कमलेश यादब
सिरहा, १४ वैशाख । प्रत्येक वर्षको वैशाख पूर्णिमाको दिनमा वलि चढाइने सिरहाको ढोढनास्थित राजदेवी मन्दिर नेपालको मध्यपुर्वको आस्थाको धरोहर बन्दै गइरहेको छ ।
करीब डेढ दशकदेखि चण्डी पूर्णिमाको रुपमा मनाइने वैशाख पूर्णिमाका दिन वलि चढ्ने उक्त मन्दिरमा वलि चढाउछु भन्दै गरिएको भाकल पुरा हुने भएकोले केही वर्षदेखि त्यहाँ वलि चढाउन आउने भक्तालुहरुको सूख्या बढ्दै गएको छ । मागेको भाकल पुरा हुने भएकोले गत वर्ष उक्त मन्दिरमा वैशाख पूर्णिमाको दिनमा मात्रै ४० हजारभन्दा बढी बोकाको वलि चढ्ने गरेको स्थानीय समाजसेवी विरेन्द्र चौधरीले जानकारी दिए ।
वैशाख पूर्णिमाबाहेकका दिनमा भने उक्त मन्दिरमा वलि चढ्दैन । अन्य दिनमा श्रद्धालु भक्तजनले मन्दिरकी मूल देवी राजदेवी माताको निराकार आश्रयस्थलमा गई आफूलाई चाहेको भाकल माग्ने गर्दछन् तर उक्त मन्दिरमा एक व्यक्तिले एक पटक मात्र मागेको भाकल पुरा हुने स्थानीयबासीको कथन छ ।
सो मन्दिरको वलिप्रथाको परम्परा करीब १२५ वर्षदेखि चल्दै आएको बताइएको छ । मन्दिरका पाूचौ पुस्ताका पुजारीसमेत रहेका अहिलेका मूल पुजारी डम्बर बहादुर भट्टका अनुसार राजदेवी माताले वैशाख पूर्णिमाका दिन आफ्नो मन्दिरमा वलि चढाएमा सबैको फलिफाप हुने भनी सपनामा बताएपछि त्यहाँ वलिप्रथा शुरु भएको थियो । मूल पुजारी भट्टका अनुसार १२५ वर्षअगाडी अहिले मन्दिर रहेको स्थानमा ठूलो ज·ल र चरण क्षेत्र रहेको थियो । नजीकैको थारु र भट्टहरुको परिवार रहेको गाउँबाट त्यस क्षेत्रमा सयभन्दा बढी गाईवस्तुहरु चराउन लगिन्थ्यो तर प्रत्येक दिन एउटा गाईवस्तु हराउन थालेपछि त्यतिखेर गाउँका ठूला धामीको रुपमा रहेका दिलाराम भट्टले त्यस स्थानमा गई तन्त्रसाधना गरेपछि राति सपनामा देवीले दर्शन दिई वैशाख पूर्णिमाकै दिनमा वलि चढाएर भाकल गरी पुजा गर्ने हो भने सबै समस्या टर्ने बताए ।
देवीले सपनामा दिएको दर्शन र उनको भनाई मुताबिक स्थानीयबासिन्दाले उनै दिलाराम भट्ट र उहाँको जेठो सन्ततिलाई मुल पुजारी बनाउने निर्णय गरी देवीस्थान बनाई बलिप्रथा गर्दै आएका छन् । पहिले चर्चा नपाएको उक्त मन्दिरमा वरपरका गाउँका स्थानीयबासिन्दाले मात्र वलि र पुजा गरे पनि पछिल्ला केही वर्षदेखि भारतको विहार र विभिन्न स्थानबाट हजारौ हुँदै अहिले लाखौं भक्तजनहरुको घुईंचो लाग्ने गरेको छ ।
मन्दिरका मुल पुजारी भट्टले मन्दिरको आस्था र भक्तिमाथि सबैलाई अगाध विश्वास रहेको उल्लेख गर्दै भने–"मुम्बईका डाक्टरले बचाउन नसक्ने बताएपछि विहार अन्हारवनका एक परिवारले आठ वर्ष अघि ल्याएको १४ दिनको अचेत बच्चालाई मन्दिरको देवीको निराकार प्रतिमामुनि राख्दा उसले सास फेर्दै रुने कराउने गरेको उदाहरण सबै गाउँलेले प्रत्यक्ष देखेका छन् ।" बच्चालाई देवीको निराकार प्रतिमामुनि राख्ने बित्तिकै बच्चाको आमालाई कम्पन भएको र त्यत्तिकै बेला आमाले खुवाएको दुधले बच्चा निको भएको पुजारी भट्टको कथन छ ।
यसबाहेक राजदेवी मातालाई भाकल गरे भाकलअनुसार सन्तानप्राप्ति, रोगव्यथा निको हुने, मुद्दामामिला सप्रिने, चिताएको इच्छा पुरा हुने लहान नगरपालिका–१५ स्थित ढोढना बानोका इश्वरलाल चौधरीले बताए । उनले आफूलाई पनि अनुहारमा पक्षाघात भएपछि राजदेवी माताको मन्दिरमा वैशाख पूर्णिमाको दिनमा पक्षाघात ठीक भए वलि चढाउने भाकल गरेपछि पक्षाघात ठीक भएको जानकारी दिए ।
भगवती दुर्गाको चण्डी स्वरुपमध्ये एक रहेको मानिने राजदेवी माताकहाँ पहिले भाकल गर्नेहरुले वलि मात्र चढाउथे भने अहिले कोही कोहीले बहुमुल्य धातु पनि चढाउने गर्दछन् । मन्दिरमा चढ्ने नगद र धातु मन्दिरको विकासमा लगाउने योजना रहेको लहान नगरपालिका–१५ का वडा अध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 4/27/2018 09:10:00 PM
No comments:
Post a Comment