असार १३, २०७३ । भारी वर्षासँगै आउँदो साता देशैभरका नदीमा बाढी आउन सक्ने ‘ग्लोबल हाइड्रोलोजिकल मोडेल’ ले भविष्यवाणी गरेको छ । कोसी, नारायणी, गण्डकी, कर्णाली, पश्चिम राप्ती, महाकाली, वाग्मतीलगायत सबै नदीमा बाढी आउन सक्ने ‘ग्लोबल हाइड्रोलोजिकल मोडेल’ को प्रक्षेपण छ ।
जल तथा मौसम विज्ञान विभागको ‘बाढी भविष्यवाणी शाखा’ ले गत वर्षको मनसुनदेखि नक्सालस्थित कार्यालयबाट २४ सै घण्टा देशका मुख्य–मुख्य नदीमा आउन सक्ने बाढीको अनुगमन गर्दै सर्वसाधारणलाई सतर्क गराउँदै आएको छ ।
आउँदो साताको भविष्यवाणीपछि विभागले सर्वसाधारणलाई बाढीको पूर्वसूचना दिन काम थालेको छ । ‘ग्लोबल हाइड्रोलोजिकल मोडेलहरूले घनघोर वर्षापछि बाढीको आकलन गरेकाले हामीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाएका छौं,’ शाखाका बाढी भविष्यवाणी विज्ञ विनोद पराजुलीले भने, ‘सकेसम्म सर्वसाधारण सचेत होऊन् र धनजनको क्षति नहोस् भन्ने हाम्रो उद्देश्य हो ।’
पराजुलीका अनुसार प्रमुख नदीहरूमा स्थापना गरिएका बाढी पूर्वानुमान केन्द्रहरूबाट ‘रियल टाइम बेसिस’ का आधारमा प्राप्त हुने जलसतह र वर्षाको विवरणका आधारमा गरिने बाढी पूर्वानुमान सेवा विभागको वेबसाइटबाट समेत हेर्न र थाहा पाउन सकिन्छ । कुनै नदीमा पानीको सतहले खतराको सूची नाघ्नेबित्तिकै घण्टी बज्छ र विज्ञहरूले त्यसअघि नै सर्वसाधारणलाई सूचना प्रवाह गर्छन् ।
यस्तो प्रकारको सजगता अपनाउने वा पूर्वचेतावनीसम्बन्धी सूचना वेबसाइटका अलावा गृह मन्त्रालयअन्तर्गतको ‘राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र’ मार्फत समेत जानकारी लिन सकिन्छ । त्यो सूचना सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले समेत थाहा पाउनेछन् भने उनको मोबाइल सेटमा समेत प्राप्त हुने भएकाले तत्काल सूचना प्रवाह र टोली परिचालन गर्न सहयोग मिल्नेछ । त्यस्तै, बाढीको पूर्वसूचना र आपतकालीन क्रियाकलापका लागि विभागले मनसुन अवधिभर २४ घण्टे सेवा पनि सञ्चालन गर्दै आएको छ ।
मुख्य नदीहरूमा बाढी भविष्यवाणी सेवाले बाढीजन्य कारणले हुने जनधनको क्षति न्यूनीकरण गर्न उल्लेख्य समय प्राप्त हुने विभागका महानिर्देशक डा। ऋषिराम शर्माले बताए ।
विभागले ११५५ नम्बरको टोल फ्री नम्बरमार्फत सर्वसाधारणमा कुनै पनि नदी वा ठाउँ विशेषको वर्षा र बाढीको पूर्वसूचना दिने कार्य उपलब्ध गराउँदै आएको छ ।
विभागले बाढी पूर्वसूचनाको मोबाइल एसएमएस सेवासमेत सुरु गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले पनि सोमबारदेखि नै पूर्वी नेपालमा भारी वर्षाको भविष्यवाणी गरेका छन् । इकान्तिपुर
No comments:
Post a Comment