काठमाडौं, २० असोज । काठमाडौं हात्तीगौंडाकी सरु बस्नेतलाई दसैँले छोइसकेको छ । दाहिने हातमा कपाडाको ठूलो झोला र बायाँ हातले छोरीलाई डोर्याउँदै उहाँ मंगलबार दिउँसो भृकुटीमण्डपको खुल्ला बजारमा हिँड्दै हुनुहुन्थ्यो । बजारमा खुट्टा हाल्नेसम्म ठाउँ नभएको मान्छेको भिडभाडमा धकेलिँदै उहाँ हिँड्नुहुन्थ्यो । आफ्ना छोरा छोरीलाई लिएर उहाँ किनमेल गर्न दिनभर काठमाडौंका पसलहरु चहार्नु भयो । छोरा छोरीलाई कपडा छान्दा छान्दा हत्तुहैरान भएकी बस्नेतले छोराछोरीको चित्त बुझाउन धेरै पसल चहार्नु पर्यो । जसले गर्दा सामान किनेर उहाँ घर पुग्दा झमक्कै साँझ परिसकेको थियो । बस्नेत जस्ता धेरैलाई अहिले दसैँले छोइसकेको छ । काठमाडौंका चोक चोकमा किनमेल गर्नेको घुइँचो लाग्न थालेको १५ दिन भइसक्यो । राजधानीको सुन्धारा, काठमाडौं मल, असन, न्युरोड, भाटभटेनी, इन्द्रचोक, भृकुटीमण्डपलगायतका ठाउँमा किनमेल गर्नेको घुइँचो थामी नसक्नुको छ । किनमेल गर्नेको भिडले मान्छे आवतजावत गर्न समस्या पर्ने मात्र होइन गाडीको लामो जामसमेत हुन थालेको छ ।
पोहोरको सट्टा पनि यसपाली किनमेल
अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण राम्रोसँग दसैँ मनाउन नपाएका नेपालीहरुले यसवर्ष भने दसैँको किनेमेलामा व्यस्त देखिएका छन् । नेपालीहरुको महान चाड दसैँमा आफ्नो योग्यताले भ्याएसम्म खर्च गरेर नयाँ लुगा लगाउने र मिठो खाने चलन छ । राजधानीबाट आफ्ना घर फर्कने क्रममा कपडा, खानेकुरा, फलफूल तथा सुनका गरगहना किनेर घर फर्कने मान्छेहरुको भिडले राजधानीका पसलमा किनमेल गर्नेको घुइँचो ।
१५ दिनअघि देखिनै किनमेलको घुइँचो लाग्न थालेको र अझै केही दिन किनमेल गर्नेको भिड लाग्ने नेपाल स्वरोजगार व्यापार श्रमिक संघ, प्रतिनिधि परिषद् प्रमुख नारायण न्यौपानेले बताउनुभयो ।
दसैँमा व्यापार बढी हुने भएपछि व्यापारीलाई झन बढी दसैँ लाग्ने गर्छ । अघिपछि कतिखेर ग्राहक आउलान् कि समान किन्लान भनेर बकुल्लाले माछो ढुकेझै ग्राहक कुरेर बस्ने व्यापारीलाई दसैँमा सामान बेच्न भ्याइनभ्याइ छ । बनेपाका कपडा व्यापारी रुपेश सिग्देल दसैँमा भएको व्यापारबाट मख्ख हुनुहुन्छ । काठमाडौंबाट घर जानेहरुले सामान किने र आम्दानी पनि हुने भएपछि व्यापारीहरु मख्ख छन् । सिग्देल जस्तै झापा घर भएर काठमाडौंमा व्यापार गर्दै आएका चन्द्रप्रसाद न्यौपाने पनि दसैँको व्यापारबाट मख्ख हुनुहुन्छ । गएको साल भूकम्पले व्यापार चौपट भएकाले मर्कामा परेका न्यौपानेलाई यो वर्ष सामान बेच्न भ्याइनभ्याइ छ । दैनिक २५ जोर भन्दा बढी जुत्ता बेच्ने गरेको अनुभव उहाँले सुनाउनुभयो । ‘दसैँको समयामा व्यापार भ्याइनभ्याइ छ, नयाँ नयाँ ब्राण्डका फेसनेवल जुत्ता अहिलेको रोजाइछ’ व्यापारी न्यौपानेले भन्नुभयो ।
भृकुटीमण्डपमा किनमेलका लागि दैनिक लाखको भिड
किनमेल गर्ने ठाउँ मध्ये भिडभाड हुने भृकुटीमण्डपको खुल्ला बजार पनि एक हो । बाँसका खाँबा, भाटाबाट बनेको र त्रिपालले छाएको अंग्रेजी अक्षर सी आकारको लामो खुल्ला बजारमा किनमेल गर्नेको भिड थामिनसक्नु छ । १२ सय वटा पसल रहेको यो बजारमा १५ दिनयता दैनिक एक लाख भन्दा बढीले किनमेल गर्ने गरेको नेपाल स्वरोगजार व्यापार श्रमिक संघका प्रतिनिधि परिषद प्रमुख नारायण न्यौपानेले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक खुल्ला बजारमा मात्र चार करोड भन्दा बढीको व्यापार भएको छ । खुल्ला बजारमा मात्र दैनिक एक लाखले किनमेल गर्छन् भने अन्य ठाउँमा यो भन्दा बढीले किनमेल गर्ने गर्छन । आफूलगायत परिवारका सम्पूर्ण सदस्यलाई कपडा, जुत्ता व्यागलगायत विभिन्न सामानहरु किनमे गरेर लैजाने चलन छ । जसका कारण यतिबेला बजारमा किनमेल गर्नेको भिडले राजधानी भरिभराउ छ । उज्यालो
No comments:
Post a Comment