो संयोग के देखियो भने मोदीको फोनपछि आ–आफ्नो 'पोजिसन' मा रहेका बामगठबन्धन र काँग्रेसका नेताहरु एउटै टेवुलमा बसेर सतहमा देखिएको संवैधानिक जटिलता फुकाउने कोशिष गरे ।
मोदीको फोन संवादको समाचार दिल्ली र काठमाडौंबाट एकाएक मिडियामा आयो । तर, यस अगाडिका केही भेटवारे प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालय भने मौन बसेको पाइएको छ ।
स्रोतका अनुसार मोदीको फोन अगाडिको एक साता नेपालस्थित भारतीय राजदूत मंजिवसिंह पुरीले दौडधूप गरेका थिए । उनले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसँग भेट गरेको स्रोतले जानकारी दियो ।
नेपालमा आफुले गरेका उच्च राजनीतिक भेट, चुनावी नतिजा, भावी सरकारको स्वरुप, चिनियाँ चासो र लोकतान्त्रिक गठबन्धनको शक्तिवारे भारतीय राजदूत पुरीले दिल्ली पुगेर व्रिफिङगरेपछि भारतीय प्रधानमन्त्री मोदीले नेपालका शीर्ष नेताहरुसँग टेलिफोन संवाद गरेको सूत्रहरुको भनाई छ ।
सूत्रका अनुसार भारतीय राजदूत पुरीले पुस ३ गते प्रचण्डसँग भेट गरेका थिए भने मंसिर २८ गते एमाले अध्यक्ष ओली र प्रमुख निर्वाचन आयुक्त यादवसँग भेट गरेका थिए । यसवीचमा राजदूत पुरीले प्रधानमन्त्री देउवासँग पनि भेट गरेको स्रोत बताउँछ ।
गत आइतवार बामगठबन्धनले गरेको संयुक्त पत्रकार सम्मेलनमा ओलीले भारतले नेपालको नतिजा स्वीकारेको बताएका थिए । संयोग कस्तो थियो भने पत्रकार सम्मेलन आइतवार थियो र त्यसको तीन दिन अगाडि पुरीले ओलीसँग भेट गरेका थिए । पत्रकार सम्मेलनको अर्कोदिन अर्थात सोमवार पुरीले प्रचण्डसँग भेट गरेका थिए ।
सोमवार प्रचण्डसँग भेट गरेपछि राजदूत पुरी बुधवार दिल्ली गएका थिए । पुरी दिल्ली पुगेको अर्कोदिन मोदीले नेपालका शीर्ष नेताहरुसँग टेलिफोन संवाद गरेका थिए ।
बीबीसी नेपाली सेवालाई बिहिवार साँझ दिएको अन्तर्वार्तामा एमाले सचिव प्रदीप ज्ञवालीले बामगठबन्धनको संयुक्त पत्रकार सम्मेलन अगाडि ओली र पुरीबीच भेट भएको पुष्टी गरेका थिए ।
आइतबार संयुक्त पत्रकार सम्मेलनमा ओली र प्रचण्डले अन्तराष्ट्रिय समुदायलाई आस्वस्त पार्न कोसिस गरेका थिए । उनीहरूको संयुक्त विज्ञप्तीमा थियो, 'नेपालको संविधानद्वारा निर्देशित स्वतन्त्र परराष्ट्र नीतिको अनुसरण गर्दै हामी सबै मित्र राष्ट्र, विशेषतः छिमेकी देशहरू तथा अन्तरााष्ट्रिय सङ्घ, संस्थाहरूसँग सुमधुर सम्बन्ध कायम गर्न कटिबद्ध छौँ ।'
संयुक्त पत्रकार सम्मेलनमा वामगठबन्धनको परराष्ट्र सम्बन्धबारे सोधिएको एक प्रश्नमा ओलीले भारतको नामै लिएर उसँगको सम्बन्ध राम्रो भएको दाबी गरेका थिए । ओलीको भनाई थियो, 'परराष्ट्र, परराष्ट्र भनेर भारतको चर्चा गर्न खोजिएको हो । भारतले आधिकारिक रूपमा के स्टेटमेन्ट दिएको छ रु 'हामी अहिलेको जनादेशलाई कदर गर्छौं, अहिले जसरी बहुमत ल्याएको छ, यसले स्थिरता, स्थायित्व दिने हामीले विश्वास गरेका छौँ । यसप्रति खुसी व्यक्त गर्छौं र मिलेर काम गर्न आतुर छौँ ।'
यसबाहेक ओलीको भनाइ थियो– 'अनि कथा बुन्नेहरूका कथाका पछाडि कुद्ने किन रु यहाँबाट हामी भनिरहेका छौँ, आजको वक्तव्यमा पनि छ, 'नेपालको संविधानद्वारा निर्दे्शित स्वतन्त्र परराष्ट्र नीतिको अनुसरण गर्दै सबै मित्रराष्ट्र, विशेषतः छिमेकी देश र अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सुमधुर सम्बन्ध कायम गर्न कटिबद्ध छौँ' । हाम्रो नीति साझा घोषणा पत्रमा छ ।'
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहिवार बधाई दिएका थिए । भारतीय प्रधानमन्त्रीले प्रधानमन्त्री देउवालाई टेलिफोन गरी ऐतिहासिक निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गरेकामा बधाई दिएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका थिए । निर्वाचनपछि छिमेकीको नाताले भारतले नेपालमा राजनीतिक स्थिरता र विकास चाहेको प्रधानमन्त्री मोदीको भनाइ थियो ।
त्यसैगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनमा सफलता प्राप्त गरेकामा बधाई दिँदै भारत भ्रमणको निम्तो दिएका थिए । अपराह्न अध्यक्ष ओलीलाई मोदीले टेलिफोन गरी हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेकामा खुशी व्यक्त गर्दै बधाई दिएका थिए ।
भारतीय प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री ओलीसमक्ष नेपालमा तीन वटै निर्वाचन सम्पन्न भएकामा खुशी व्यक्त गर्नुभएको एमाले केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्रीलाई आफूलाई प्राप्त बधाई तथा शुभकामनाका लागि धन्यवाद दिँदै आफ्नो ध्यान राजनीतिक स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित रहेको बताएका थिए ।
त्यसबोहक विहिवार नै प्रचण्डलाई टेलिफोन गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले सफलता हासिल गरेकामा बधाई दिएको रातोपाटीमा सामाचर छ ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 12/22/2017 07:45:00 PM
No comments:
Post a Comment