राजविराज, १० माघ । अत्यधिक चिसोका बावजुद पनि सप्तरीको कोशी व्यारेजलगायतका जलासयहरुमा नुहाएर आइतवार पुसी पुर्णिमा भव्यताका साथ मनाईएको छ ।भारदह गाविस वडा नम्वर–१ स्थित कोशी ब्यारेजमा बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो लागेको थियो । व्यारेजमा सप्तरी, सिरहा, सुनसरी, भारतको पुर्णिया, लौकही, मधुवनीलगायतका जिल्लाहरुबाट कोशी स्नान गर्न आएका थिए । निरन्तरको बन्द हड्तालका कारण यातायातका साधनहरु नचलेका कारण बिहानैदेखि बैलगाडा, मोटरसाइकल, रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरुको दिनभरी घुइँचो लागेको थियो ।कृषि मेलाको रुपमा समेत चिनिने यो मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरुको खरिद बिक्रीका लागि महत्वपूर्ण मानिन्छ । सप्तरीको हनुमाननगर, ईटहरी विष्णुपुर, मेगदीन चौरीया, पथरी, झण्कट्टा, मलकोर लगायतका स्थानहरुमा समेत भव्य मेला लागेको थियो ।पुस महिनाको शुक्ल पुर्णिमाका दिन कोशी स्नान गरेपछि पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह हुने जनविश्वास रहेको छ । यस दिन बिहानै कोशी लगायतका जलाशायहरुमा नुहाएर मिठोचाखो खाने चलन रही आएको छ । पुसी पूर्णिमाका दिन जलाशायहरुमा नुहाए पापबाट मुक्ति पाउने र गंगास्नान गरे सरह हुने जनविश्वास रहँदै आएको छ । भुजा, च्यूरा, पुरी, तरकारी, जेरी सहितका मिठाईहरु यस दिन मुख्य रुपमा खाइन्छ ।कोशी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलन अनुसार यस दिन कोशीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने धार्मिक विश्वास पनि रहँदैआएको छ । स्रोतः न्युजटुडे
No comments:
Post a Comment