'
जनकपुरधाम, चैत ९ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा स्वच्छताको स्तरलाई उच्च बनाउन प्रदेश सरकारले 'मुख्यमन्त्री स्वच्छता अभियान' संचालन गर्ने घोषणा गर्नु भएको छ ।
सिरहा जिल्लालाई प्रदेश नं. २को पहिलो खुल्ला दिशामुक्त जिल्ला घोषणा समारोहमा मुख्यमन्त्री राउतले स्वच्छता मानव विकासको पहिलो खुटकिलो रहेको उल्लेख गर्दै त्यसका लागी सरकारले स्वच्छता अभियानलाई नीति तथा कार्यक्रममा समेटदै अगामी बजेटमा विशेष व्यवस्था गर्न लागेको बताउनु भएको छ।
उहाँले प्रदेशलाई सफा बनाउन आफै आठै जिल्लाको सडकमा झाडू लिएर उत्रिने उद्घोष समेत गर्नु भएको छ ।
मुख्यमन्त्री राउतले मानव सुचांकमा धेरै पछाडी रहेको प्रदेश नम्बर दुईलाई स्वास्थ्य, शिक्षा, र रोजगारमा ठुलै फडको मार्नु पर्ने आवश्यकता रहेको औल्याउदै त्यसकालागी सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।
'अहिले सम्म हाम्रो विकास भएन भन्ने हामी भन्दै थियौ तर अब जिम्मेवारी हाम्रै काँधमा आएको छ । सबैलाई मिलेर यो जिम्मेवारीलाई पुरा गर्नु पर्दछ । ' उहाँको भन्नु भयो ' जनप्रतिनिधिहरुलाई सबै भन्दा बढी इमान्दार भएर अगाडी बढनु पर्दछ । अनि मात्र हामी देशकै नमूना प्रदेश बनाउन सक्छौ ।
भ्रष्टाचार यस प्रदेशको सबै भन्दा ठूलो समस्या रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले सरकार शुन्यसहनशिलताको नीति अवलम्बन गरेकाले भ्रष्टाचार गर्ने जो कोहीलाई पनि छुट निदिइने चेतावनी समेत दिनु भयो ।
उहाँले सर्वसाधारणलाई आग्रह गर्दै भन्नु भयो ,' कर्मचारी वा जनप्रतिनिधीले कुनै पनि काममा अनियमितता वा ढिलासुस्ती गर्छन भन्ने हामी कहाँ उजुरी गर्नुस, हामीले पनि अटेरी गरे सडकमा आउने छुट तपाईलाई छदैछ । '
मुलुकको ४८ औ खुल्ला दिशामुक्त जिल्ला बनेको सिरहाका स्थानीय तथा अभियानीहरुलाई बधाई दिदै मुख्यमन्त्री राउतले प्रदेशको बाँकी जिल्लाको लागि सिरहा मार्ग दर्शक बन्ने विश्वास व्यक्त गर्नु भयो ।
जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरको अध्यक्षतामा भएको खुल्ला दिशामुक्त जिल्ला घोषणा सभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, प्रतिनिधी सभा सदस्य बोधमाया यादव, लिलानाथ श्रेष्ठ, प्रदेश सभा सदस्य सुनिता राम, राम नरेश यादव लगायत जिल्ला स्थित विभिन्न कार्यालयका प्रतिनिधि, गैर सरकारी संस्थाका प्रतिनिधिहरु, स्थानीय तहका प्रतिनिधिहरुको व्यापक उपस्थिति रहेको थियो ।
--
Posted By Naresh-Onlinesiraha to Onlinesiraha.com at 3/23/2018 09:14:00 AM
No comments:
Post a Comment