काठमाडौं, १४ मंसिर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले मधेशी जनता सामु अब स्वतन्त्र मधेश देशका लागि आन्दोलन गर्नुको विकल्प नरहेको बताएका छन् । उनले मधेशीको बलिदानीसँग धोका भयो भने मधेशी जनता चुप लागेर नबस्ने दाबी गरे ।
गठबन्धनले मंगलबार बिहान मधेश मिडिया हाउसमा आयोजना गरेको ‘विभेद विरोध दिवसमा दमन र आगामी कार्ययोजना’ विषयक पत्रकार सम्मेलनमा डा। राउतले भने, शान्तिपूर्ण आन्दोलनमा दमन हुनु राज्यका लागि दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
उनले लोकतन्त्रमा धर्ना, जुलुस लगायतका शान्तिपूर्ण कार्यक्रममा राज्यले देखाएको व्यवहार अति नै भत्र्सना योग्य रहेको बताए । ‘राज्यले त्यति हदसम्म यातना देओस् जति बेलासम्म हाम्रो शान्तिपूर्ण आन्दोलनमाथि आस्था कायम रहोस्,’ उनले भने ।
उनले शान्तिपूर्ण आन्दोलनबाट आस्था समाप्त भयो भने राज्यका लागि दुर्भाग्यपूर्ण अवस्था आउन सक्ने चेतावनी दिएका छन् । उनले आफ्नो आन्दोलनमा भएको प्रहरी दमनका बारेमा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थालेसमेत वक्तव्य जारी गरिसकेको बताउँदै भने, ‘नेपालको राष्ट्रिय मानव अधिकार आयोग मौन बस्नुले त्यसबाट आफूहरुको आस्था हट्दै गएको छ ।’
उनले राष्ट्रिय मानव अधिकार आयोग जस्ता संस्थाले यसरी नै बेवास्ता गर्दै जाने हो भने त्यसको कुनै औचित्य नरहने बताए । उनले मधेशीमाथि भएको दमनका बारे आयोगलाई लिखितरुपमै ज्ञापनपत्र बुझाउँदा समेत कुनै प्रतिक्रिया नदिनुले त्यसको औचित्य नरहेको बताए ।
डा। राउत नेतृत्वको गठबन्धनले गत शुक्रबार मंसिर १० गते मधेशभरि रंगभेद विरोध दिवस मनाउँदा विभिन्न जिल्लाबाट सयौं कार्यकर्ताहरु पक्राउ परेका थिए । हिरासतमा रहेका गठबन्धनका कार्यकर्ताहरुमाथि प्रहरीले अमानवीय व्यवहार गरेको गठबन्धनका प्रवक्ता अब्दुल खानले बताए ।
पत्रकार सम्मेलनमा प्रवक्ता खानले आफूहरुसँग हिरासतमा प्रहरीले अभद्र र अमानवीय व्यवहार गरेको गुनासो पोखे । उनले भने, ‘हिरासतभित्र प्रहरीले हामीलाई कैदीहरुबाट कुट्न लगाइयो, शौचालयमा घन्टौसम्म बन्द गरियो, धोती, बिहारी, इन्डियन लगायतका शब्द प्रयोग गर्दै हिरासतभित्रै गोली हानेर मार्नेसम्मको धम्की दियो ।’
प्रवक्ता खानले भने, ‘प्रहरीले हामीलाई तिमीहरु स्वतन्त्र मधेशको माग गर्छौं भने गोली हानी ज्यान मार्ने धम्कीसमेत दियो । त्यहाँ अन्य मुद्दामा पक्राउ परेका कैदीहरु प्रयोग गरी कुटपिट गर्न लगाइयो ।’मधेशबाणीबाट
No comments:
Post a Comment