/ , , / उप–प्राध्यापकको परीक्षामा पैसाको बार्गेनिङ, ज्वाइँको कापी ससुराले जाँचे

उप–प्राध्यापकको परीक्षामा पैसाको बार्गेनिङ, ज्वाइँको कापी ससुराले जाँचे

काठमाडौं, १३ मंसिर । त्रिभुन विश्वविद्यालय सेवा आयोगले विभिन्न विषयका उपप्राध्यापक पदमा लिएको लिखित परीक्षामा पैसाको बार्गेनिङ भएको आरोप लागेको छ ।

सेवा आयोगले २०७२ चैतमा खुल्ला र विशेष आन्तरिक खुल्ला प्रतियोगिता मार्फत १५ सयभन्दा बढी उप–प्राध्यापक पदमा जाँच लिएको थियो ।

२०७३ साउनमा परीक्षाफल प्रकाशित गरेको आयोगले त्यसपछि पटक–पटक ‘लिखित परीक्षाको संशोधित नतिजा प्रकाशनसम्बन्धी सूचना’को नाममा पहिले मेरिटमा परेका नाम हटाएर धमाधम नयाँ नाम थपेको यसअघि नै सार्वजनिक भइसकेको छ ।

पछिल्लो पटक सेवा आयोगले लिएको परीक्षामा आर्थिक चलखेल भएको, लिखित परीक्षा हुनुअघि नै परीक्षामा सोधिएका प्रश्नहरु हल गरेर विचौलियामार्फत बिक्री गरेको जस्ता गम्भीर विषयहरु उठाउँदै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ ।

उजुरीकर्ताहरुले त्रिवि सेवा आयोगले विज्ञापन नं ७ र ८ अनुसार लिएको लिखित परीक्षाफल प्रकाशनमा अनियमिता भएको र गुनासो गर्दा त्रिवि पदाधिकारीले वास्ता नगरेको भन्दै आफूलाई अन्यायमा पारेको दाबी गरेका छन् ।

विज्ञापनमा प्रकाशित विषयमध्ये गणित विषयको कापी जाँच्ने शिक्षक चेतराज भट्टले लिखित परीक्षा हुनुभन्दा पहिले नै परीक्षामा सोधिएका प्रश्नहरु हलगरी बिचौलिया मार्फत लाखौं रुपियाँमा बिक्री गरेको परिक्षार्थीहरुले बताएका छन् । त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरका प्राध्यापक समेत रहेका भट्टले परीक्षा हुनुअघि नै लेखेर बेचेको गणित विषयको हस्तलिखित फोटोकपीसमेत परीक्षार्थीहरुले प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् ।

चेतराज भट्टसहितका शिक्षकहरुले लाखौं रुपियाँमा प्रश्नपत्र र त्यसको उत्तर बिक्री गर्नका लागि पृथ्वीनारायण क्याम्पस पोखरामा पढाउने रामदत्त भट्ट र त्रि–चन्द्र क्याम्पसका नन्दकिशोर सिंहले बिचौलियाको भूमिका निर्वाह गरेका थिए । यसरी शैक्षिक विचौलीयाको भूमिका निर्वाह गरेका रामदत्त भट्ट र नन्दकिशोर सिंह उप–प्राध्यापकको परीक्षामा पास भएका छन् ।

‘पैसा बुझाएका परीक्षार्थीहरुले आ–आफ्नो उत्तरपुस्तिकामा विभिन्न सङ्केतहरु बनाएका थिए’, प्रधानमन्त्री कार्यालयमा दर्ता गराएको उजुरीपत्रमा भनिएको छ, ‘तिनै सङ्केतहरु मार्फत सेवा आयोगका पदाधिकारी र कपी जाँच्ने शिक्षकहरुलाई सम्पर्क गरी पैसा लेनदेन गरेर पासफेल गराउने कार्य भएको छ ।’

तपाईंले किन यसरी प्रश्नपत्र चिटिङ गरेर बिक्री गरेको भन्ने रातोपाटीको जिज्ञासामा त्रिवि केन्द्रीय विभागका प्राध्यापक चेतराज भट्टले भने, ‘मलाई थाहा छैन, यो बजारमा आएको हल्ला मात्र हो ।’



ज्वाइँको उत्तरपुस्तिका ससुराको हातमा


गणित–विज्ञानको परीक्षा दिएका सुरेन्द्र यादवले परीक्षा सकिएको केही दिनपछि गणित विषयको परीक्षक राम विश्वास शाहलाई नयाँ वानेश्वर चोकमा भेटघाट गरे । भेटमा यादवले आफूले गणितको जाँच दिएको बताएका थिए ।

भक्तपुर बहुमुखी क्याम्पसमा अध्यापन गर्दै आएका शाहले त्यसपछि सुरेन्द्रलाई भने, ‘पास हुने हो भने १० लाख चाहिन्छ, सेवा आयोगका अध्यक्ष ईश्वर चन्द्रदत्त तथा सदस्य केदार घिमिरेलाई मिलाउनुपर्छ ।’ ईश्वरचन्द्र दत्त तत्कालीन सेवा आयोगका अध्यक्ष थिए । हाल सेवा आयोगका अध्यक्षमा चैतन्य शर्मा नियुक्त भएका छन् ।

सुरेन्द्रले १० लाख दिन इन्कार गरे । पछि परीक्षाफल प्रकाशित हुँदा उनी फेल भए ।

‘मागेजति पैसा मैले दिन नसकेपछि फेल गराइयो’, सुरेन्द्र भन्छन्, ‘पैसा दिन नसक्नेलाई फेल गराइएको प्रमाण म आफैं छु, आवश्यक ठाउँमा जहाँ गएर पनि बोल्न सक्छु ।’

त्यसरी काठमाडौंका चोक–चोकमा बार्गेनिङ गर्दै हिँड्ने शिक्षक रामविश्वास शाहले आफ्नै नातेदार छोरी–ज्वाइ अमरनाथ शाहको कपी आफैंले जाँच गरेको रहस्य खुलेको छ । अमरनाथ सो परीक्षामा पास भएका छन् । हालसम्म मास्टर डिग्री लेभलमा नपढाएका शाहको उपप्राध्यापकको कापी जाँच्ने योग्तासमेत नपुग्ने देखिन्छ ।

परीक्षामा सहभागी विष्णु गिरीका अनुसार उनको उत्तरपुस्तिकाको दोस्रो खण्डमा गोलो चिन्ह लगाइएको छ । आयोग पदाधिकारीले उनलाई फेल गराउनका लागि उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई सङ्केत सुझाएर गोलो चिन्ह लगाएको गिरीले दाबी गरेका छन् ।

यसरी सेवा आयोगका पदाधिकारीले नै गोलो चिन्ह लगाउनुको अर्थ पदाधिकारी समेत आर्थिक लेनदेन गरेर परीक्षाफल निकाल्ने कार्यमा संलग्न थिए । त्यसैको परिणाम पटक–पटक ‘संशोधित नतिजा प्रकाशन’को नाममा पास हुनेलाई फेल र फेल हुनेलाई पास गराउन थालिएको थियो । सेवा आयोगका एक कर्मचारीका अनुसार हालसम्म १२ पटक संशोधित नतिजा सार्वजनिक गरिएको छ । ती कर्मचारीका अनुसार तथ्याङ्कशास्त्रको परीक्षामा प्रथम पटक पास भएका परीक्षार्थी मध्ये संशोधन मार्फत पुरानालाई हटाएर ८ जना नयाँ परीक्षार्थीको नाम थपिएको छ ।

यस्तो गम्भीर विषयमा असअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । तर आयोगले त्यसबारे कुनै चासो नदिएको बताइएको छ । @
Ratopati

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment