रामभरोसी यादव, सिरहा, १५ पौष । संघीयता र संविधानको विरोध गर्दै मधेशी मोर्चाद्वारा गरिएको आन्दोलनमा तोडफोड र आगजनी हुन थालेपछि स्थानीय प्रशासनले सिरहाको पूर्व पश्चिम सडकको पाँच सय मिटर दायाँ वायँ क्षेत्रमा लगाएको निषेधाज्ञा यथाबत नै रहेको छ । सिरहाको बजारहरुमा मानिसहरुको चहलपहल बढेको र मोर्चाको आन्दोलन समेत केहि शान्त देखिए पनि स्थानीय प्रशासनले निषेधाज्ञा फिर्ता नलिंदा सर्वसाधारणले अप्ठ्यारो महसूस गरिरहेका छन् । आन्दोलनरत मधेशी मोर्चाले बजार केही खुकुलो बनाएपनि स्थानीय प्रशासनले राती ९ बजेदेखि बिहान ५ बजेसम्म पूर्व पश्चिम सडकको दायाँ वायाँ पाँच सय मिटर क्षेत्रमा निषेधाज्ञा कायमै राखेका छन् । मोर्चाका कार्यकर्ताहरुले भदौ २३ गते दिउँसो लहानस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि रहेको रुख काटेर सडकमा तेस्र्याउन खोज्दा प्रहरीले रोकेपछि दोहोरो झडप भएको थियो । त्यसको भोलिपल्ट आन्दोलनकारीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका कागजात, कम्प्यूटर, कार्यालय परिसरमा राखिएका मोटरसाइकल जलाएपछि स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि पूर्व पश्चिम सडकको दायाँ वायाँ निषेधित क्षेत्र घोषणा गरेका छन् ।
No comments:
Post a Comment