काठमाडौँ, २० मंसिर । सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकबारे भारतीय दूतावासले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग छलफल गरेको छ ।
भारतीय राजदूत रञ्जित रेको निमन्त्रणामा शनिबार बिहान मोर्चाका नेताहरु दूतावास पुगेका थिए ।
दूतावास स्रोतका अनुसार आजको छलफलमा भारतीय राजदूत रेले मधेसी मोर्चाले संविधान संशोधनको विरोध गरिरहेकोमा चासो व्यक्त गरेका थिए ।
रेको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘विपक्षीहरुले जोडतोडले संशोधनको विरोध गरिरहँदा तपाइँहरु पनि उनीहरुसँग स्वर मिलाउँदै संशोधन विधेयकको विरोध गरिराख्नुभएको छ । यो संशोधन प्रस्तावले तपाइँहरुको एउटै पनि माग पूरा नगरेको होइन ।’
राजदूत रेले सरकारले दर्ता गरेको प्रस्ताव सकारात्मक रहेको भन्दै मोर्चाका नेताहरुलाई संशोधनमा कमीकमजोरी भए आलोचनात्मक समर्थन भए पनि जनाउन सुझाव दिएका थिए ।
जवाफमा मोर्चाका नेताहरुले आफूहरुले पनि प्रस्तावको सम्पूर्णरुपमा विरोध नगरेको राजदूत रेलाई जानकारी दिएका थिए । ‘हामीले पनि कहाँ संशोधनको पूर्ण रुपमा विरोध गरेका हौँ र रु हामीले विज्ञप्ति होस् या मन्त्व्य दिँदा होस् संशोधन अपूर्ण भएको मात्र भनिरहेका हौँ,’ मोर्चाका एक नेताले रातोपाटीसँग भने ।
बैठकमा रेले आलोचनात्मक समर्थन जनाउन सुझाव दिए पनि मोर्चाका नेताहरुले कुनै प्रतिबद्धता भने जनाएनन् ।
यता, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले भने तराई मधेसको विकासको विषयमा राजदूत रेसँग छलफल भएको बताए । झाका अनुसार हुलाकी सडकको काम पश्चिममा शुरु भइसकेको र यो चाँडै सम्पन्न हुने जानकारी राजदूत रेले आफूहरुलाई दिएको बताए ।
संशोधनको बारेमा के कुरा भयो भन्ने प्रश्नमा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले विकासबारे छलफल हुँदा अवश्य पनि पछिल्लो राजनीतिक घटना क्रमबारे केही चर्चा भएको बताए ।
‘छलफलको क्रममा संशोधनको विषय पनि उठेको थियो,’ यादवले भने, ‘राजदूत रेलाई संशोधनबारे मोर्चाको धारणा राखेका थियौँ ।’ उनका अनुसार रेले संशोधन प्रस्तावबारे मधेसी मोर्चा र मधेसी पार्टीको धारणा मात्र बुझेको र यो आन्तरिक मामिला भएको कुरा राखेका थिए ।
आजको छलफलमा मोर्चाका सात मध्ये पाँच नेताहरु दूतावास पुगेका थिए । दूतावास जानेमा झा र यादवसहित सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव रहेका थिए ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौँमा रहे पनि कार्यव्यस्तताका कारण दूतावास नगएको उनका प्रेस सहयोगी महेश चौरसियाले जानकारी दिए । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी भने काठमाडौँ बाहिर रहेका छन् ।
यसैबीच मोर्चाका नेताहरुले भारतीय राजदूतसंग छलफल गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल एमाले निकटका युवा तथा विद्यार्थी संगठनले दूताबास अगाडि धर्ना दिएका छन् ।रातोपाटीबाट
No comments:
Post a Comment