काठमाडौं । धेरै दलका धेरै नेता हातमा फूल लिएर श्रद्धाञ्जलीका लागि लाइनमा थिए । त्यही भीडमा थिए, गायक बद्री पंगेनी ।
जनआन्दोलन (२ पछि रौतहटको गौरमा नरसंहार भयो । जहाँ २७ नागरिकले ज्यान गुमाए । त्यसरी ज्यान गुमाउनेमा माओवादी कार्यकर्ता थिए र ती सबैको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौं खुलामञ्चमा राखिएको थियो ।
केही घन्टा लाइन बसेपछि पनि फूल चढाउने पालो आउलाजस्तो लागेन, गायक पंगेनीलाई । र, उनी श्रद्धाञ्जली नदिईकनै हिँडे । उनी सहिदलाई अपमान गरे हिँडेका थिएनन्, उनी त सहिदको वास्तविक सम्झना र सम्मानले भरिएर हिँडेका रहेछन् ।
त्यसपछि उनले भावुक लयमा गुनगुनाउन थालेछन्
‘लासमाथि फूल राख्दैमा सहिदको सपना साकार हुन्न हजुर ।
लागिपर्यौँ जनताको पीरमर्का, दुःख(व्यथा सुन्न हुजुर ।।’
यो गीतको रिलिजपछि उनले जनआन्दोलन(२ मा कलंकीमा सहिद भएका प्रद्युम्न खड्काको परिवारलाई केही आर्थिक सहयोग समेत गरे ।
सहिद दिवस
१६ माघ अर्थात् सहिद दिवसको दिन विभिन्न दलका नेताले सहिदका सालिकमा माल्यार्पण गरेको देखेका छन्, गायक बद्री पंगेनीले ।सहिदप्रति श्रद्धाभाव व्यक्त गर्ने यी गायकले नेताहरूको कर्मकाण्डीय शैलीले सहिदको सपना साकार नहुने धारणा राख्छन् ।
उनको बुझाइमा अहिले पनि सहिद परिवारको स्थिति टिठलाग्दो छ । उनी भन्छन्, ‘जो सहिद भए तिनैले हाम्रा नेतालाई सत्तामा पुर्याए । तर, सत्तामा पुगेपछि हाम्रा नेताले सहिदको सपना बिर्सिए । १३ दिनको कर्म सकिएपछि सहिद परिवारको घरमा कोही पनि पुग्दैन ।’
दलका नेताहरूले एकपटक गृहमन्त्री भएपछि आजीवन गाडी सुविधा पाएको प्रसंग औल्याउँदै पंगेनी भन्छन्, ‘साँच्चै सहिदको सम्मान गर्ने हो भने मन्त्रीको सुविधा खोसेर सहिद परिवारलाई दिनुपर्छ ।’
सहिद कसलाई भन्ने ?
सरकारले भएको कानुन कार्यान्वयन गर्न नसक्दा सहिदको सम्मान हुन नसकेजस्तो लाग्छ, उनलाई । लोकतन्त्र आएपछि गाडीले हानेर मारेको, अस्पतालमा डाक्टरको लापरबाहीले मरेको वा चोरेर भाग्दै गर्दा प्रहरीको गोलीले मरेकालाई पनि सहिद घोषणाका लागि दबाब दिने गरेका छन्, केही संस्था(संगठनले ।
सरकार कमजोर हुनुको फाइदा यस्ता संगठनले उठाएको धारणा पंगेनीको धारणा छ । भन्छन्, ‘सहिदबारे स्पष्ट ऐन बनाउनुपर्छ । अनि मात्रै वास्तविक सहिदको पहिचान र सम्मान हुन्छ ।’
सहिद परिवारको बिजोग
दोस्रो जनआन्दोलन सफल भएपछि आमजनतामा एक खालको उत्साह छाएको थियो । सशस्त्र विद्रोह गर्दै आएको माओवादी शान्ति प्रक्रियामा आएको थियो भने सात राजनीतिक दल प्रतिस्पर्धात्मक राजनीतिमा अघि बढ्न प्रतिबद्ध थिए ।
गायक पंगेनी भन्छन्, ‘बाह्रबुँदे सहमति वास्तवमै ऐतिहासिक थियो । त्यसपछि दोस्रो जनआन्दोलन भयो । जुन आन्दोलनमा नागरिकले लोकतन्त्रका लागि आहुति दिए । तर, हाम्रा नेताले अझै तिनको मूल्य बुझेनन् ।’
पछिल्लो समय सहिद परिवारको स्थिति नाजुक भएझैँ लागेको छ, उनलाई । भन्छन्, ‘हाम्रा नेताले लासमाथि फूल राखेकै भरमा सहिदको सम्मान भएको ठानेका छन् । यत्तिकै भरमा सहिदको सम्मान हुँदैन ।’
No comments:
Post a Comment