सिरहा २२ चैत । अरुको घरमा हतियार राखेर निर्दोषलाई फसाउने चार जनालाई प्रहरीले शनिवार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा धनगढीमाई नगरपालिका–१३ घर भई हाल लहान नपा–५ बस्ने ३७ वर्षीय रामपृत राम, २२ वर्षीय हरेराम यादव र राजवीर यादव छन् ।तीनैजना मिली अरुलाई हातहतियार तथा खरखाजाना मुद्दामा फसाउन खोज्दा उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।पक्राउ परेका तीनै जनालाई लहान प्रहरीको हिरासतमा राखी हातहतियार तथा खरखजाना मुद्दामा कारबाही चलाउन प्रक्रिया थालिएको उनले बताए ।पक्राउ परेका रामपृत राम एकीकृत माओवादीका जिल्ला सदस्य हुन् । उनले आफ्नो रिसइबी साध्नलाई स्थानीय हरेराम यादवलाई आर्थिक प्रलोभन देखाई धनगढीमाई नपा–१३ बस्ने रामउद्गार यादवलाई फसाउने योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।सोही योजनाअनुसार रामपृत रामले उपलब्ध गराइदिएको एक थान कटुवा पेस्तोल र एक थान गोली हरेराम यादवले रामउद्गार यादवको घरमा राख्ने सर्तमा सो हतियार र गोली स्थानीय तेजीनारायण यादवलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।सोही सर्तअनुसार तेजीनारायण यादवले स्थानीय राजवीर राम र धुर्मुस नामले चिनिने रामेश्वर महतोलाई साथमा लिई रामउद्गार महतोको भान्साघरको पालीमा हतियार लुकाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार रामउद्गार महतोको घरमा हतियार लुकाएर राखिसकेपछि उनीहरुमध्ये एक जनाले प्रहरीलाई फोन गरी रामउद्गारको छोरा जीतेन्द्रकुमार महतोले हतियार राखेको सूचना दिएको थियो ।सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद भएपछि रामउद्गारको छोरा जीतेन्द्रलाई चैत १४ गते पक्राउ गरिएको थियो ।प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार आफूसँग भएको हतियार अरुको घरमा राखेर निर्दोष व्यक्तिलाई फसाएको आरोपमा एकीकृत माओवादीका जिल्ला सदस्य रामपृत रामसहित तीनै जनालाई पक्राउ गरिएको हो ।
निर्दोष व्यक्तिको घरमा आफ्नो हतियार राखी फसाउने तीनैजना माथि हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment