बुधबार , १३ जेठ , सुनसरीमा पक्राउ परेका सीके राउतलाई कार्बाही गर्न कुनै प्रमाण नभेटिएको भन्दै सप्तरी प्रहरीलाई बुझाइएको छ ।इलाका प्रहरी कार्यालय इटहरीले १२ जेठ अपराह्न ४ बजेतिर स्थानीय एरिना टेलिभिजनको ‘एरिना टक शो’ कार्यक्रममा अन्तर्वार्ता दिन जादै गर्दा राउतलाई पक्राउ गरेको थियो ।
सुनसरी जिल्लाका प्रहरी उपरीक्षक सञ्जयराज शर्माका अनुसार सुनसरी जिल्लामा सीके राउतविरुद्ध राज्यबिप्लव गरेको भन्ने कुनै लिखित दस्तावेज वा अरु विश्वसनीय प्रमाण नभएकाले सप्तरी जिल्लामा उनीविरुद्धको कुनै प्रमाण हुनसक्ने अनुमान गरेर सप्तरी जिल्ला प्रहरीसँग समन्वय गरेर हस्तान्तरण भएको बताए । एरिना टेलिभिजनमा आएको अवस्थामा प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काको नेतृत्वमा गएको प्रहरीको टोलीले राउतलाई पक्राउ गरेर हिरासतमा लिएपछि इटहरीमा सक्रिय मानवाधिकारवादी महिला लक्ष्मी गौतम, विमला ढकाललगायतको महिला टोलीले नेपाली चेलीविरुद्ध अपशब्द प्रयोग गरेको र राज्य विरुद्धको बिप्लव गरेको भन्दै कारबाहीको माग दाबी गरेर इलाका प्रहरी कार्यालय इटहरीमा लिखित जाहेरी दिएका थिए ।
युवाको समूहले पनि उनीविरुद्ध देश विभाजन गर्ने कार्यमा सक्रिय रहेको तथा नेपाली चेलिबेटीलाई अनेकथरी लाञ्छना लाग्नेगरी अभिव्यक्ति दिएको विरोधमा उनी कारबाहीको भागिदार हुनसक्ने दाबीसहित उनीविरुद्ध लिखित जाहेरी दिएका थिए । त्यसैगरी हिजो साँझ सीके राउतविरुद्ध नाराबाजी पनि भएको थियो ।
उनीविरुद्ध इटहरीमा चर्को नाराबाजी भएको विषयतर्फ मध्यनजर गर्दै प्रहरीले पक्राउ परेका राउतलाई आज बिहानै ४ बजेतिर सप्तरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको बताइएको छ ।आक्रोशित युवा तथा महिला अधिकारकर्मीको समूहबाट उनीविरुद्ध आक्रमणसमेत हुनसक्ने सम्भावनाले बिहानै उनलाई सप्तरी पठाइएको बताइएको छ ।
No comments:
Post a Comment