धनुषा, ११ वैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले छोरीहरुको शिक्षाका लागि ल्याएको वशेष योजना 'बेटी पढाउ, बेटी बचाउ अभियानलाई सफल बनाउन अपील गरेका छन् ।
'छोरालाई शिक्षित बनाइए एकजना मात्र शिक्षित हुन्छ, तर छोरीलाई शिक्षित बनाइए सिंगो परिवार शिक्षित हुने भएकाले छोरीको शिक्षालाई विशेष प्राथमिकतामा प्रदेश सरकारले राखेको बताए । 'अशिक्षाकै कारण समाजमा हिंसा लगायतका कुरितिहरु व्याप्त भएको छ, मुख्यमन्त्री राउतले भने, 'दलित बालिकाहरुको लागि सरकारले शिक्षा बिमा योजना, दिवा खाजा योजना ल्याउने तयारी भइरहेको छ ।
धनुषाको मिथिला आधारभूत विद्यालय कचुरीले आयोजना गरेको 'बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा मुख्यमन्त्री राउतले मिथिला बिहारी नगरपालिका–८ की लक्ष्मीनियाा कुमारी दासको अभिभावक समेत बनेका छन् ।
कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले शिक्षा नै विकासको मुख्य आधार रहेकाले त्यसका लागि प्रदेश सरकार विशेष पहल गरि रहेको बताए । बालाबालिकालाई शिक्षित बनाउने काममा अभिभावक, विद्यालय र समाज समेत जिम्मेवार बन्नुपर्ने यादवले बताए ।
कार्यक्रममा मिथिला बिहारी नगरपालिकाको मेयर अनिलकुमार यादवले बालिकाहरुको लागि नगरपालिकाले समेत विशेष प्याकेज ल्याएको बताए । छोरी जन्मेको ३५ दिन भित्र जन्मदर्ता गराउन अभिभावकलाई प्रोत्साहन स्वरुप तीन हजार रुपैयाँ प्रदान गरिनुका साथै विद्यालय जाने प्रत्येक बालिकालाई साइकल उपलब्ध गराउने मेयर यादवले घोषणा गरे ।
प्रदेश सरकारले घोषणा गरेको 'बेटी पढाउ, बेटी बचाउ अभियानलाई सफल बनाउन उनले प्रतिबद्धता जनाए ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 4/25/2018 04:16:00 AM
No comments:
Post a Comment