/ , , / त्रुटिहरु नसच्याईए संविधान खारेज हुने सिंहको चेतावनी

त्रुटिहरु नसच्याईए संविधान खारेज हुने सिंहको चेतावनी

काठमाडौं २९ भाद्र । लोक दलका अध्यक्ष कौशलकुमार सिंहले संविधानका त्रुटिहरुलाई नसच्याईए मुलुकका आधा जनसंख्याले स्वीकार नगर्ने बताएका छन् ।

प्रभु नारायण स्मृति प्रतिष्ठानले बुधबार मधेश मिडिया हाउसमा आयोजना गरेको स्मृति सभामा बोल्दै अध्यक्ष सिंहले राजनीतिमा अहिले अपराधिकरण बढेको बताए ।

उनले अहिले राजनीतिमा अवसरवादीहरुको हालीमुहाली रहेकोले देशले निकास पाउन नसकेको बताए । साथै, सिंहले यो संविधान संशोधन नगरिए खारेज हुने चेतावनीसमेत दिएका छन् ।

उनले समयमै असन्तुष्टिहरु सम्बोधन नगरिए वर्षौंदेखि संविधानको विरोधमा रहेका जनताले नयाँ संविधान निर्माणको माग उठाउन सक्ने आशंका व्यक्त गरे ।

यसैगरी, पूर्वशिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले संविधानप्रति रहेका असन्तुष्टिहरु सम्बोधन गरेर संविधान सर्वस्वीकार्य बनाउनुपर्ने बताएका छन् ।

उनले माओवादी केन्द्र नेतृत्वको सरकारले मधेशी, थारु, आदिवासी जनजाति लगायतका मागहरुको उचित सम्बोधन गर्ने आश्वासनसमेत दिएका छन् ।

नेकपा क्रान्तिकारी माओवादीका नेता कमल चौधरीले मधेशी मोर्चाले कांग्रेस–माओवादी केन्द्रसँग तीनबुँदे सहमति गरेर जनतालाई भ्रममा पारेको आरोप लगाएका छन् । उनले नयाँ संविधानले जनताको अधिकार नदिएकोले यसलाई जति संशोधन गरेपनि काम नलाग्ने दाबी गरेका छन् ।

मोर्चाका नेताहरुले तीनबुँदे सहमति गरेर सत्तामा जानका लागि आन्दोलनलाई ओझेलमा पारेको आरोप लगाए । यो संविधानले जारी भएकै दिनदेखि जनताले अस्वीकार गरिरहेको भन्दै नयाँ संविधान बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा राजनीतिक विश्लेषक उपेन्द्र झा, संघीय समाजवादी फोरम नेपालका नेता सुनिल चौधरी, नयाँ शक्ति पार्टीका नेता रवीन्द्र थिङ, कानूनविद् तेजनारायण चौधरी, ध्रुव केसी, नेकपाका नेता रत्नप्रसाद जोशी, कांग्रेसका आनन्द सन्तोषी राई लगायतले स्व। चौधरीको योगदानबारे चर्चा गरेका थिए ।हुलाकी न्यूज 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment