एमाओवादीले तोक्यो ७ प्रदेशको इन्चार्ज , २ नम्बरमा विश्वनाथ साह
काठमाडौं ८ पुस, । संविधान अनुसारका प्रादेशिक संरचनाको आधारमा पार्टीको संगठनात्मक प्रणाली अवलम्वन गरेको एकीकृत नेकपा माओवादीले ७ प्रदेशको इन्चार्ज चयन गारेको छ ।
प्रदेश नम्बर एकको इन्चार्ज राम कार्कीलाई बनाइएको छ । एक नम्बर प्रदेशमा गोपाल किराँतीको दाबी रहँदै आएको थियो । २ नम्बर प्रदेशको इन्चार्जमा विश्वनाथ साह र ३ नम्बर प्रदेशको इन्चार्जमा कृष्णबहादुर महरालाई तोकिएको छ । एमाओवादी सचिव वर्षमान पुन ‘अनन्त’लाई पछि इन्चार्ज बनाउने गरी तत्काललाई महरालाई सो प्रदेशको जिम्मा दिइएको हो । पुन जन्डिसको समस्याका कारण थाइल्याण्डमा उपचाररत छन् ।
यसैगरी ४ नम्बर प्रदेशको जिम्मा डिलाराम आचार्यले पाएका छन् । ५ नम्बर प्रदेशको इन्चार्ज चक्रपाणी खनाल ‘बलदेव’ तोकिएका छन् । बलदेव तत्कालीन जनमुक्ति सेना नेपालको डेपुटी कमाण्डर हुन् । सेना समायोजनपछि उनले कुनै पनि लाभको पद पाएका छैनन् । यसैगरी प्रदेश नम्बर ६ मा जनार्दन शर्मा ‘प्रभाकर’ र प्रदेश नम्बर ७ को जिम्मेवारी लेखराज भट्टलाई दिइएको छ । विगतमा एमाओवादीले आफ्नै संरचनाअनुसार १३ वटा राज्य समिति बनाएको थियो । विगतको संरचनालाई परिवर्तन गरेर संवैधानिक प्रावधानअनुसारको संरचना बनाइएको हो । अध्यक्ष प्रचण्डको सो प्रस्ताव मंगलबारको बैठकबाट पारित भएपछि एमाओवादीले अब पार्टीको विधानसमेत संशोधन गर्नुपर्ने भएको छ । पार्टी विधान संशोधन गर्न केन्द्रीय समितिको विस्तार बैठक बोलाउने तयारी एमाओवादीले गरेको छ ।
नयाँ शक्तिमा लागेका नेताहरुलाई निस्कासित गरीएको छ । एमाआवादीले नयाँ शक्ति अभियानमा लागेका २२ नेताहरुलाई साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरेको छ । स्थायी समिति सदस्य देवेन्द्र पौडेल, हिसिला यमी, नेताहरु रामचन्द्र झा, गंगानारायण श्रेष्ठ, नवराज सुवेदी, बलावती शर्मा, रामकुमार शर्मा, खिमलाल देवकोटा लगायत २२ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।यस्तै, संविधानमा समेत हस्ताक्षर नगरेका र पार्टीको बैठकमा समेत भाग लिन आनाकानी गर्दै आएका पोलिटब्यूरो सदस्य प्रभु साहलाई भने अन्तिमपटक स्पष्टीकरण सोध्ने निर्णय एमाओवादीले गरेको छ ।
No comments:
Post a Comment