सिरहा, ५ जेष्ठ । बजारमा पाइने फर्सी अधिकतम चार केजीसम्म देखिनु साधारण मानिन्छ तर लहान नगरपालिका–१५ स्थित ढोढनामा आयोजना भएको कृषि मेलामा २० केजीको एउटै फर्सी प्रदर्शनीमा राखिएको छ ।
ढोढनाका कृषक जिबछ महतोले आफ्नो बारीमा उत्पादन गरेको उक्त फर्सी कृषि मेलामा प्रदर्शन गरेको थियो । उनले अर्को पनि १६ केजीको फर्सी सोही मेलामा प्रदर्शनीमा राखेको थियो । गाउँमा कृषि मेला आयोजना हुँदैछ भन्ने थाहा पाएपछि आफ्नो बारीमा उत्पादित ती फर्सी प्रदर्शनीका लागि ल्याएको महतोले जानकारी दिए ।
उनको फर्सी देखेर मेलाको उद्घाटन समारोहमा आएका प्रदेश नं. २ का प्रदेशसभा सदस्य लगनलाल चौधरी तथा लहान नगरपालिकाकी उपप्रमुख सरियार कुमारी चौधरीले महतोको प्रशंसा गरेको थियो ।
ग्रामीण क्षेत्रमा कृषि उत्पादन अभिवृद्धि गर्न तथा दिगो खेती प्रवद्र्धन गर्ने उद्धेश्यले सिरहाको ढोढनास्थित महादेव चोकमा दलित जनकल्याण युवा क्लवले कृषि मेलाको आयोजना गरेको थियो । मेलामा स्थानीय कृषकद्वारा प्रागारिक मलको प्रयोग गरी उत्पादन गरिएको विषादीरहित फर्सी, लौका, काक्रा, साग लगायत तरकारीका ५० भन्दा बढी स्टल प्रदर्शनीमा राखिएको थियो ।
कृषि मेलामा कृषक रुकमैना चौधरी, आनन्दी चौधरी र जिवछ महतोलाई प्रथम, द्वितीय र तृतिय पुरस्कार प्रदान गरिएको थियो । प्रदेश सभासद लगनलाल चौधरी तथा लहान नगरपालिकाका उपप्रमुख सरियार कुमारी चौधरीले उनहरुलाई क्रमश पाँच हजार ५१ रुपियाँ, तीन हजार ५१ रुपियाँ र दुई हजार ५१ रुपियाँ नगद वितरण गरे ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 5/21/2018 08:23:00 PM
No comments:
Post a Comment