/ , , , , / सिरहा : जहाँ बुद्ध जयन्तीकै दिन चढाउँछन् हजारौं पशुपंक्षीको बली

सिरहा : जहाँ बुद्ध जयन्तीकै दिन चढाउँछन् हजारौं पशुपंक्षीको बली


सन्तोष कुमार, सिरहा, ८ जेठ । आज शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती । आजको दिन बली चढाउन नहुने मान्यता रहेको छ । रुपेन्देहीमा त स्थानीय प्रशासनले बली नचढाउन मात्र होइन् मासु पसल समेत बन्द गर्न सार्वजनिक सूचना जारी गरेको छ । तर सिरहाको लहान नपा १७ स्थित राजदेवी पञ्चावती मन्दिरमा भने बली चढाउन आज विहानैदेखि श्रद्धालुहरु मरिहत्ते गरिरहेका छन् ।


राजदेवी मातालाई भाकल गरे सन्तान प्राप्ति, रोग ब्याधीबाट मुक्ति र कुनै पनि मनोकाङ्क्षा पुरा हुने गरेको जनविश्वास छ । सोही कारण बली बढाउन हिजो साँझदेखि नै यो राजदेवी मन्दिर क्षेत्रमा भिडभाड छ । आज विहानदेखि हजारौं श्रद्धालु बली चढाउन ‘लाइन’ लागेको देखिन्छ । मन्दिरमा दर्शन गर्नेहरुको पनि घुइचो लागेको छ ।
पूर्वपश्चिम राजमार्गमा पर्ने लहान बजारदेखि करिब ६ किलोमिटर उत्तरमा पर्ने ढोढना स्थित राजदेवी पञ्चावती मन्दिर रहेको छ । यो मन्दिरमा पशुपंक्षीको बली दिन सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतको बिहार राज्यबाट समेत श्रद्धालुहरु आईपुगेका छन् । बली विहान ८ बजेदेखि चढ्ने मन्दिरमा मूल पुजारी लक्ष्मीबहादुर भट्टले जानकारी दिए ।
आजकै दिन बली किन ?
करिब १२५ वर्ष अघिको कुरा हो । मन्दिर रहेको ठाउँमा जँगल र चरण क्षेत्र थियो । यहाँ स्थानीयबासी गाई चराउन जान्थे । चराउन लग्ने गाइहरु हराउन थाले । पछि गाउँका मानिसहरु त्रसित भए । धामीको रुपमा रहेका स्वर्गिय दिलाराम भट्टले त्यस ठाउँमा गई तन्त्र साधना गरेपछि राति सपनामा देवीले दिर्शन दिई पूर्णिमा अर्थात् बुद्ध जयन्तीको दिन बली चढाए समस्या टर्ने बताएका थिए ।
स्थानीयले देवीले सपनामा भनेअनुसार आजको दिन बली चढाउन थाले । समस्या टर्यो । ८/१० बर्ष अघिसम्म यो मन्दिर र राजदेवी माताको शक्तिबारे प्रचार प्रसार भएको थिएन् । अहिले मन्दिरले चर्चा पाएपछि मधेसका अधिकांश जिल्ला र भारत विहारबाट समेत भाकल गर्नेहरु बली चढाउन आउने गर्छन् । बर्षेनी भाकल गर्नेहरुको संख्या बढ्दै गएको पूजारी भट्ट बताउँछन् ।
रगतमा झिँगा लाग्दैन
ढोढना स्थित राजदेवी पञ्चावती मन्दिर १ बिघा ५ कठ्ठा ५ धुर क्षेत्रफलमा जङ्गलको बीचमा रहेको छ । यो मन्दिरमा मूर्ति (राजदेवीको प्रतिमा) छैन् । बाराको गढीमाई मन्दिरपछि दोश्रो ठूलो संख्यामा पशुपंक्षीको बली दिइने मन्दिरको रुपमा चिनिने गरिन्छ ।
आजको दिन हजारौं पशुपंक्षीको बली यहाँ चढाउँदा रगतको खोला बगेझै देखिन्छ । तर एउटै झिँगा –किरा) देख्न सकिदैन् । स्थानीय भन्छन्– माताको शक्तिकै कारण यहाँ रगतको खोलो बगेपनि एउटा झिँगा (किरा) लाग्दैन् । दुर्गन्ध पनि आउँदैन् ।
गत वर्षभन्दा बढी बली चढ्ने
विगतका वर्षहरुको तुलनामा यो वर्ष पशुबली बढी चढ्ने अनुमान गरिएको छ । स्थानीय वीरेन्द्र चौधरी भन्छन्– विगतका बर्षहरुभन्दा यो वर्ष भीड बढी छ । गत बर्ष १४ हजार बोकाको बली चढ्यो । यो वर्ष कम्तिमा २० हजार पुग्ने अनुमान छ ।’ बली चढाउनेको संख्या वर्षेनि बढीरहेको उनले थपे ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment