अर्जुननरसिंह, शशांक र गगनमध्ये कसले जित्लान् ?
काठमाडौं २५ फागुन, । कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि अब सबैको ध्यान महामन्त्री पदतर्फ केन्द्रित भएको छ । महामन्त्री र केन्द्रीय सदस्यहरुहरुको मत गढाना आज दिउँसो १ बजेदेखि पार्टी कार्यालय सानेपामा हुँदैछ ।
महामन्त्रीमा ज्वाइँ(ससुरा गगन थापा र अर्जुननरसिंह केसीबीचको भिडन्तको रोचकता एकातर्फ छ भने वीपीपुत्र शशांक कोइराला पनि मिसिएर प्रतिस्पर्धालाई झन रोचक बनाएका छन् ।
सभापति र महामन्त्रीको प्रतिस्पर्धा फरक ढंगको हुने अनुमान गरिएको छ । सभापतिमा मुख्य भिडन्त शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच थियो, भने कृष्ण सिटौलालाई पौडेलको भोट काट्ने उम्मेदवारका रुपमा मात्रै लिइएको थियो । भयो पनि त्यस्तै ।
तर, महामन्त्रीमा भने त्रिपक्षीय भिडन्तको सम्भावना छ । तीनै उम्मेदवार बलिया छन् । उनीहरुले जित्ने र हार्ने दुवै आधारहरु उत्तिकै बलिया छन् ।
गगन थापा जित्ने आधारः
गगन थापाको जित्ने आधार उनको व्यक्तिगत लोकप्रियता हो । गुटभन्दा माथि उठेर मतदाताहरुले आफूलाईभोट दिनेछन् भन्ने उनको विश्वास छ । कांग्रेस नेतृत्वमा युवापुस्तालाई देख्न चाहनेहरुले आँखा चिम्लेर उनलाई भोट हाल्नेछन् । अघिल्लो महाधिवशेनमा गगन थापाले कांग्रेस केन्द्रीय सदस्यमा सबैभन्दा बढी भोट पाएका थिए ।
हार्ने आधारः
कांग्रेसको यो महाधिवेसनमा घोषितरुपमै गुटगत प्रतिस्पर्धा चलिरहेको छ । गगन सिटौला गुटका उम्मेदवार हुन् । प्रतिस्पर्धामा उत्रेका तीन गुटमध्ये सिटौला गुट सबैभन्दा कमजोर सावित भएको छ । त्यसैले गगनका लागि यो प्रतिस्पर्धा फलामको च्यूरा बराबर छ ।
शशांक कोइराला जित्ने आधार:
शशांक कोइरालाको बिकाउ चिज भनेको वीपी कोइरालाको बिरासत हो । कांग्रेसका महान नेता वीपीका कान्छा छोरा नेपाली राजनीतिमा ‘अनटेस्टेड’ पनि हुन् । व्यक्तिगतरुपमा उनी लोकप्रिय र अलोकप्रिय दुवै छैनन् । अनटेस्टेड हुनु उनका लागि प्लस प्वाइन्ट हुन सक्छ । उनी शेरबहादुर र रामचन्द्र दुबै समूहले रुचाएका पात्र भएकाले बलिया उम्मेद्वार मानिन्छन् ।
हार्ने आधारः
वीपीपुत्र भए पनि कांग्रेसमा शशांकको खासै लामो पृष्ठभूमि र योगदान छैन । न राष्ट्रिय राजनीतिमा नै कहिल्यै अहम् भूमिका खेलेका छन् । त्यसैले मतदाताको मन जित्न उनलाई सजिलो छैन । साथै संस्थापन पक्षबाट गगनले उनको मत काट्ने र अर्जुननरसिंह पनि संस्थापनबाटै देउवा समूहमा लागेकाले शशांकको मत घट्ने सम्भावना छ ।
अर्जुननरसिंह जित्ने आधार:
केसीले महामन्त्रीमा जित्ने सबैभन्दा ठूलो आधार भनेको गुट हो । देउवा गुटका उम्मेदवार भएकाले देउवाले पाएको भोटमा तीन(चार सय भोट कम पाउँदा पनि उनले जित्न सक्छन् । यसका अतिरिक्त पार्टीका पुराना र अनुभवी नेता भएको हिसाबले कांग्रेसमा उनी सम्मानित छन् । अघिल्लो महाधिवेनमा पनि केसीले लोकप्रिय मत पाएका थिए ।
हार्ने आधारः
क्षमतावान नेता भए पनि केसीमा मतदातालाई आकषिर्त गर्न सक्ने ‘एक्स फ्याक्टर’ केही छैन । व्यक्तिगत लोकप्रियताको अभाव उनलाई खट्किनेछ । केसीको पञ्चायती पृष्ठभूमिको धङ्धङीले पनि मतदातालाई सताउन सक्छ । साथै उनी गुट परिवर्तन गरेर देउवातिर लागेका हुनाले उनलाई देउवा पक्षकै कतिपयले मत नदिएको हुन सक्छ । ज्वाइँले काट्ने भोट पनि केसीका लागि चुनौतीको अर्को पाटो हो ।
महामन्त्रीका साथै केन्द्रीय कार्यसमितिमा कुन गुटका कति नेताहरुले जित्लान् भन्ने विषय पनि निकै रोचक हुने छ आजको मत गणनामा । सभार: अनलाईन खबर
No comments:
Post a Comment